
गुल्मी, दोस्रो गुल्मी महोत्सव सदरमुकाम तम्घासस्थित नुनथलामा शुक्रबारदेखि सुरु भएको छ । गुल्मी चेम्बर अफ कमर्शको आयोजनामा गुल्मी जिल्लाको समृद्धिको आधार: कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ महोत्सव सञ्चालन भएको हो ।
यस जिल्लाका विभिन्न कला, संस्कृतिको संरक्षण गर्दै स्थानीय उत्पादनको प्रवर्धन तथा बजारीकरणसँगै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको गुल्मी चेम्बर अफ कमर्सले जनाएको छ । महोत्सवमा विभिन्न संस्कृति र झाँकीसहित जिल्लाका स्थानीय खानालाई समेत प्रचार प्रसार गरिएको छ । स्थानीयदेखि राष्ट्रिय कलाकारसम्मको दिनहुँ प्रस्तुति रहेको छ । मेलामा कृषि प्रदर्शनी, व्यापरिक समान, मनोरञ्जनात्मक खेल र सांस्कृतिक प्रस्तुति राखिएको छ । महोत्सवमा तीन सय स्टल स्थल रहेका छन् । जसमा स्थानीय फेन्सी व्यवसायीलाई पाँच वटा स्टल निःशुल्क र २० वटा स्टलहरू स्थानीय व्यवसायीलाई प्रोत्साहनका लागि ३० प्रतिशत शहुलियत छुटमा दिइएको छ । महोत्सवमा ३० करोड रुपैयाँको आर्थिक कारोबार र साढे १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा रहेको संस्थाका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले बताए । महोत्सवमा टिकट शुल्क अन्तर्गत विद्यार्थीलाई ५० रुपैयाँ र अन्य व्यक्तिलाई १ सय रुपैयाँ निर्धारण गरिएको छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, ५ वर्षभन्दा कम उमेरका बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क प्रवेश दिइएको छ । महोत्सव वैशाख १७ गतेसम्म सञ्चालन हुनेछ । जय माता दि एम्युजमेन्ट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिको व्यवस्थापनमा महोत्सव भएको हो ।