
केशव बडाल
नेपालको पहिलो लोकतान्त्रिक निर्वाचित प्रधानमन्त्री वि.पी. कोइराला सहकारी र समाजवादका दृढ समर्थक थिए । उनले लोकतान्त्रिक समाजवादको संरचना निर्माण गर्न सहकारीलाई पनि एउटा आधार मानेका थिए विशेषगरी इजरायलको भ्रमणपछि । प्रधानमन्त्रीको रुपमा १८ महिनाको छोटो कार्यकालमा उनले सहकारी विकासलाई प्राथमिकता दिए । इजरायलको सहकारी प्रणालीको गहन अध्ययनपछि नेपालमा पनि इजरायली मोडलको सहकारी संरचना निर्माणको आवश्यकता उनले औंल्याएका थिए ।
विपी कोइरालाले इजरायल भ्रमणका क्रममा त्यहाँको किबुत्ज र मोशाव जस्ता सहकारी प्रणाली अध्ययन गर्ने अवसर प्राप्त गरे । सहकारी अर्थतन्त्रलाई बलियो बनाउँदै समतामूलक समाज निर्माण गर्ने उनको सोचले सहकारी ऐनको प्रस्ताव गर्न प्रेरित ग¥यो । तर, उनको सरकार अपदस्त भएपछि ऐन कार्यान्वयन हुन सकेन । लोकतान्त्रिक समाजवादबारे उनको विचार प्लेटोको द रिपब्लिकदेखि माक्र्कसवादी सिद्धान्तसम्म फैलिएको थियो । उनले उत्पादनका साधनमाथि श्रमिक वर्गको स्वामित्व हुनुपर्ने विचारलाई समर्थन गर्ने गर्थे । सहकारी प्रणालीलाई समाजवादतर्फको यात्राको आधार मान्दै, उनले सामाजिक, आर्थिक, र सांस्कृतिक क्षेत्रमा समानता ल्याउन सहकारीको महत्वलाई बुझेर नै इजरायली मोडेलको सहकारी अभियान अगाडि बढाउनका लागि आफ्नो कार्यकालमा निर्देशनात्मक अभिव्यक्ति समेत दिएका थिए । विपी कोइरालाको विचार र प्रेरणा आज पनि समाजवाद र सहकारी आन्दोलनका लागि मार्गदर्शक बनेकाले यो लेख तयार गरिएको हो ।
समाजशास्त्र र मनोविज्ञानमा बढी रुची राख्ने र कलम चलाउने भए पनि विपीले दर्शन शास्त्र र ऐतिहासिक विकास क्रमका बारेमा प्लेटो अरस्तु लगायतका विषयमा विश्लेषण गर्ने गर्थे । विपीको समयका समकालिन नेताहरुले १९औं शताब्दीको दर्शन शास्त्र, अर्थशास्त्र र समाज शास्त्रको विकास, साथै सहकारी र समाजवादी विचार धाराको उदयका विषयलाई अध्ययनको विषय बनाएको देखिन्छ । जर्मनी दर्शन शास्त्रका लागि उर्वर भूमि थियो, जहाँ हेगेल र फायरबाख जस्ता दार्शनिकहरूले गहिरो प्रभाव पारेका थिए । डेभिड रिकार्डो र एडम स्मिथका रणनीतिक अर्थशास्त्रले पनि ठूलो भूमिका खेलेका थिए । यी सबै विषयमा विपी कोइरालाको रुची देखिन्थ्यो ।
१९औं शताब्दीको जर्मनी दर्शनको केन्द्र थियो, जहाँ हेगेलको द्वन्द्ववाद र फायरबाखको भौतिकवाद जस्ता सोचहरूले विश्व दर्शन शास्त्रलाई ठूलो प्रेरणा दिएको थियो । यी दार्शनिकहरूमार्फत विकास भएका विचारले राजनीतिक, सामाजिक र आर्थिक सोचमा गहिरो प्रभाव पार्नु स्वभाविक नै थियो । जर्मन दर्शन शास्त्रले तत्कालीन समाजका चुनौतीहरूको उत्तर खोज्ने नयाँ मार्गहरू प्रस्तुत गरेको पाइन्छ । यस कालखण्डमा डेभिड रिकार्डो र एडम स्मिथका रणनीतिक अर्थ शास्त्रीय दृष्टिकोणहरूले अर्थ शास्त्रमा नयाँ युगको सुरुवात गरेका थिए । यी विचारहरूबाट प्रेरित हुँदै, फ्रान्सका सेन्ट साइमन र चाल्र्स फुरिएरले समाजवादी अवधारणा विकास गरेका थिए भने बेलायतका रबर्ट ओवेनले सहकारी र समाजवादी अवधारणाको विकास गरेका थिए । ओवेन विशेष रूपमा सहकारी संस्थाहरूको विकासका प्रवर्द्धक थिए, जसले श्रमिकहरूको जीवनस्तर सुधार गर्ने योजनाहरू अघि सारेका थिए ।
