 
                                                                    पाल्पा, जिल्लाको तानसेन नगरपालिका – ३ भगवतीटोलमा महिलाहरुका लागि क्रिस्टलको गहना र धुप बनाउने तालिम दिइएको छ । पुरानो पानी टंकी टोलविकास संस्थाको आयोजना र वडा कार्यालयको सहयोगमा यहाँका महिलाहरुका लागि तीन दिने तालिम दिइएको हो ।
महिलाहरूलाई सीप सिकाइमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ क्रिष्टलको चुरा, माला, लकेट र बाटेको धुप बनाउने तालिम दिइएको टोलविकास संस्थाकी सदस्य जमुना पाण्डेले बताइन् । उनका अनुसार महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको हो । तालिममा सहभागीहरुले महिलाले लगाउने विभिन्न थरिका चुरा, पोते, कानमा लगाउने टप, औँठी जस्ता क्रिष्टलजन्य गहना बनाउन सिकेका छन् । भगवतीटोलस्थित पद्य पव्लिक नमूना माविमा वैशाख १८ गतेदेखि सञ्चालन भएको तालिमको एक औपचारिक कार्यक्रमकाबिच समापन गरिएको छ । तालिमको तानसेन नगरपालिका –३ का वडा अध्यक्ष बाबुरत्न शाक्यले समापन गरेका हुन् ।
उनले तालिमको समापन गर्दै तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्दै आत्मनिर्भर बन्न सहभागीहरुलाई आग्रह गरे । अध्यक्ष शाक्यले सीप सिक्नु र त्यसको उपयोग गर्नु ठूलो कुरा रहेको बताउँदै महिलाहरूको सशक्तीकरणका लागि वडाको सधैव साथ रहने बताए । उनले वडाका महिलाहरुलाई व्यवसायिक रुपमा लाग्न अभिप्रेरित गरी आर्थिक रुपमा सक्षम बनाउने गरी वडाले कार्यक्रम ल्याएको उल्लेख गरे । तानसेन नगरपालिकाका सामाजिक शाखा प्रमुख भरत आचार्यले तालिमले महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनले व्यवसायिक रुपमा क्रिष्टलका गहना बनाउने काममा लाग्न सके मात्र तालिम लिएको सार्थक रहने भन्दै त्यसतर्फ लाग्नपर्नेमा जोड दिए । अहिलेको आवश्यकता भनेको सीप भएकाले सीप सिकेर स्वरोजगार बन्ने दिशामा लाग्न प्रमुख आचार्यले सहभागी सबैलाई आग्रह गरे । वडा सदस्य लक्ष्मी पाण्डेले वडाले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताइन् । कार्यक्रममा पद्य पब्लिक नमूना माविका व्यवस्थापन समितिका अध्यक्ष पुस्करराज रेग्मी, विद्यालयका प्रअ विष्णु बराल, प्रशिक्षकहरु तुलसी गैरे घिमिरे, पञ्च शाक्य लगायतले सीप भएका व्यक्तिहरु त्यसै बस्न नपर्ने भन्दै सिकेका कुराहरुको उपयोग गरी स्वरोजगार बन्न महिलाहरुलाई आग्रह गरे ।
तालिम लिएपछि महिलाहरुले उत्साहित हुँदै तालिममा सिकेका ज्ञान, सीपलाई व्यवहारमा उतार्ने बताएका छन् । सहभागी शारदा नेपाल, अनु दमै, विद्यालक्ष्मी शाक्य लगायतले आयआर्जनका लागि तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनीहरुले तालिममा सिकेका कुराहरुलाई व्यवसायिक ढंगले अगाडि बढाउने समेत प्रतिवद्धता व्यक्त गरेका छन् । तालिममा सहभागीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।
तालिममा वडा भित्रका २२ वटा टोल विकास संस्थाका महिलाहरु सहभागिता रहेका थिए । तालिममा तुलसी गैरे घिमिरेले क्रिष्टको माला, चुरा बनाउन र पञ्च शाक्यले बाटेको धुप बनाउन सिकाएका थिए । टोल विकास संस्थाकी अध्यक्ष रेनुका बस्यालको अध्यक्षता, उपाध्यक्ष रामप्रसाद तिमिल्सीनाको स्वागत, सचिव हरीशंकर बस्याल र कोषाध्यक्ष अप्सरा बस्यालको सञ्चालनमा कार्यक्रम भएको थियो ।


 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    