
पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४ छहरामा वृहत ‘साहित्य संगम’ कार्यक्रम भएको छ । भैरब नवदीय उच्च माविका पूर्व विद्यार्थी संस्थाको आयोजनामा ‘साहित्य संगम’ कार्यक्रम भएको हो ।
भैरब नवदीप मावि छरामा भएको कार्यक्रममा जिल्लाभरका माविमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुलाई साहित्यप्रति रुची जगाउन, साहित्यको संरक्षण, संवद्र्धन र विस्तार गर्न जिल्लामै पहिलो पटक वृहत रुपमा साहित्य संगम आयोजना गरिएको संस्थाका अध्यक्ष एवं पूर्व डिआईजी रामबहादुर कार्की बताए । उनका अनुसार कार्यक्रममा विद्यार्थीहरुबिच कविता प्रतियोगिता भएको थियो । जसमा प्रतिस्पर्धाबाट कालिका माविकी विद्यार्थी सेलिना रायमाझी प्रथम, गुहारणना मावि जुुठापौवाकी सुशिला सारु द्धितिय, गंगा मावि ताङसिंगल सोमादीकी आकृति भण्डारी तेस्रो भएका छन् । प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, ८ हजार र ६ हजार नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको निर्णायक मण्डलका रुपमा साहित्यकार तथा त्रिभुवन बहुमुखी क्याम्पसका प्राध्यापक शंकर गैरे, भैरब नवदीप माविका प्र.अ.रामबहादुर वि.क रहेका थिए । विजेता प्रतियोगीहरुलाई विभिन्न व्यक्तिहरुबाट प्राप्त सहयोगबाट पुुरस्कार प्रदान गरिएको थियो । जहाँ प्रथम हुने विद्यार्थीलाई रैनादेवी छहरा –४ दागिल निवासी समाजसेवी, शिक्षाप्रेमी स्व. कर्णबहादुर केसीको स्मृतिमा उनको परिवार, दोस्रो हुने विद्यार्थीलाई ग्वलोबल आइएमी बैंक छहरा शाखा र तेस्रो पुुरस्कार चितवन भरतपुरका पूर्व विद्यार्थी विष्णु कुमारी रायमाझीले सौजन्य गरेको संस्थाका अध्यक्ष कार्कीले बताए । कार्यक्रममा साहित्यकारहरु शंकर गैरे, रामबहादुर वि.क., भावना खनाल, शिक्षिका विन्दु न्यौपानेले कविता वाचन गरेका थिए भने पछिल्लो समय धाराप्रवाह रुपमा आफ्ना धारणा राख्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय रुपमा परिचित हुन सफल बालप्रतिभा दमकडा माविकी विद्यार्थी ओजस्वी आचार्यले आफ्ना प्रेरणादायी भनाईहरु राखेका थिइन् । यस्तै सोही अवसरमा शैक्षिक परामर्श समेत प्रदान गरिएको थियो । पूर्व वन निर्देशक इन्द्र पछाई, लुम्बिनी प्रदेश प्रमुख कार्यालयका शाखा अधिकृत पुनम जिसी कार्की, रैनादेवी छहरा गाउँपालिकाका सूचना अधिकृत नारायण मल्ल लगायतले शैक्षिक परामर्श दिएका थिए । कार्यक्रममा साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका गाउँपालिका भित्रका साहित्यकारहरुलाई सम्मान समेत गरिएको थियो । सोही अवसरमा कानुन, व्यवस्थापन, विज्ञान, आइटी र वन विद्यामा करियर काउन्सिलिङ, पुस्तक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम समेत भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पूर्व सांसद यादवबहादुर रायमाझीले जिल्लामै वृहत साहित्य संगम कार्यक्रम आयोजना गरेर भैरब नवदीय उच्च माविका पूर्व विद्यार्थी संस्थाले प्रशंसनिय कार्य गरेको बताए । उनले विद्यार्थीहरुलाई कितावी ज्ञानमा मात्र सिमित नगराई अतिरिक्त क्रियाकलापमा समेत लाग्नुपर्छ भन्ने सन्देश दिन पनि कार्यक्रम सफल भएको बताए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद ज्ञवाली, वडा नं. ४ का वडा अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द्र रायमाझी, संस्थाका सल्लाहकारहरु तथा रैनादेवी छहरा गाउँपालिकाका निवर्तमान प्रवक्ता विष्णु प्रसाद पोखरेल, समाजसेवी देवीप्रसाद पौडेल, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय उपाध्यक्ष नलबहादुर राना, संस्थाका उपाध्यक्षहरु नित्यानन्द पोखरेल, महेश बराल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
सोही अवसरमा रुपन्देही निवासी सीता पाण्डे, विष्णु पाण्डे दम्पतीले विद्यालयमा अक्षयकोष स्थापनाका लागि ५५ हजार, रैनादेवी छहरा निवासी प्रकाश पोखरेल, संगीता पाखरेल दम्पतीले ५१ हजार अक्षकोषका लागि विद्यालयका प्र.अ.झलकबहादुर रायमाझीलाई हस्तान्तरण गरेका थिए । संस्थाका अध्यक्ष राम बहादुर कार्कीको अध्यक्षता,उपाध्यक्ष नित्यानन्द पोखरेको स्वागत, महासचिव टिकाराम पोखरेलको सञ्चालनमा कार्यक्रम भएको थियो ।