
पाल्पा, आज नेपालमा पनि विश्व वातावरण दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको आवानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ । सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।
दिवसका अवसरमा वातारणको संरक्षण र सम्बद्र्धन सम्बन्धी विभिन्न चेतनामुलक कार्यक्रम गरिदैछ । बढ्दो वन विनासले निम्त्याएको वातावरणीय समस्या समाधान तथा पृथ्वीको तापमान वृद्धिलाई ध्यानमा राख्दै वातावरण संरक्षणमा नै सिंगो मानव जातीको हित हुने कुरामा दिवसले जोड दिएको छ । दिवसका अवसरमा वायुमण्डललाई हानी पुयाउने कार्बन ग्यासको बढ्दो उत्पादन घटाउने, वृक्षारोपण गर्ने, हरितगृह प्रभाव कम गर्ने, वैकल्पिक ऊर्जाका लागि सौर्य उर्जाको प्रयोग बढाउने लगायतका काममा सबैलाई जुट्न विज्ञहरुले आग्रह गरेका छन् । नेपालमा जल, वायु, भूमि प्रदूषणको साथै दृश्य प्रदुषण पनि बढेको छ । मानवीय क्रियाकलापबाट सिर्जित बढ्दो सहरीकरण, फोहोरमैला, आणविक भट्टीबाट निस्कने विषालु ग्याँस, जनसंख्याको तीव्र वृद्धि, प्राकृतिक सम्पदाको तीव्र दोहन आदि नै वातावरणीय विनाशका प्रमुख कारणहरू हुुन् । वास्तवमा वातावरणीय विनाशको कारणले मरुभूमीकरण वर्षा, ओजोन तह नष्ट, बाढी पहिरो र हरित गृह प्रभाव बढ्ने क्रममा छ । वातावरण विनासले जलवायु परिवर्तनको असर समेत देखापरेको अवस्था छ । जलवायु परिवर्तनका कारण आम मानिसको जीवनमा समेत असर पुर्याउन थालिकेको छ । वातावरणलाई स्वच्छ र सफा बनाउने दिशामा समयमै सोचिएन भने यसले विकराल रुप लिन सक्ने देखिन्छ । वातावरणको सिर्जना पृथ्वीमा रहेका जीवजगत र प्राकृतिक सम्पदाहरूको संयोगबाट हुने भएपनि यसको संरक्षणमा मानव जातिको महत्वपूर्ण भूमिका हुन्छ । संयुक्त राष्ट्रसंघले सन् २०२१ देखि २०३० सम्मको दशकलाई परिस्थितिकीय प्रणालीको पुनःस्थापनाको दशकको रुपमा मनाउने आÞवान गरेको छ । सोही अनुरुप नै नेपालमा पनि यो दिवस मनाइँदै आएको छ ।