Shittalpati
तीनकुनेको  घटनालाई लिएर राप्रपा पाल्पाले बुुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र

पाल्पा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाल्पाले यहीँ चैत्र १५ गते भएको तीनकुने घटनाका विषयलाई लिएर प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । राप्रपाले तीनकुने घटनाको सन्दर्भमा ६ बुँदे मागसहित मंगलबार प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

उसले तीनकुने घटनाका विषयमा छानबिन गर्न आयोग गठन गर्न माग गरेको छ । उक्त घ‍टनामा सरकारको दमनकारी नेतृत्वका कारण जनताको ज्यान गएको बताउँदै गृहमन्त्री रमेश लेखकको राजीनामाको मागसमेत राप्रपाले गरेको छ । राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुंवरको नेतृत्वमा गएको राप्रपा नेताहरुको टोलीले प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

ध्यानाकर्षणपत्रमा सर्वोच्च अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा मानवअधिकार आयोग, नागरिक समाज सम्मिलित स्वतन्त्र छानबिन आयोग गठन राप्रपाले माग गरेको छ । गृहमन्त्रीसँगै १५ गतेको नेतृत्व गर्ने प्रहरी र प्रशासनिक प्रमुखलाई निलम्बनको माग समेत गरिएको छ । साथै, उक्त दिन ज्यान गएका पत्रकार सुरेश रजक र सविन महर्जनलाई शहिद घोषणा तथा क्षतिपूर्तिको माग गरिएको छ । यसका साथै, रवीन्द्र मिश्र र डा. धवल शमशेर राणालगायत अन्य बन्दीहरूको रिहाइको माग समेत गरिएको छ । पार्टीले पेश गरेका ४० बुँदे माग उपर नवीन समझदारीका लागि वार्ता टोलीको गठन गर्न समेत राप्रपाले माग गरेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update