
पाल्पा, पाल्पा अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष अजयमान कर्माचार्यले अस्पतालको विकासका लागि सबैसँग सहकार्य गरेर अगाडि बढने बताएका छन् । मंगलबार पदभार ग्रहण गर्दै कर्माचार्यले अस्पतालको विकासका लागि सबैसँग हातेमालो गर्दैै आवश्यक सल्लाह लिएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उनले समितिको एक्लो प्रयासले मात्रै अस्पतालको विकास नहुने भएकोले सल्लाह–सुझाव, सहकार्य र सहभागितामा नै आफू अगाडि बढ्ने बताए । अध्यक्ष कर्माचार्यले आफ्नो एउटा मात्रै दृष्टिकोण अस्पतालको भवन निर्माण गर्ने रहेको उल्लेख गरे । उनले भने “अस्पतालको भवन अहिलेको मुख्य आवश्कता हो, त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने छु । यस अघिको टिमले भवन निर्माणको प्रयास गरे पनि जग्गा प्राप्तिमा केही कानुनी अड्चनका कारण अगाडि बढ्न सकेन, यो जनताको अस्पताल भएकाले जसरी भए पनि जग्गाको व्यवस्था गरी भवन निर्माण गरेरै छाड्ने छु ।” अघिल्लो नेतृत्वले गर्न बाँकी रहेका कामहरुलाई स्टिकली गर्ने समेत उनले प्रतिवद्धता जनाए । अध्यक्ष कर्माचार्यले इमान्दारिताका साथ काम गर्ने कर्मचारीलाई कुनै समस्या नहुने बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले दलीय व्यवस्थामा संघ संस्थामा नेतृत्व परिवर्तन हुनु कुनै नौलो काम नभए पनि नेतृत्व चिरस्थायी नहुँदा ठूलो समस्या भोग्नु दुखद् भएको बताए । उनले कोही जाने र आउने कुरा स्वाभाविक भएको भन्दै आउने हर्षित हुनुपर्ने र जाने दुखी हुन नपर्ने बताए । प्रमुख खनालले कामका आधारमा नेतृत्व स्थापित हुनुपर्नेमा जोड दिए । तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले छोटो समयमा अस्पतालको नेतृत्व फेरबदल गर्ने माथिबाट जुन प्रचलन छ त्यसले पाल्पामा मात्र नभई देशैभरका अस्पतालमा असर पुर्याएको बताइन् । उनले पाल्पा अस्पतालको विकासमा नगर सरकारले आवश्यक सहयोग गर्ने समेत प्रतिवद्धता व्यक्त गरिन् । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले अस्पतालमा थुप्रै समस्या भएकाले त्यसको समाधानका लागि अस्पताल विकास समितिलाई सबैको सहयोग जरुरी रहेको बताए । उनले कानुनी अड्चनका कारण जग्गा प्राप्तिमा समस्या भएकाले भवन निर्माणको कार्य अगाडि बढ्न नसकेको उल्लेख गरे ।
अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष गुराँस आत्रेयले आफुले जति समय जिम्मेवारी पाए त्यति समयसम्म अस्पतालको विकासमा सक्रिय भएर लागेको बताए । उनले आफुले अस्पतालको गुणस्तरियतामा धेरै सुधार गरेको उल्लेख गर्दै कार्यकाल नसकिदै जिम्मेवारीबाट बाहिरिनु परे पनि अस्पतालको विकासमा आफ्नो सहयोग सदैव रहने उल्लेख गरे । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. राजेन्द्र पौडेलले अप्रेसन थे्रटर अस्पतालका लागि आवश्यक रहेकाले नयाँ समितिले ध्यान दिनुपर्ने बताए । प्रदेश मन्त्रालयले विकास समितिको सदस्यमा शशी श्रेष्ठलाई मनोनीत गरेको छ । अध्यक्ष अजयमान कर्माचार्यको अध्यक्षता, नर्सिङ्ग अधिकृत लक्ष्मी जिसी कार्कीको सञ्चालनमा कार्यक्रम भएको थियो ।