Shittalpati
नेपाली सेनाद्वारा  ‘माथागढी पार्क’ पालिकालाई हस्तान्तरण

पाल्पा, जिल्लाको माथागढी गाउँपालिकामा रहेको ऐतिहासिक गढीमा उद्यान पार्क निर्माण गरी माथागढी गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । नेपाली सेना मध्यपश्चिम हेक्डक्वाटर बुटवलको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण गरिएको उद्यानको पृतानपति उपरथि प्रेमबहादुर पुनले गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदिलाई हस्तान्तरण गरेका हुन् ।

पार्क हस्तान्तरण गर्दै पृतनपति पुनले ऐतिहासिक स्थल र सम्पदाको संरक्षणको लागि नेपाली सेनाले सहयोग पुर्‍याउदै आएको बताए । उनले स्थानीय नागरिक र नेपाली सेनाको सम्बन्ध सुमधुर बनाउनुको साथै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे । गाउँपालिका अध्यक्ष चिदिले इतिहासलाई जीवन्त राख्न यस्ता सम्पदाको प्रचार–प्रसार गर्न आवश्यक रहेको बताउदै पालिकाले ऐतिहासिक स्थलको संरक्षणमा सहयोग गर्ने बताए ।

कार्यक्रममा पाल्पा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले आमनागरिकलाई पुराना सम्पदाको महत्व बुझाउँदै भावी पुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको औल्याइन् । कार्यक्रममा दि फेमस महेन्द्र दल गाणका गणपति भुपेन्द्र गुरु·ले जिल्लामा रहेका मठमिन्दरको संरक्षण र संवद्र्धनमा नेपाली सेनाले सघाउँदै आएको बताए । पार्क करिब ८ लाख लागतमा नेपाली सेनाको बजेटमा निर्माण भएको हो । नेपाल अंग्रेज युद्धका साथै नेपाल एकीकरणका बेला प्रयोग भएको गढी किल्लाको संरक्षण गरी प्रचार प्रसार गर्ने उद्देश्यले सौन्दर्यकरण गरिएको छ । सेनाले यहाँका ऐतिहासिक कोट, गढी, किल्लाहरुको संरक्षण गर्ने र इतिहास जोगाउने काम गर्दै आएको छ । सेनाले यस अघि ६ दिने पदयात्रामा निस्किएर यहाँका गडीहरुको अवलोकन, निरीक्षण गरेको थियो । यहाँ ऐतिहासिक बाकुमगढी, माथागढी, तानसेन र नुवाकोट गढी तथा जीतगढी किल्लाहरु रहेका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update