
गुल्मी, जिल्लाको सदरमुुकाम तम्घासमा रहेको रेसङ्गा माध्यमिक विद्यालयलाई ‘आईएसओ’ सर्टिफिकेट (अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह) प्रधान गरिएको छ । उत्कृष्ट विद्यालयहरुलाई प्रदान गरिने आइएसओ प्रमाणपत्रको लोगो एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
यसक्षेत्रको अब्बल विद्यालयका रुपमा स्थापित यस विद्यालयलाई अधिकांश मापदण्ड पूरा गरेसगै लोगो हस्तान्तरण गरिएको छ । ग्लोबल क्वालिटी काउन्सिल नेपालका आइएसओ प्रतिनिधि सूर्य केसीले लोगो हस्तान्तरण गरेका हुन् । लोगो हस्तान्तरण गर्दै उनले गुणस्तरीय शिक्षा प्रदानमा गर्ने दिशामा सक्रिय भएर लाग्न विद्यालयलाई आग्रह गरे । केसीले आईएसओ सटिफाइट हुनका लागि अन्तर्राष्ट्रिय मापदण्डलाई पालना गर्नका लागि ५२ वटा सूचकहरू तयार गरिएको भन्दै ती सबै सूचकहरु पुरा भएपछि आईएसओ सर्टिफाइट विद्यालयका रुपमा घोषित हुने बताए ।
उनका अनुसार विद्यालयलाई ५० प्रतिशत सूचकहरु पुरा गरेको अवस्थामा अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्रदान गरिन्छ । सोही अनुसार रेसुङ्गा माध्यमिक विद्यालयलाई यो चिन्ह प्रदान गरिएको हो । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका नगरप्रमुख खिलध्वज पन्थीले नगरभित्रका विद्यालयहरु शैक्षिक गुणस्तरमा अब्बल बन्दै गइरहेको बताए । शैक्षिक गुणस्तरका हिसाबले अहिले अन्तर्राष्ट्रिय गुणस्तर चिन्ह प्राप्त गरेको भन्दै प्रमाणीकरणका लागि बाँकी रहेका सम्पूर्ण सूचकहरु पुरा गर्न सबै लाग्नुपर्नेमा उनले जोड दिए । अहिले सामुदायिक विद्यालयहरुले हासिल गरिरहेको शैक्षिक गुणस्तरको सफलताले अभिभावकहरुको पनि पहिलो रोजाइमा पर्ने गरेको यनको भनाई छ । रेसुङ्गा नगरपालिकाले समृद्धिको पहिलो आधारका रुपमा शिक्षालाई लिएर गुणात्मक रुपमा फड्को मार्ने गरी विद्यालय सुधार, दरबन्दी मिलान, विद्यालय समायोजन लगायतका थुप्रै कार्यहरु अगाडि बढाएको नगर प्रमुख पन्थीको भनाई छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेर बहादुर थापाले विद्यालयमा सबैको सहयोग भए मात्र थप परिस्कृत गर्दै लैजान सकिने बताए ।
विद्यालयका प्रधानाध्यापक भागीरथ भण्डारीले विद्यालयलाई अन्तर्राष्ट्रियस्तरको शैक्षिक संस्थाको रुपमा विकास गर्नका लागि ५२ वटा सूचकहरु तोकेकोमा २६ वटा सूचकहरु पुरा गरी आइएसओ लोगो प्राप्त गरेको बताए । ८० प्रतिशत सूचकहरु पुरा गरेको अवस्थामा आइएसओ सटिफिकेट प्राप्त गर्ने बताउँदै बाँकी सूचकहरु पुरा गर्नका लागि सबै पक्षको सहयोगको आवश्यकता रहने उनले उल्लेख गरे । उनका अनुसार त्यस मापदण्डअनुसार विद्यालयको प्रत्येक फ्लरमा प्राथमिक उपचार बक्स राख्नुपर्ने, आगो निभाउने यन्त्र राख्नुपर्ने, विद्यालयको सरसफाइदेखि भौतिक पक्ष उत्कृष्ट हुनुपर्ने, विद्यालयमा आउने जाने आगन्तुकहरुको अभिलेख राख्नुपर्नेलगायतका पहिलो चरणहरु कार्यहरु पुरा गरेपछि विद्यालयले लोगो प्राप्त गरेको हो ।