
पाल्पा, जिल्लाको रामपुर नगरपालिकाले बालमैत्री स्थानीय शासन घोषणा गर्ने तयारीलाई तिव्रता दिएको छ । नगरपालिकाले आगामी २०८३ साल मंसिर ५ गते बालमैत्री घोषणा गर्ने गरी तयारीलाई तिव्रता बनाएको हो ।
बालमैत्री घोषणाका लागि अहिले वडा/वडामा विभिन्न कार्यक्रम भईरहेका छन् । वडामा समिति गठन, बाल क्लव गठन, घरधुरी सर्वेक्षण, बालबलिकाको पारिवारिक, आर्थिक र शैक्षिक अवस्था पहिचानका कार्यक्रमहरु भएको छ । नगरका १० वटै वडामा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरेको छ भने वडा नं.२ लाई घोषणाको अन्तिम चरणमा पुगेको रामपुर नगरपालिकाले जनाएको छ । बालमैत्री घोषणा कार्यक्रम अन्तर्गत गणकहरुलाई बालमैत्री घरधुरी सर्वेक्षण सम्बन्धी अभिमूखिकरण प्रदान गरेको छ । बालबालिकाको अवस्था पहिचानका लागि रामपुर नगर भित्रका वडामा खटिने गणकहरुलाई अभिमूखिकरण प्रदान गरिएको छ । बालमैत्री स्थानीय शासन घोषणाको पहिलो र महत्वपूर्ण आधार बालबालिकाको अवस्था बुझ्ने घरधुरी सर्वेक्षण भएकाले अभिमुखिकरण प्रदान गरिएको नगरपालिकाका कार्यवाहक नगर प्रमुख बाल कुमारी थापाले बताइन् । साथै उनले गणकहरुलाई सही तथ्याङ्क संकलन गर्न आग्रह गरिन । उनले रामपुर नगरपालिकालाई समृद्ध र प्रभावकारी कार्यान्वयन सहितको बालमैत्री स्थानीय शासन सहितको नगरपालिका बनाउन सबै लाग्नु पर्नेमा जोड दिइन् ।
साथै समुचित विकास र समृद्धिका लागि बालमैत्री स्थानीय शासनका सुचक पुरा गरेर बालमैत्री स्थानीय शासन घोषणा गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको प्रमुख थापाको भनाई छ । नगरपालिकाका नगर प्रवक्ता एवं कपिल बहादुर खाँणले नगरपालिकाको दिगो विकास र समृद्ध नगर निर्माणका लागि बालबालिका केन्द्रित बालमैत्री कार्यक्रम लागु गर्न आवश्यक रहेको भन्दै बालमैत्री स्थानीय शासन घोषणाले यो लक्ष्य प्राप्त गर्ने बताए ।
नगरका सबै वडामा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरेर अहिले गणकहरुका लागि अभिमुखिकरण प्रदान गर्ने काम भइहेको बालमैत्री फोकल पर्सन सञ्जु परियारले जानकारी दिइन् ।