
बुटवल, बुटवलमा सञ्चालित डिजिटल पत्रकारिता तालिम शुक्रबार सकिएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशको आयोजना र प्रदेश सरकारको सहयोगमा सञ्चालित दुई दिने डिजिटल पत्रकारिता तालिम सकिएको हो ।
तालिमको एक औपचारिक कार्यक्रमकाबिच समापन गरिएको छ । समापन कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डेले डिजिटल पत्रकारिता तालिमले पत्रकारिता क्षेत्रमा महत्वपूर्ण टेवा पुग्ने बताए । उनले सूचना प्रविधिको सही उपयोग गरी सत्य तथ्य सूचना प्रवाह गर्न पत्रकारहरुलाई आग्रह गरे । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामराज पोखरेलले पत्रकारहरुले आफूलाई समयअनुसार ज्ञान, सिपको विकास गर्नुपर्ने बताए । उनले पछिल्लो समय डिजिटल प्रविधिमा आधारित पत्रकारिताको विकास भइरहेकाले यसलाई आत्मासाथ गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले प्रविधिको सदुपयोग गर्दै पत्रकारिता गर्नुपर्ने बताए । पोखरेलले प्रविधिको विकाससँगै पत्रकारले आफुलाई सामयिक गर्नुपर्ने बताए । प्रविधिको ज्ञान सबैलाई आवश्यक रहेको उल्लेख गर्दै उनले पत्रकारिताको पुरानो पुस्ताले पनि समयसंगै आफुलाई परिस्कृत गर्नुपर्ने धारणा व्यक्त गरे । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौंलागाईले पत्रकारको क्षमता विकासका लागि महासंघले विभिन्न जिल्लामा तालिम र फेलोशिपका कार्यक्रम ल्याएको बताए । नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डेले प्रदेशले बुटवलमा आएर तालिम सञ्चालन गरेकोमा धन्यवाद दिए । कार्यक्रममा सहभागीहरु एलिना आचार्य, अनिल यादवले तालिममा आफुहरुका लागि उपयोगी भएको बताए । विहिबार भएको तालिमको उद्घाटन समारोहमा नेपाल पत्रकार महसंघका केन्द्रीय सदस्य रामराज पोखरेल, राष्ट्रिय समाचार समिति (रासस) का पूर्व कार्यकारी अध्यक्ष तथा वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष रामप्रसाद आचार्य, महासचिव पाण्डव शर्मा, सञ्चार परिषद् लुम्बिनी प्रदेशका अध्यक्ष मिलन गाहा, नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष दिनेश पाण्डे, नवलपरासी अध्यक्ष केशव पराजुली, सञ्चारिका समूह रुपन्देही अध्यक्ष तथा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष मिना भट्टराई ढकाल लगायतले आ–आफ्ना धारणा राखेका थिए । तालिममा सूचना प्रविधि विज्ञ उज्ज्वल आचार्य, सञ्चार प्रविधि प्रतिष्ठानका कार्यकारी निर्देशक अनुप बास्कोटाले पत्रकारितामा डिजिटल प्रविधिको प्रयोग, प्रबिधिको सहजता र प्रयोग एआईको चुनौती र समयसापेक्ष प्रबिधिमैत्री सञ्चारमाध्यमका बारेमा सहजीकरण गरेका थिए । तालिममा पाल्पा, रुपन्देही र नवलपरासीका ७० भन्दा बढी पत्रकारहरुको सहभागीता रहेको थियो । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईको अध्यक्षता, महासचिव पाण्डव शर्माको सञ्चालनमा कार्यक्रम भएको भएको थियो ।