Shittalpati
डेंगी संक्रमणको जोखिम बढ्ने खतरा

पाल्पा,अबको केही समय डेंगी संक्रमणको जोखिम बढ्ने खतरा रहेको बताइएको छ । यसपटक सरदरभन्दा बढी बर्खा हुने भएपछि डेंगी संक्रमण बढ्ने प्रक्षेपण गरिएको हो ।

जल तथा मौसम विज्ञान विभागले यसपटक मनसुनमा सरदरभन्दा बढी पानी पर्ने भनेपछि डेंगी संक्रमणको जोखिम बढ्ने खतरा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । पानी पर्न थालेकाले डेंगी संक्रमणको जोखिम बढ्ने सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ । महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले जम्मा भएको पानीले डेंगी संक्रमण बढाउने खतरा रहेकाले सतर्क रहन आग्रह गरेका छन् । “पानी जम्मा हुँदा त्यसमा डेंगी सार्ने लामखुट्टेको विकास हुने गर्छ । यसका लागि १५ देखि २० दिन लाग्छ । त्यसैले अबको केही दिनसम्म डेंगी संक्रमण हुने खतरा रहेको छ,” उनले भने । पानी जम्ने ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोकेर डेंगी रोग लाग्ने गर्छ । पुस १७ देखि हालसम्म ७१ जिल्लामा एक हजार ८१ जनामा सङ्क्रमण देखिएको छ । पाँच जनाभन्दा बढी सङ्क्रमण भएका ३० स्थानीय तहमा सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न महाशाखाले पत्राचार समेत गरेको जनाएको छ । सन् २०२४ मा डेंगी संक्रमण ७६ जिल्लामा फैलिएको थियो भने १५ जनाको मृत्यु र ४१ हजार ८६५ जना संक्रमित भएका थिए । डेंगीको संक्रमणबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने भन्दै सधैँ झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएका लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि सूचना जारी गरिसकेको छ । सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्न र घरवरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन नहुने विज्ञहरूले सुझाव दिँदै आएका छन् । डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको किटजन्य रोग हो । एक्कासी ज्वरो आउने, थकान महसुस हुने, टाउको, मांसपेसी तथा जोर्नी दुख्ने, वाकवाकी लाग्ने वा वान्ता हुने आदि यसका प्रमुख लक्षणहरु हुन् । यस्तै सामान्य प्रकारको डेंगीमा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिडौँलाको मासु दुख्ने जस्ता लक्षण देखा पर्छन् ।

लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने, सुत्ने बेलामा झुलको प्रयोग गर्नाले डेंगुबाट बच्न सकिने विशेषज्ञहरू बताउँछन् । डेंगी गराउने लामखुट्टेले घर र कार्यालय वरिपरि जमेर रहेको स्थिर संग्लो पानीमा अन्डा पारेर वृद्धि विकास गर्नुका साथै संक्रमित लामखुट्टेबाट जन्मने सबै लामखुट्टे संक्रमण गराउने हुने बताइन्छ । डेंगी संक्रमणको नियन्त्रण गर्न आफ्नो बासस्थान एवं कार्यस्थल वरिपरि लामखुट्टेको वृद्धि विकास हुन नदिन र लामखुट्टेको टोकाइबाट बच्ने उपायहरु गर्नुपर्ने विज्ञहरुको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, जेठ ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update