सहकारी अवधारणाले “सामूहिक स्वामित्व र साझा प्रयास” का सिद्धान्तहरूमा आधारित भएर आर्थिक र सामाजिक न्याय स्थापनाको प्रयास गर्यो । यो अवधारणाले समाजवादी संरचनाको जग निर्माण गर्न महत्वपूर्ण योगदान गर्यो, जहाँ सहकारी संस्थाहरूलाई आर्थिक असमानता हटाउने साधन मानिन्थ्यो । १८औं शताब्दीको अन्त्यतिर भएको फ्रान्सेली राज्यक्रान्तिले युरोपभरि मानव अधिकार र समानताको भावना फैलायो । “स्वतन्त्रता, समानता, र भ्रातृत्व” भन्ने नाराले समाजमा वर्गीय भेदभाव अन्त्य गर्ने सोचको जग खडा गर्यो । क्रान्तिको प्रभावले रोबर्ट ओवेन, एफ. डब्ल्यू. रैफाइसेन, र विलियम थोम्पसन जस्ता व्यक्तिहरूलाई सहकारी प्रणाली मार्फत समाजलाई न्यायपूर्ण बनाउने दिशामा अघि बढ्न प्रेरित गर्यो ।
त्यतिबेलाका नेपालका सम्माननीय नेता विपी कोइरालाले युरोपमा विकसित हुँदै गएको समाजवादी अवधारणालाई आत्मसात् गर्दै सामाजिक न्याय र लोकतन्त्रलाई एकसाथ अघि बढाउने प्रयास गरेको देखिन्छ । उनले सहकारी प्रणालीलाई आर्थिक समानताको एउटा महत्वपूर्ण साधनका रूपमा अवलम्बन गरे पनि त्यसलाई कार्यान्वयन गर्न पाएनन् । सन १९६० मा भएको नेपालकै पहिलो आमनिर्वाचनमा नेपाली कांग्रेसले दुई–तिहाइ बहुमत हासिल गर्यो ।
यस सफलताले विपी कोइरालालाई नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीको रूपमा स्थापित गर्यो । सामाजिक न्याय, आर्थिक स्थिरता र लोकतान्त्रिक मूल्यहरूको विस्तार गर्न सहकारी प्रणालीले महत्वपूर्ण भूमिका खेल्न सक्छ भन्नेमा उनको बुझाई प्रधानमन्त्री भएपछि विकास भएको थियो । सहकारी संस्थाहरूले समाजका सबै वर्गलाई आर्थिक, सामाजिक, र सांस्कृतिक रूपमा सवल बनाउन मद्दत पु¥याउँछ भन्नेमा इजरायको भ्रमणपछि वि.पी. कोइराला विश्वस्त भएको पाइन्छ । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वि.पी. कोइरालाले २०१७ सालमा संयुक्त राष्ट्र संघीय महासभामा सहभागी हुने क्रममा अमेरिका पुग्दा विश्वका विभिन्न देशका नेताहरूसँग विचार आदान–प्रदान गर्ने अवसर पाए । महासभा सकिएपछि उनी इजरायल भ्रमणमा निस्किए । त्यहाँको आर्थिक र सामाजिक व्यवस्थालाई नजिकबाट अध्ययन गर्ने मौका पाए । यो भ्रमणले उनलाई सहकारी व्यवस्थाको प्रभाव र सफलताको प्रत्यक्ष अनुभव गरायो, जसले नेपालमा सहकारी संरचनाको विकास गर्ने प्रेरणा दिएको देखिन्छ ।
इजरायलको सहकारी संरचना र विपी कोइरालाको प्रभाव :
इजरायलको अर्थतन्त्रको आधार सहकारी प्रणाली थियो । त्यहाँका “किबुज” र “मोसाभ” नामक सहकारी संस्थाहरूले कृषि, आवास, र मानव आवश्यकताका क्षेत्रहरूमा महत्वपूर्ण योगदान गरेका थिए । यी संस्थाहरूका सदस्यहरूमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि लिएर विभिन्न पेशा र व्यवसायका नागरिकहरू समेत थिए । सहकारी सिद्धान्त र नियमभित्र रहेर त्यहाँका नागरिकहरूले गर्ने समर्पित योगदानले विपी कोइरालालाई गहिरो रूपमा प्रभावित गर्यो ।
