Shittalpati
गुल्मीमा २४ वर्षदेखि फरार अभियुक्त पक्राउ

गुल्मी, २४ वर्ष फरार तिलबहादुर विकलाइ प्रहरीले ०८१ चैत २९ गते पक्राउ गरेर अदालत पेस गरेको छ । कालिगण्डकी गाउँपालिका–२ का ५६ वर्षीय तिलबहादुर विकलाई नकबजनी चोरीमा जिल्ला अदालत गुल्मीले ०५७ साल जेठ २२ गते १७ दिन कैद र रु.१,५००/– रुपियाँ जरिवानाको फैसला गरेको थियो । 

त्यस्तै सत्यवती गाउँपालिका–६ का ४२ वर्षीय शङ्करप्रसाद भण्डारीलाई चेक अनादर गरेको मुद्दामा जिल्ला अदालत गुल्मीले ०७९ असार २३ गते तीन हजार रुपियाँ जरिवाना फैसला भएको थियो । प्रहरीले भण्डारीलाई तीन वर्षपछि चैत २८ गते पक्राउ गरेर अदालत पेस गरेको छ । 

इस्मा गाउँपालिका–६ का ४१ वर्षीय भोटबहादुर कुमाललाई जबरजस्ती चोरीमा जिल्ला अदालत गुल्मीबाट ०७० जेठ २५ गते एक वर्ष १५ दिन कैद र ५० हजार ८५० रुपियाँ जरिवाना फैसला भएको थियो । फरार कुमाललाई ११ वर्षपछि गुल्मी प्रहरीले गत चैत २५ गते पक्राउ गरेर अदालत पेस गरेको प्रहरी नायब उपरीक्षक सारुले बताए । 

त्यस्तै लागु औषध मुद्दामा ०७७ जेठ २६ गते गुल्मी जिल्ला अदालतबाट दुई महिना कैद र दुई हजार रुपियाँ जरिवाना भएका गुल्मीदरबार गाउँपालिका(५ का २५ वर्षीय क्यिटन परियार गत चैत २५ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले पछिल्लो समय नियमित पत्रकार सम्मेलन गर्दै आएको छ । सम्मेलनमा मासिक विवरण सार्वजनिक गर्ने गरिएको छ । जस अनुसार फैसला कार्यान्वयन तर्फ चैत महिनामा ११ जना फरार प्रतिवादी पक्राउ गरेर अदालत पेस गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक राजन भुजेलले जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update