
पाल्पा, सेन माध्यमिक विद्यालय तानसेन पाल्पाले ५७ औ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह मनाएको छ । विद्यालयले आइतबार विभिन्न कार्यक्रमहरुको आयोजना गरी दिवस मनाएको हो ।
वार्षिक उत्सवको तानसेन नगरपालिका –६ का वडा अध्यक्ष सागरमान महर्जनले उद्घाटन गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष महर्जनले समग्र शिक्षा सुधारको लागि कानुन संशोधन गर्न जरुरी रहेको बताए । उनले देशमा गुणस्तरीय प्रविधियुक्त शिक्षा भए विकास निर्माणदेखी खोज अनुसन्धानका कामहरुमा प्रगती गर्न सकिने बताए । विगतमा भन्दा अहिले सेन माविको शिक्षाको गुणस्तरमा सुधार भएकोमा अध्यक्ष महर्जनले खुसी व्यक्त गरे । कार्यक्रममा विद्यालयका संस्थापक सदस्यहरु बुद्धि प्रसाद शर्मा,द्धारिक प्रसाद शर्माले सेन स्कूलको इतिहासका बारेमा जानकारी गराउँदै विद्यालयको इतिहास कायम राख्ने दिशामा ध्यान दिनुपर्ने बताए । कार्यक्रममा डिभिजन वन कार्यालयका प्रमुख नारायणदेव भट्टराई, लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक ३२५ नेपालको द्धित्तिय भाइस डिस्ट्रिक गर्भनर तथा विद्यालयका अक्षयकोषदाता मीना पन्थी, तानसेन नगरपालिकाका लेखा अधिकृत कौसलराज घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी, विद्यालयका पूर्व शिक्षक सुर्यबहादुर बोहोरा, शिक्षक अभिभावक संघका अध्यक्ष भरत खड्गी, अभिभावक पदम गुरुङ,विद्यार्थीहरु रोनिक मल्ल, लिसार थापा लगायतले विद्यालयको सफलताको शुभकामना व्यक्त गरे । उनीहरुले विद्यालय शिक्षालाई गुणस्तरीय बनाउन तीनै तहका सरकार, शिक्षक, अभिभावक र विद्यार्थीले ध्यान दिनुपर्नेमा जोड दिए । विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक भिमलाल बस्यालले १ करोड ७७ लाख ५९ हजार ४ सय ५६ बराबरको आय व्यव सार्वजनिक गरे ।
विद्यालयमा जेहेन्दार, गरिव, दलित, आदिवासी तथा जनजाती बालबालिकाहरुलाई छात्रबृत्ति प्रदान गर्दै आएको, विद्यालयले शैक्षिक गुणस्तरलाई ध्यान दिदै आएको, कक्षा १० सम्मका बालबालिकालाई नियमित कम्युटर तथा साइन्स प्रयोगशाला अभ्यास गराउदै आएको, शिक्षणमा प्रविधिको प्रयोग गर्दै आएको उनले बताए । प्रअ बस्यालले नर्सरीदेखी कक्षा १२ सम्म अंग्रेजी माध्यमबाट पठन –पाठन, जंग फुड निषेधित व्यहारमै कार्यान्वयन गरेको र विद्यालयको चमेनागृहमा समेत जंगफुडयुक्त सरसमान ल्याउन र पकाउन नपाउने, विद्यालयमै शिक्षकदेखी बालबालिकासम्मलाई सरसफाईमा विशेष ध्यान पुर्याएको, विगत ३ बर्षदेखी भर्ना दरमा वृद्धि हुँदै गएको समेत जानकारी दिए । उनले आगामी दिनमा बालमैत्री कक्षा कोठा निर्माणमा प्रथामिकता दिने, प्राविधिक शिक्षा सहितको आवासीय नमूना विद्यालय सञ्चालनका लागि पूर्वधार तयार गर्ने, गणित प्रयोगशालालाई थप व्यवस्थित गरिने, शिक्षणमा अंगे्रजी माध्यमको भाषालाई थप प्रभावकारी बनाइने उल्लेख गरे । कार्यक्रममा शिक्षक, विद्यार्थी, कर्मचारीहरुलाई सम्मान समेत गरिएको थियो । सोही अवसरमा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुति समेत देखाएका थिए । विद्यालय व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष कमलराज तिमिल्सेनाको अध्यक्षता, शिक्षक जर्नादन पाण्डेको स्वागत, सहकाय प्रअ हरिबहादुर कुंवरको सञ्चालनमा कार्यक्रम भएको थियो ।