इजरायलको श्रमिक महासंघ हिस्तादुत सहकारी अवधारणाबाट प्रेरित थियो । यस महासंघको संरचना र कार्यक्रमको विस्तृत अध्ययनपछि कोइरालाले नेपालमा पनि इजरायली मोडेल अनुसार सहकारी संरचना (इजरायली मोडेल) को विकास गरेर आर्थिक, सामाजिक, र सांस्कृतिक रूपमा समानतामूलक समाज निर्माणको सोच लिएर फर्किएको हुनसक्छ ।
जनसेवा सिनेमा हलमा ऐतिहासिक सम्बोधनः
नेपाल फर्किएपछि विपी कोइरालाले काठमाडौँको जनसेवा सिनेमा हलमा एउटा ऐतिहासिक सभा आयोजना गरे । अहिले त्यो हल भएको ठाउँमा विशाल बजार छ । त्यो सिनेमा हलमा मैले पनि सिनेमा हेरेको छु । काठमाडौंको स्थानीयवासीलाई त्यो हलको विषयमा ज्ञात छ नै । त्यो सभामा सबै मन्त्रालयका सचिवहरू, योजना आयोगका पदाधिकारीहरू तथा सदस्यहरु, प्राध्यापकहरू, शिक्षकहरू र विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तित्वहरूलाई आमन्त्रण गरिएको थियो । सभामा उनले इजरायलको सहकारी मोडेलको अध्ययनका आधारमा नेपालमा सहकारी संरचना विकासको खाका तयारीका लागि निर्देशन दिएका थिए । उनले सहकारीका विषयमा बोलेका धेरै प्रसंग नभए पनि यो एउटा महत्वपूर्ण प्रसंग नै काफी छ ।
“नेपालको आर्थिक, सामाजिक, र सांस्कृतिक क्षेत्रको विकास गर्न इजरायली मोडेलको सहकारी संरचनालाई अगाडि बढाउनुपर्छ । त्यसका लागि ऐन, कानुन, र नीति नियम निर्माण गरेर सहकारी अभियानलाई अघि बढाउन सबै जिम्मेवार व्यक्ति र संस्थाहरूले सहयोग पुर्याउनुहुन निर्देशानात्मक अनुरोध छ ।” यस विचारले सहभागी सबैलाई प्रेरित गर्यो, र उनको निर्देशनात्मक अनुरोधले व्यापक प्रशंसा पनि पायो । विपी कोइरालाले सहकारी अभियानलाई संस्थागत गर्न संसदमा सहकारी ऐन प्रस्ताव गरे । यो नेपालमा सहकारी आन्दोलनलाई संस्थागत गर्न पहिलो ठोस प्रयास थियो । तर, दुर्भाग्यवश, २०१७ साल पौष १ गते तत्कालीन राजा महेन्द्रद्वारा जननिर्वाचित सरकारलाई अपदस्त गरी निर्दलीय निरंकुश पञ्चायती शासन व्यवस्था लागू गरेपछि सहकारी अभियानको प्रगति अवरुद्ध भयो । परिणामतः पञ्चायती व्यवस्थाका समयमा सहकारी क्षेत्रले अन्तर्राष्ट्रिय सहकारी आन्दोलनका सिद्धान्तहरूसँग मेल खानेगरी स्वतन्त्र र स्वायत्त रूपमा अघि बढ्न पाएन । सहकारीको वास्तविक मर्म र भावनामा आधारित कार्यक्रम सञ्चालन हुन सकेन ।
लामो संघर्षपछि प्रजातन्त्र पुनस्थापना भयो र २०४८ सालमा सहकारी ऐन लागू भएपछि मात्र सहकारी क्षेत्रले नयाँ गति लियो । यो ऐनले सहकारीलाई स्वायत्तता र स्वतन्त्रताकासाथ अघि बढ्ने अवसर दिएको थियो । यसले नेपालमा सहकारी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित सहकारी सिद्धान्तहरूसँग मिल्नेगरी अघि बढ्ने आधार तयार ग¥यो । विपी कोइरालाको इजरायल भ्रमणले नेपालमा सहकारी संरचनाको महत्वबारे गहिरो चेतना ल्याएको थियो । उनले नेपाललाई आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणतर्फ लैजान सहकारीलाई आधारस्तम्भ मानेर ऐन नियमका विषयमा सबैलाई बोलाएर सभा गर्नु ऐतिहासिक घटना थियो । यद्यपि राजनीतिक अस्थिरताले उनका योजनाहरू तत्काल कार्यान्वयन हुन सकेनन्, २०४८ सालको सहकारी ऐनले उनका विचारलाई पुनर्जीवित गर्दै नेपालको सहकारी आन्दोलनलाई नयाँ उचाइमा पुर्याएको मान्नुपर्छ ।
