Shittalpati
रामपुरका वडामा मेलमिलाप केन्द्रको अनुगमन

पाल्पा, जिल्लाको रामपुर नगरपालिका भित्रका वडाहरुमा मेलमिलाप केन्द्रको अनुगमन गरिएको छ । नगरपालिकाको न्यायीक समितिले वडामा रहेका मेलमिलाप केन्द्रमै पुगेर मेलमिलापको प्रक्रिया र मेलमिलाप केन्द्रको अनुगमन थालेको हो ।

समितिले रामपुर नगरपालिका –८ र १० मा रहेका केन्द्रको अनुगमन गर्नुका साथै विवादको मेलमिलाप समेत गराएको छ । न्याय प्रणालीलाई प्रभावकारी बनाउनुको साथै दुवै पक्षलाई सहजताका लागि वडाको मेलमिलाप केन्द्रको अनुगमन र छलफल गरि विवादको मेलमिलाप गराईएको न्यायिक समितिले जनाएको छ । समितिले वडा नं. १० मा जग्गा साँध सम्बन्धी विवादको छलफल गरि मेलमिलाप गराएको छ । नगरपालिकामा सुचिकृत भएका मेलमिलापकर्ताहरुले वडामा गराउने मेलमिलापको प्रक्रिया र मेलमिलाप केन्द्रको अवस्था बारे जानकारी लिन अनुगमन गरिएको नगरपालिका न्यायीक समितिका संयोजक एवं उपप्रमुख बाल कुमारी थापाले बताइन् । विभिन्न प्रकारका मुद्दाको समाधान र मेलमिलापलाई अझ प्रभावकारी बनाउन छलफल सहित अनुगमन गरिएको उनले बताइन् । संयोजक थापाले विवादले समाजमा अशान्ती र अराजकता सिर्जना गरि दुर्घटना समेत निम्त्याउन सक्ने भन्दै दुवै पक्षको जित हुने गरि मेलमिलाप गर्न ध्यान दिनु पर्नेमा जोड दिइन् । 

थापाले मेलमिलाप गर्दा कुनै आग्रह पूर्वाग्रह नराखी कानुनले दिएको अधिकारको पूर्ण प्रयोग गरेर दुवै पक्षलाई न्यायको अनुभूति दिलाउन मेलमिलापकर्ताहरुलाई आग्रह गरिन् । उपप्रमुख थापाले पछिल्लो समय न्यायीक समितिप्रति नगरबासीको विश्वासनियता बढेको भन्दै वडाका मुद्दा वडाको मेलमिलाप केन्द्रबाटै मेलमिलाप गर्न सके सेवाग्राहीलाई सहज हुने उल्लेख गरिन् । थापाले भनिन् “शान्त, न्यायीक र मेलमिलाप सहितको समाज निर्माणका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको छ ।” रामपुर–८ का अध्यक्ष दिनेश आचार्यले वडामा भएका विभिन्न प्रकारका विवादको जनप्रतिनिधिले सहजिकरण गर्दै आएको भन्दै मेलमिलाप केन्द्रलाई थप परिस्कृत गर्नु पर्ने बताए । उनले गाउँ टोलमा भएका स–साना झगडा र विवादलाई समाधान गर्न सुचिकृत मेलमिलापकर्ता भए पनि सेवा सुविधा नभएका कारण पनि जनप्रतिनिधि स्वयमले समाधान गर्दै आएको बताए । यस्तै अनुगमन तथा छलफल गर्दै रामपुर नगरपालिका कार्यपालिका सदस्य सिमादेवी थापाले स–साना विवादले सामाजिक सद्भाव विथोल्ने भन्दै यसको तत्काल सामाधान र मेलमिलाप आवश्यक रहेको उल्लेख गरिन् । 

यसैगरी न्यायिक समितिका सदस्य खेमराज अधिकारीले कानुन भन्दा माथी कोही नहुने भन्दै विवादको विकल्प मेलमिलाप भन्दा अरु नभएको बताए । यस्तै न्यायिक समिति सदस्य तेज कुमारी नेपाली गैरेले समाजमा हुने हरेक विवादले नकारात्मक असर पुर्‍याउने भन्दै यस्ता विवादको न्यायोचित रुपमा मेलमिलाप हुन जरुरी रहेको बताए । यस आर्थिक वर्षमा अहिले सम्म ८९ वटा मुद्दा न्यायीक समितिमा दर्ता भएको र त्यस मध्ये ५० वटा मुद्दाको मेलमिलाप तथा समाधान गरिएको न्यायीक समिति सचिवालय सचिव पार्वति परियारले जानकारी दिए । विवादलाई मेलमिलापको माध्यमबाट न्यायोचित रुपमा समाधान गर्नका लागि नगरपालिका भित्र ३७ जना सुचिकृत मेलमिलापकर्ता रहेका छन् ।

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update