
राजनीतिक दल र तीनका नेतृत्व सत्ताबाट वाहिर बस्न पर्ने वित्तिकै गाउने भजन हो वि.स २०८४ । कसैले यसलाई मिसन ०८४ नाम दिए, कसैले ०८४ मा देखाई दिउला भन्दै भाषण गरे, कसैले २०८४ सम्म हामी सरकारमा जादैनौ भन्दै छेपारे व्यबहार देखाई रहे । कसैले ०८४ मा आमुलै परिवर्तन हुने आश्वासनका भाषण दिईरहे । धेरैले २०८० देखिनै २०८४ को भजन गाइरहे । तर आमनागरिक भन्दै छन् सत्ता र शक्तिका आडमा हुने बेथिती, राज्यका संयन्त्र बीचको हस्तक्षेप र आमनागरिकमा बड्दै गएको उकुसमुकुशको अन्त्य र खबरदारीका लागि जनता परिवर्तन नै हुनुपर्ने वर्ष हो वि.स २०८४ । व्यवस्था परिवर्तन भयो, राजनीतिक दलका उत्कृष्ट घोषणा बने, राजनीतिक दलमा नयाँ पुस्ता पनि भित्रिए, नयाँ राजनीतिक दल पनि बने तर मतदाताले भोट परिवर्तन गर्न नसक्दा, परम्परामा नै रमाउँदा राजनीतिक दलमा केहि नयाँ गर्नु पर्दछ भने दवाव सिर्जना भएको देखिदैन् । सधै देशलाई अस्तव्यस्त अवस्थामा राख्नु हुँदैन् भन्ने नेतृत्वको दृष्टिकोणमा परिवर्तन आएको देखिदैन् । देश परिवर्तनको कुरा गर्ने, देश विकास भएन भन्ने तर आमजनता परिवर्तन हुन् नसक्दा देश, राजनीतिक दल र तीनका नेतृत्व समय अनुसार परिवर्तन हुन् सकेको देखिदैन् । वि.स.२०८४ मा परिवर्तन अनिवार्य छ । यहाँ यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
वि.स.२०८४ चुनावी बर्ष तीन तहकै सरकारहरु परिवर्तन हुने बर्ष । राम्रो काम गर्नेलाई पुरस्कार स्वरुप पुनः निर्वाचित गर्ने र जनताको पक्षमा काम गर्न नसक्नेलाई दण्ड दिने बर्ष । २०८४ को भजन गाउनेहरुको यर्थाथ धरातल बुझ्ने बर्ष । आजको होइन भोलीमा रमाउनेहरुको वर्ष । मतदाता केहि दिन हावी हुने वर्ष तर लामो समयदेखि विचार परिवर्तन गर्न नसक्दा, छलफल र बहसमा मात्रै परिवर्तनको कुरा गर्ने तर चुनावको समयमा भोट परिवर्तन गर्न नसक्दा केहि राजनीतिक दल र तीनका केहि नेतृत्व देशको साशन व्यवस्था सञ्चालनमा सधै हावी भएको देखिन्छ । यहि कारण देश परम्परा भन्दा माथी उठ्न सकेको देखिदैन् भने केहि सम्भावना बोकेका देश विकास र परिवर्तनको योजना सहितको उद्देश्य बोकेका राजनीतिक दललाई जनताले विश्वास नै गर्न सकेको देखिदैन् । यहि कारण निरन्तर व्यवस्था परिवर्तन भएता पनि संविधानका शब्दहरु परिवर्तन भएता पनि, ऐन नियम परिवर्तन भएता पनि देश सञ्चालनको आधार परम्परा भन्दा माथि उठन् नसकेको सजिलै आंकलन गर्न सकिन्छ । यहि कारण राजनीतिक अस्थिरता र सरकार परिवर्तनको दर स्थायी रुपमा नेपालमा जरा गाडेकै देखिन्छ । त्यसैले वि.स २०८४ परिवर्तनका लागि, नयाँ खोजिका लागि आवश्यक छ । सत्ता र शक्तिका आधारमा अलोकप्रिय निर्णय गर्नेलाई सजाय दिन आवश्यक छ । चरम बेथितीको अन्त्यका लागि आवश्यकता छ । ०८४ भोट परिवर्तनको लागि आवश्यकता छ ।
एक थरी जनमानस भन्दै छन् देश बिग्राने नेता हैनन् जनता हुन् ,जसले लामो समयसम्म आफ्नो भोट परिवर्तन गर्न सकेन्न निरन्तर एउटै दललाई मत दिई रहे । नेताको मासु, भात, रक्सी र आर्थिक प्रलोभनमा मत बिक्री गरिरहे । देशको ठूलो भूगोल ग्रामिण क्षेत्र र जहाँ अशिक्षा व्याप्त रहेको र त्यहि मतदाताको संख्या बढी रहेको कारण नेपालको राजनीति समय अनुसार परिवर्तन हुन् सकेको देखिदैन् ।
वि.स.२०८४ किन ?
