Shittalpati
‘रुख रोपौं, वातावरण संरक्षण गरौं’ विषयक गोष्ठी तानसेनमा

पाल्पा, रुख रोपौं वातावरण संरक्षण गरौं’ विषयक एक दिने गोष्ठी तानसेनमा भएको छ । तानसेन नगरपालिका –२ वडा कार्यालयको आयोजना र प्रजातान्त्रिक विचार समाजको समन्वयमा गोष्ठी भएको हो ।

कार्यक्रममा सहभागीहरुले वातावरण संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको भन्दै वातावरण संरक्षण गर्नु पर्नेमा चिन्ता व्यक्त गरेका हुन् । उनीहरुले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृ·लता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपद्बाट जनधनको क्षतिजस्ता गम्भीर र नकारात्मक असर एवं प्रभाव बढेकाले आ–आफ्नो ठाँउबाट वातावरण जोगाउनेतर्फ लाग्नुपर्ने बताएका छन् ।

गोष्ठीमा जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल, कर्मचारी, पत्रकार लगायतले समग्र विश्व नै ठूलो वातावरणीय संकटबाट गुज्रिरहेको बताउँदै यसको समाधानका लागि पर्याप्त मात्रमा रुख रोप्ने र त्यसको संरक्षणमा ध्यान दिई वातावरणलाई स्वच्छ र सफा बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले मानविय लापरवाहीका कारण नै वातावरण प्रदूषण हुनुको साथै जलवायु परिवर्तनको असर देखिएकाले त्यसलाई रोक्नको लागि मानिस नै सचेत हुनुपर्ने बताए । उनले भने “वस्ती विस्तार गर्ने होडमा जथाभावी रुख काट्ने र ज·लमा डढेलो लगाउने गर्दा वातावरण नै संकटमा परेको छ । त्यसलाई समाधान गर्न हामी आ–आफ्नो ठाउँबाट वातावरण संरक्षणमा जुटौं ।” मेयर श्रेष्ठले कानुनी जटिलताका कारण विकास निर्माणका काम वन क्षेत्रबाट अवरोध भएकाले समयानुकुल सुधार गर्नुपर्ने समेत बताए ।

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले रुख विना वातावरण संरक्षण हुन नसक्ने भन्दै रुख रोप्ने अभियानमा लाग्नुपर्नेमा जोड दिए । नेकपा एमालेका नेता धनेन्द्रराज घिमिरेले वातावरण संरक्षणका लागि वहसका रुपमा अगाडि बढाउन आवश्यक रहेको औल्याए । प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जिल्लाको निस्दीमा अम्रिसो खेती, माथागढी र तिनाउमा तेजपत्ता विस्तारले किसानको आयआर्जनमा टेवा पुगेको बताउँदै रुख रोपेर गर्व गर्नु भन्दा रोपेका रुखलाई संरक्षण गर्दै हुर्काउन आवश्यक रहेकोमा जोड दिए । गोष्ठीमा समाजका अध्यक्ष प्रा.डा.रामजी प्रसाद पौड्यालले कार्यपत्र प्रस्तुत गर्दै बोट, विरुवा र मानव लगायत अन्य जिवजन्तुको सम्बन्ध वातावरणले पुर्‍याउने असर, रुखले पानी र स्वास्थमा दिएको योगदान, मौसममा स्थिकरण, विषालु वायु, बोटविरुवाबाट जिवजन्तुको आधार लगायत विश्वव्यापी असरका  बारे चर्चा गरेका थिए । डिभिजन वन कार्यलयका वरिष्ठ वन अधिकृत विष्णु कार्की, वडा अध्यक्ष महेश्वर श्रेष्ठ, वि.पि. चिन्तन प्रतिष्ठानका अध्यक्ष माधव नेपाल, टोल विकास संस्थाकी अध्यक्ष सरस्वती शर्मा लगायतले रुख रोपेर  वातावरण संरक्षणमा लाग्नुपर्नेमा जोड दिए । समाजले वातावरण संरक्षण गर्ने उद्देश्यले जिल्लाका ८१ वडामा रुखको महत्व लेखिएको ब्यानर वितरण गर्नेभएको छ । समाजका अध्यक्ष प्रा.डा रामजी प्रसाद पौड्यालको अध्यक्षता, उपाध्यक्ष राधेश्याम ज्ञवालीको स्वागत र सचिव श्रीधर नेपालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update