
पाल्पा, बुधबार साँझदेखि पानीसहित आएको हावाहुरीले पाल्पा, गुल्मी, अर्घाखँची लगायतका जिल्लाहरुमा वितण्ड मच्याएको छ । हावाहुरीका कारण मेला महोत्सव, घर, होटल, विद्यालय, मन्दिरलगायत संरचनाका छाना उड्नुका साथै पशुचौपायका खोर, गोठ समेत क्षतिग्रस्त भएका छन् ।
हावाहुरी र वर्षाले पाल्पामा जारी दोस्रो तानसेन महोत्सवमा ठूलो क्षति पुगेको छ । तानसेनको कृषि, रोजगार, पर्यटन तथा व्यापारलाई लक्षित गरी चैत २२ गतेदेखि सञ्चालन गरिएको महोत्सव बुधबार दिउँसो देखिको वर्षा र हावाहुरीले करोडौंको क्षति पुर्याएको छ । बुधबार दिउँसो कार्यक्रमको तयारी भइरहेको बेला अचानक वर्षा र हावहाहुरी चलेपछि महोत्सवमा भाग दौड मच्चिएको थियो । कार्यक्रममा आफ्नो प्रस्तुती देखाउन आएका स्थानीयदेखि राष्ट्रियस्तरका कलाकारहरु समेत आफ्नो कला देखाउनबाट बञ्चित भए । असिनासहित वर्षा भएपछि महोत्सव हेर्न भेला भएका हजारौं बालबच्चादेखि बुढापाका बीच भागदौड मच्चिएको थियो । वर्षाका कारण सांस्कृतिक कार्यक्रम स्थगित गरि विहीबार सञ्चालन गर्ने तयारीमा आयोजक थिए । तर बुधबार राती नै ठूलो हावाहुरी र वर्षाका कारण महोत्सवस्थलमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वार, घेरबारलगायत ढलेका छन् । जसले गर्दा महोत्सव नै अनिश्चित बनेको छ । महोत्सवस्थलमा राखिएका विभिन्न स्टलका सामान ठूलो क्षति पुगेको व्यापारीहरुले बताएका छन् । हावाहुरीले मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
वर्षा र हावाहुरीका कारण महोत्सवस्थलमा ठूलो क्षति पुगेकाले पुनः नयाँ संरचना निर्माण गरेर मात्र महोत्सव सञ्चालन गरिने पाल्पा व्यापार सङ्घका अध्यक्ष विष्णुबहादुर कार्कीले बताए । उनका अनुसार महोत्सवमा बनाइएका स्टेज, स्टल, प्रवेशद्वारमा क्षति पुगेको र क्षतिको यकिन विवरण संकलन गर्ने काम भइरहेको छ ।
हावाहुरीले पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा पनि क्षति पुर्याएको छ । मन्दिरमा प्लाष्टिकले छेकेर राखिएको छानोमा क्षति पुगेको हो । हावाहुरीले व्यक्तिका घर तथा सार्वजनिक सम्पत्तिमा पनि क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । जिल्लाका अधिकांस ठाउँमा हावाहुरीले छाना उडाएको छ । घरको छाना उडाएपछि केही घरमा बस्ने अवस्था समेत नरहेको स्थानीयले बताएका छन् । हावाहुरी र वर्षातले पु¥याएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उता गुल्मीमा पनि पानीसहित आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा भौतिक क्षति पुर्याएको छ । हावाहुरीका कारण घर, होटल, विद्यालयलगायत संरचनाका छाना उड्नुका साथै पशुचौपायका खोर समेत क्षतिग्रस्त भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । धुर्कोट गाउँपालिका–४ स्थित जैसीथोक रौताडीका पूर्णप्रसाद पाध्याको दुईतले टिनको घरको छानो पूर्णरूपमा उडाएको छ । त्यस्तै, सोही गाउँपालिका–३ बर्दबासका कृष्ण बिष्टको दुईतले घरको पाली हावाहुरीले उडाएको छ । बिष्टको बाख्राको खोर समेत क्षतिग्रस्त बनेको छ ।
धुर्कोट–४ बर्बोट बजारमा सञ्चालित अरुण गैरेले सञ्चालन गरेको सुपारी होटल एण्ड लज पनि हावाहुरीको मारमा परेको छ । होटलको जस्ताले छाएको छानो पूर्ण रूपमा उडाएको छ । रेसुङ्गा नगरपालिका–५ गोवानेका अर्जुन विकको दुईतले टिनले छाएको घरको छानो उडाएको छ भने रुरुक्षेत्र गाउँपालिका–५ ग्वादीका कृष्ण प्रसाद ज्ञवालीको ढुङ्गा–माटोले बनेको कच्ची घरको छानोसमेत उडाएको प्रहरीले जनाएको छ । जिल्लामा हालसम्म हावाहुरीका कारण मानवीय र पशुचौपायको क्षति भने भएको छैन् ।
यस्तै अर्घाखाँचीमा हावाहुरी र वर्षाका कारण मानविय क्षति भएको छ । यहाँको भूमिकास्थान नगरपालिकामा चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ । भूमिकासाथ नगरपालिका १० लिसेपानी बस्ने ७२ वर्षीय यमबहादुर घर्तीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । हावाहुरीले पाणिनि गाउँपालिका ६ धातिबाङ्गमा १७ घर गोठका छाना उडाएको छ । हावाहुरीले छानो उडाएका घरगोठ तथा अन्य क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको छ ।