वि.स. २०८४ चुनावी वर्ष । जनताले चुनेर पठाएका नेतृत्वलाई पुरस्कार वा सजाय दिने बर्ष । राजनीतिक दलले नै अलि प्राथमिकता दिएको बर्ष । जनताले राजनीतिक दलहरु माथि गरेको हिसाब कितावको उत्तर दिने बर्ष । सुशासनको प्रत्याभुती र विधिको साशनको अभ्यासमा सरकारहरु चुकेका कारण पछिल्लो समय देशमा चरम बेथिती बढ्दै गएको छ । यसमा दलहरु चुकेको कारण जनतामा निराशा बढ्दै गएको देखिन्छ । यहि कारण पनि जनता भन्दै छन् वि.स.२०८४ कहिले आउला ? विश्व सूचाकं स्केलमा नेपालमा भ्रष्टाचारको अवस्था दयनिय अवस्थामा रहेको कुरामा दुईमत रहँदैन् । कमिशन, भ्रष्टचार र गैर कानुनी लेनदेनले तिव्रता पाएको देखिन्छ । अस्वभाविक रुपमा बढ्दै गएको भ्रष्टाचार, बेथिती तथा स्वेच्छाचारी क्रियाकलाप नियन्त्रणमा सरकारहरु असफल जस्तै देखिन्छन् । यसमा कमी वा सुधार आउने कुनै संकेत पनि देखिदैन् । सत्ताको आडमा गरिने ढाकछोप र हस्तक्षेपले यसलाई बढाउदै लगेको छ । यस कारण पनि जनता भन्दै छन् वि.स.२०८४ कहिले आउला ? सरकार गर्नु पर्ने कार्य भन्दा नगर्नु पर्ने कार्य गर्न उद्यत देखिन्छ । इमान्दार राष्ट्रसेवक कुलमान घिसिङ जस्तालाई पदबाट हटाउने सरकारको स्वेच्छाचारी रवैया, छुट्टै पहिचान बनाएका काठमाडौका मेयर बालेनसँग जुगाँको लडाई लड्ने देशको प्रधानमन्त्री । यी कारण पनि जनता भन्दै छन् वि.स. २०८४ कहिले आउदछ ? राज्यका सुरक्षा निकाय, संवैधानिक अंगहरु, न्यायलय, कर्मचारीतन्त्र लगायत राज्यका निकायहरुले राम्रोसँग काम गर्न सकेको देखिदैन् । राज्य सञ्चालकका निर्देशन पालना गर्दा गर्दै यी निकायहरु निरिह जस्तै बनेका देखिन्छन् । सरकारको चरम हस्तक्षेपले यी निकायहरु काम गर्न नै नसक्ने अवस्थामा पुगेको देखिन्छ । यहि कारण पनि जागरुक जनता भन्दै छन् वि.स.२०८४ कहिले आउला ? न्यायलयहरुले न्याय दिन सकिरहेका छैनन् । संवैधानिक अंगले स्वायत्तरुपमा काम गर्न पाएका छैन्न, नियन्त्रित र निर्देशित अवस्थामा पुगेको देखिन्छ । जनताको साशन व्यवस्था मानिने गणतन्त्रमा पनि उही अस्थिर राजनीति अवस्था, उही सरकार परिवर्तनको अवस्थाले निरन्तरता पाउनु, राजनीतिक दलहरु जनताका लागि भन्दा सत्ता प्राप्तिका लागि केन्द्रीत हुनु, सत्ताका लागि विवेक, इमान्दारीता र नैतिकता नै गुमाउने कार्य गर्नु । अस्थिरता केन्द्रमा मात्रै नभएर सात वटै प्रदेशमा देखिनु । यी कारणले गर्दा जनता भन्देै छन् वि.स २०८४ कहिले आउला ?
निष्कर्ष :
वि.स. २०८४ यो सामान्य गन्तीको बर्ष मात्रै होइन् । देश विकास र परिवर्तनको आधारतय गर्ने बर्ष पनि हो । अबको दुई वर्ष पछि घर–घर का क्यालेण्डरमा वि.स.२०८४ देख्न पाईने छ भने सरकार र देश सञ्चालनका क्षेत्रहरुमा नयाँ–नयाँ अनुहारका राजनीतिक नेतृत्व । त्यसैले अरु वितेका बर्ष जस्तो ०८४ लाई हल्का रुपमा हैन् फरक रुपमा लिन जरुरी देखिन्छ । आजै देखि ०८४ को तयारीमा लागौं देश विकास, जनताको जीवनस्तर र दैनिकी सुधार गर्न सक्ने राजनीतिक दल, राजनीतिक नेतृत्व चयनका लागि मनस्थिती परिवर्तन गरौं, परम्परालाई त्यागौ र यसैको तयारी थालौ । वि.स. २०८४ लाई जनताको बर्ष बनाऔ । बर्षौदेखिको बेथिती र निरन्तरताको क्रम भंग गरौं । हामी परिवर्तन भयौं भने मात्रै बर्ष परिवर्तनले सार्थकता पाउने देखिन्छ ।
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)