Shittalpati
शिक्षक आन्दोलनप्रति काँग्रेस पाल्पाको ऐक्यबद्धता

पाल्पा, नेपाली काँग्रेस पाल्पाले शिक्षकहरूको काठमाडौं केन्द्रित आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ । काँग्रेसले सोमबार विज्ञप्ति जारी गर्दै शिक्षा जस्तो संवेदनशील विषयलाई राजनीतिक झमेलामा पारेर भविष्यका पिँढीमाथि अन्याय गर्नु कदापि स्वीकार्य नहुने भन्दै शिक्षकहरुको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो ।

उसले सरकार र शिक्षक महासङ्घबीच विगतमा भएका सहमतिका आधारमा विद्यालय शिक्षा ऐन तत्काल जारी गरी शिक्षकहरूको माग पूरा गर्न सरकारसँग माग समेत गरेको छ । हाल प्रतिनिधिसभामा छलफलको प्रक्रियामा रहेको “विद्यालय शिक्षा विधेयक” लाई यथाशीघ्र पारित गरिनु आवश्यक रहेको पाल्पा काँग्रेसको ठहर छ । शिक्षाको उज्वल भविष्य सुनिश्चित गर्न यस विधेयकको समयमै पारित हुन अनिवार्य रहेको जिल्ला सभापति हिमालदत्त श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘शिक्षाका मेरुदण्ड शिक्षकहरू आफ्ना जायज मागहरू राख्दै शैक्षिक हाड्ताल सहित सडकमा संघर्षरत छन् । शिक्षाको गुणस्तरीय विकास शिक्षकको सम्मान बिना सम्भव छैन भन्ने तथ्यलाई आत्मसात गर्दै हामी शिक्षक आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गर्दछौं’ विज्ञप्तिमा भनिएको छ । शिक्षकहरूको आवाजलाई प्राथमिकता नदिने र दबाउने प्रयासको काँग्रेसले भत्र्सना गरेको छ ।

शिक्षकका मागहरूप्रति सरकार गम्भीर रहन र संवादको वातावरण मार्फत समाधानको बाटो अवलम्बन गर्न काँग्रेसले सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update