
पाल्पा, जिल्लाको तानसेन नगरपालिका–२ असनटोलमा रहेको प्रताप शमशेर राणाले निर्माण गरेको खानेपानीको सार्वजनिक धारा जिर्णाेद्धार गरी सञ्चालनमा ल्याइएको छ । वडा कार्यालयको एक लाख बजेटमा धाराको जिर्णोद्धार गरी सञ्चालनमा ल्याइएको हो ।
राणाले तत्कालिन समयमा बाझाबाट तानसेनमा पानी ल्याई टोल टोलमा धारा वितरण गरी तानसेनवासीलाई पानी खुवाएका थिए । लण्डनबाट प्राविधिक झिकाई खानेपानीको धाराहरु निर्माण गरेको उक्त धारालाई लण्डनधाराको नाम राखिएको छ । तानसेनमा घर घरमा खानेपानीको धारा भएपनि बटुवा, विद्यार्थी तथा सर्वसाधारणहरुको लागि लक्षित गरी तानसेनमा पहिलो पटक सार्वजनिक धारा सञ्चालनमा आएको हो ।
धाराको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले शुभारम्भ गरे । तानसेन खानेपानीबाट उपलब्ध गराइएको धाराको पानीलाई फिल्टर गरेर मात्र परम्परागत धारामा पठाउने प्रविधी जडान गरी सञ्चालनमा ल्याएको उपभोक्ता समितिकी अध्यक्ष अनुराधा बज्राचार्यले जानकारी दिईन ।