
पाल्पा, भारत र पाकिस्तानबीच तनाव बढेपछि नेपालले पनि सुरक्षा सतर्कता बढाएको छ । नेपालले तनावका बीच हुनसक्ने घुसपैठलाई मध्यनजर गरेर सुरक्षा संयन्त्र चनाखो बनाएको हो ।
नेपालको सशस्त्र प्रहरी बल (एपीएफ) सीमा क्षेत्रमा तैनाथ भएका छन् । गलत मान्छेको आवतजावत नहोस् भनेर सतर्कता अपनाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । भारत र पाकिस्तानबीच तनाव चर्किदै गएपछि भारतीय सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्य र समन्वयमा सिमानामा संयुक्त गस्ती र खबर आदानप्रदानलाई तीव्रता दिइएको छ । सीमा इलाकामा आवश्यकताअनुसार आउजाउ गर्नेहरूको परिचयपत्र जाँच गरेर अभिलेख राख्ने कार्य भइरहेको जनाइएको छ । भारतसँग जोडिएका रुपन्देहीका सीमावर्ती नाकाहरूमा यति बेला सुरक्षा व्यवस्था कडा पारिएको छ ।
मुख्य नाका बेलहियासहित अन्य रुपन्देहीको लुम्बिनी, भगवानपुर, मर्चवार, दुर्गौलियालगायत नाकाहरुबाट आवतजावत गर्ने यात्रुलाई नेपाल–भारत दुवै देशका नागरिकप्रति विशेष निगरानी, सोधखोज, आवश्यकताका आधारमा खनतलासी गर्ने गरिएको छ । दुई देशबीच द्वन्द चर्किंदै जाँदा सम्भावित जोखिमलाई ध्यानमा राखेर सीमा क्षेत्रमा निगरानी बढाइएको हो । सशस्त्र प्रहरीले रुपन्देहीसँगको नाकामा तालिमप्राप्त कुकुर नै परिचालन गरेर निगरानी गरेको छ । भारतसँग रुपन्देहीको करिब ७० किलोमिटर सीमा क्षेत्र जोडिएको छ ।
भारतको जम्मु–कश्मीरस्थित पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीचको तनाव उत्कर्षतर्फ उन्मुख भएको छ । कश्मीरमा २६ पर्यटकको ज्यान लिने गरी भएको आक्रमणको जवाफ भन्दै भारतले पाकिस्तान नियन्त्रित कश्मीर र भित्री पाकिस्तानसमेतका नौ स्थानमा मिसाइल हमला गरेको छ । ‘अपरेसन सिन्दूर’ भनिएको यो हमलामा भारतले आतंकवादी शिविरलक्षित योजनाबद्ध कारबाही गरिएको दाबी गरेको छ भने पाकिस्तानले त्यस हमलामा महिला र बालबालिकासहित निर्दोष नागरिक मारिएको प्रतिक्रिया दिएको छ । पहलगाममा १० वैशाखमा नेपाली नागरिक २७ वर्षीय सुदीप न्यौपानेसहित २६ जना मारिएका थिए । बुधबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेको छ । बैठकमा पहलगाम आक्रमण र भारतले पाकिस्तान प्रशासित कश्मिर र पाकिस्तानमा रहेको हवाई कारबाहीबारे छलफल भएको स्रोतको भनाइ छ । आतंकवाद फैलिनुले नेपालले पनि दुःख पाउने भएकाले आफ्नो पोजिसन क्लीयर गर्नुपर्ने देखिएको छ ।