Shittalpati
कक्षा १२ को परीक्षा नरोकिने :  कर्मचारी खटाएरै भए पनि गर्ने तयारी

पाल्पा, शिक्षक आन्दोलनका कारण वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ को परीक्षा हुने नहुने अन्यौलमा रहेका बेला सरकारले भने जसरी भए पनि परीक्षा सञ्चालन गर्ने गरी तयारी अगाडि बढाएको छ । सरकारले निजामती कर्मचारी खटाएरै भए पनि  परीक्षा  सञ्चालन गर्ने तायारी गरेको हो ।

प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला परीक्षा समन्वय समितिलाई जिम्मेवारी दिएर परीक्षा सञ्चालन गर्ने तयारी सरकारको छ । राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले आगामी वैशाख ११ गतेदेखि तोकिएको कक्षा १२ को परीक्षा निजामती कर्मचारी खटाएर भए पनि सञ्चालन गर्ने निर्णय  समेत गरेको छ । बोर्डको बैठकले पूर्वनिर्धारित समयमै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

शिक्षक सहभागी नभए निजामति कर्मचारी परिचालन गरेरै भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । परीक्षाको समय फेरबदल गर्दा विद्यार्थीको परीक्षाको तयारीमा असर पर्ने तथा समय खेर जाने भएकाले परीक्षा नरोक्ने उनले बताए । प्रमुख जिल्ला अधिकारीले प्रत्येक परीक्षा केन्द्रमा जिल्लास्थित निजामति कर्मचारीलाई परिचालन गरेर निर्धारित समयमै परीक्षा सञ्चालन गर्ने बोर्डले निर्णय गरेको छ ।

आन्दोलनमा सहभागी नभएका शिक्षकलाई परीक्षा केन्द्रमा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष बनाउने र त्यस्तो अवस्था नभएका केन्द्रमा प्रमुख जिल्ला अधिकारीले नै निर्णय गरेर व्यवस्थापन गर्ने गरी परीक्षा सञ्चालन गरिने भएको छ । यसवर्ष कक्षा १२ को परीक्षामा करिब पाँच लाख विद्यार्थी सहभागी हुनेछन् । परीक्षाका लागि जापानमा एउटासहित एक हजार ५९१ परीक्षा केन्द्रको व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update