
पाल्पा, जिल्लाको बगनासकाली गाउँपालिकामा भूमि समस्या समाधानका विषयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम भएको छ । भूमि समस्या समाधान आयोग पाल्पाले गाउँपालिकाको कार्यालयमा छलफल तथा अन्तक्र्रिया कार्यक्रम गरेको हो ।
कार्यक्रममा आयोगका जिल्ला अध्यक्ष रामबहाुदर कार्कीले गाउँपालिकाका बासिन्दाको भूमि समस्या समाधानमा आयोगले काम गर्ने बताए । उनले आयोगले गरेको काममा गाउँपालिका सहित सम्पूर्ण वडातहबाट साथ र सहयोग हुनुपर्ने बताउँदै तयार भएका फाईलहरु समयमानै अनलाईन प्रविष्टि गरेर आवश्यक कामलाई अगाडि बढाउनु हुन आग्रह समेत गरे ।
अध्यक्ष कार्कीले जिल्लामा रहेको भूमि समस्या समाधानका लागि आयोग प्रतिवद्ध भएकार अगाडि बढेको बताए । उनले भने “हामीले सबै स्थानीय तहमा पुगेर त्यहाँको भूमि सम्बन्धी समस्याका बारेमा छलफल र अन्तक्र्रिया गरिरहेका छौं, जहाँ जहाँ भूमि सम्बन्धी समस्या छन्, ति समस्यालाई समाधान गर्ने दिशामा हामी सक्रिय भएर लागेका छौं ।” आयोग पाल्पाका सर्वेक्षक पारस धितालले भूमि सम्बन्धी प्रचलित कानुनी व्यवस्था, स्थानीय तहले गर्नुपर्ने काम र जिल्लामा भूमि समस्या आयोगले गरेका कामका बारेमा जानकारी गराएका थिए । छलफलको क्रममा जनप्रतिनिधि, वडा सचिव, विभिन्न शाखाप्रमुख लगायतले उठाएका जिज्ञासका विषयमा अध्यक्ष कार्कीले जवाफ दिएका थिए ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीले गाउँपालिकामा रहेका भूमिसम्बन्धी समस्यालाई प्रक्रियागत हिसावले समयमै सम्पन्न गर्न गाउँपालिका सचेत रहेको बताइन् । बगनासकाली गाउँपालिकामा १०३ वटा भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको लगत संकलन भएकोमा सबै विवरण अनलाईन प्रविष्ट भएको गाउँपालिले जनाएको छ । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठक, निमित्त प्रमुख प्रशासकीय अधिकृत यादव न्यौपाने, प्रवक्ता टीकाबहादुर थापा, आयोगका जिल्ला समिति सदस्यहरू, वडा अध्यक्ष, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विभिन्न विषयगत शाखाका प्रमुखलगायतको सहभागिता रहेको थियो । गाउँपालिका अध्यक्ष सरस्वती दर्लामी चिदीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रशासन शाखा प्रमुख सुजन घिमिरेले गरेको गाउँपालिका एम.आई.एस. अपरेटर भोजराज भट्टराईले जानकारी दिए ।