विपी कोइरालासँग मेरो पहिलो भेट र संवादः
मेरो कोइराला परिवारसँगको सम्बन्ध २०११ सालदेखि नै थियो । मेरो जेठी दिदीको विवाह दुम्जाका कृष्णप्रसाद कोइरालासँग भएको थियो । त्यसैगरी, मेरा दाजु खिलप्रसाद र उद्धवप्रसादले पनि कोइराला परिवारकै छोरीसँग विवाह गरेका थिए । मेरो काका भवानीशंकर बडालले पनि कोइराला परिवारकै छोरीसँग विवाह गरे । यसरी बाल्यकालदेखि नै कोइराला परिवारसँगको पारिवारिक सम्बन्धले हाम्रो कोइराला परिवारसँग घनिष्ठता थियो । मेरो सबैभन्दा निकटको साथी शम्भु बडालका आमा पनि कोइराला परिवारकै सदस्य थिइन् । राजनीतिक विचारमा फरक भए पनि पारिवारिक नाता र सम्बन्धले कोइराला परिवार नजिक थियो ।
भेटघाटको प्रसंगः
२०२४ सालमा जुगेडी संघर्षमा व्यापक दमन भयो । त्यहाँ सन्तबहादुर चेपाङ र दशरथ चेपाङ सहिद भए भने पदमबहादुर गुरुङ र टेष्टबहादुर गुरुङसहित धेरै नेता र कार्यकर्ता गिरफ्तार भए । त्यसैगरी, २०३५ साल साउन ७ गते नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको दिल्लीमा निधन भयो । नेपाली जनताको चाहना विपरीत पञ्चायती शासनले उनको पार्थिव शरीर नेपाल ल्याउन रोकेको थियो । मृतक शरीर मात्र होइन, उनको अस्थीसमेत नेपाल ल्याउन नदिएको पीडा नेपाली जनताले झेल्नुपर्यो ।
२०३५ साल माघ २४ गते सेन्टर जेलमा कैदी रहेका भीमनारायण श्रेष्ठ र क्याप्टेन यज्ञबहादुर थापालाई सुरक्षाकर्मीले रातारात जेलबाट निकालेर हेटौंडाको चुरे जंगलमा हत्या गरे । यस्तो क्रूर घटनाले राजनीतिक विरोधलाई झन् चर्काएको थियो । पञ्चायती शासनले दमन चर्काउँदै गर्दा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका विभिन्न घटकबीच सहकार्यको आवश्यकता महसुस भइरहेको थियो । दमनविरुद्ध संयुक्त आन्दोलनमार्फत लोकतन्त्र स्थापना गर्ने प्रस्ताव लिएर २०३५ साल माघको अन्त्यतिर नेपाली कांग्रेसका सभापति विपी कोइरालासँग छलफल गर्ने निर्णय गर्यौंं । भेटघाटको व्यवस्था नेपाली कांग्रेसका स्थानीय नेता योगानन्द वैद्यले गरेका थिए । विपी कोइराला जयबागेश्वरीमा तारणीप्रसाद कोइरालाको छोरा ज्योति कोइरालाको घरमा बस्थे ।
म, शम्भु बडाल र योगानन्द वैद्य उनलाई भेट्न गयौं । त्यो घरको आँगन र बरण्डामा आफन्त, नातागोता, र राजनीतिकर्मीहरूको जमघट थियो । हामी भने सीधै उनी बसेको कोठामा गयौं । उनले हामीलाई स्वागत गर्दै बस्न संकेत दिए । साधारण पोशाकमा, दुब्लो–पातलो तर गरीमामय व्यक्तित्वका विपी कोइरालालाई देख्दा हामी प्रेरित भयौं । उनको सरलता र सौम्य व्यक्तित्वले हामीलाई सहज अनुभूति गराएको म अहिले पनि महसूस गरिरहेको छु । विपीसँगको संवादमा हामीले पञ्चायती दमनका घटनाहरू उल्लेख गर्दै भर्खरै भएको भीमनारायण श्रेष्ठ र यज्ञबहादुर थापाको हत्याको कुरा उठायौं । हामीले यस्तो अवस्थालाई तोड्न नेपाली कांग्रेस र कम्युनिस्टहरूको संयुक्त संघर्ष आवश्यक रहेको प्रस्ताव राख्यौं । लोकतन्त्रलाई राष्ट्रिय मुद्दाको रूपमा अघि बढाउन सहकार्य अपरिहार्य रहेको तर्क गरेका थियौं । विपीले हामीले राखेका कुरा ध्यानपूर्वक सुने । उनको शारीरिक हाउभाउ र भावनात्मक प्रतिक्रिया सकारात्मक थियो । जसले हाम्रो भेटलाई सार्थक भएको महसुस गराएको थियो ।
विपीको प्रेरणादायी उपहारः
भेटघाटपछि विदा हुँदा विपी कोइरालाले मलाई एउटा पुस्तक दिए । झण्डै ४०० पृष्ठ लामो उक्त पुस्तक अंग्रेजी भाषामा थियो र युरोपेली लोकतन्त्र र समाजवादसँग सम्बन्धित थियो । त्यो पुस्तकले मेरो राजनीतिक सोचलाई अझ प्रस्ट पार्न मद्दत गरेको थियो । यो लेख तयार गर्ने क्रममा त्यो पुस्तक खोजें तर भेटाइनँ । विपी कोइरालासँगको यो पहिलो भेट मेरो जीवनको अविस्मरणीय क्षण थियो । उनीसँगको संवादले मात्र होइन, उनले देखाएको सरलता, नेतृत्व कौशल र विचारको स्पष्टताले मलाई प्रभाव पारेको थियो । लोकतन्त्र र समाजवादप्रति उनको प्रतिबद्धता र सहकार्यको लागि उनको सकारात्मक दृष्टिकोण पाएको थिए । उसो त, वि.पी. कोइरालाले सहकारीको विषयमा धेरै बोलेको पाइदैन । पुस्तक, लेख आलेखमा पनि उल्लेख गरेको भेटाइनँ । तर उनका विचार र दर्शन सामाजिक न्याय र समानताको पक्षमा थिए । कोइरालाको राजनीतिक सोंचमा सहकारी र समाजवादी सिद्धान्तको महत्व झल्किन्थ्यो । यद्यपि उनले यसलाई सीधा रूपमा आफ्नो प्रमुख प्राथमिकताका रूपमा प्रस्तुत गरेका पाइदैन । उनका विचारहरूमा समानता र समृद्धि ल्याउने दिशामा सहकारी संस्थाहरूको भूमिका महत्वपूर्ण छ । वि.पी. कोइरालाले आप्mनो जीवनमा प्रायः समय रचनात्मक र समावेशी राजनीतिक प्रणालीको पक्षमा विताए । जसमा सामूहिक शृङ्ख्लामा काम गर्न सक्ने संस्थागत संरचनाहरूलाई प्रोत्साहन दिइएको थियो ।
प्रजातान्त्रिक समाजवादबारे विपीका विचारहरुः
विपी कोइराला प्रजातान्त्रिक समाजवादका प्रखर समर्थक थिए । उनका विचारले नेपाली राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा सहयोग गर्ने स्पष्ट छ । उनले लोकतन्त्र र समाजवादलाई परिपुरक मानेका छन् । उनले प्रजातन्त्र नागरिकको स्वतन्त्रता, विचार अभिव्यक्ति र मानव अधिकार सुनिश्चित गर्ने माध्यम हो भने समाजवाद आर्थिक समानता र सामाजिक न्यायको माध्यम मानेका छन् ।
प्रजातान्त्रिक समाजवादको बारेमा विपी कोइरालाका केही महत्वपूर्ण विचार :
– लोकतन्त्र बिना समाजवादले निरंकुशताको रूप लिन सक्छ, र समाजवाद बिना प्रजातन्त्र असमानताको साधन मात्र बन्न सक्छ ।
– समाजवाद भनेको वर्ग संघर्षबाट सिर्जित घृणा होइन, यो सामाजिक एकता र सहअस्तित्वबाट प्रेरित मानवतावादी सिद्धान्त हो ।
– जसलाई समाजवाद र साम्यवादबारे बुझ्न मन छ, त्यस्ता व्यक्तिहरूले प्लेटोको द रिपब्लिक पढ्न जरुरी छ ।
युरोपमा औद्योगिक क्रान्तिपछि हातले गर्ने काम मेसिनले गर्न थालेपछि श्रमिकहरूको रोजगारी गुम्न थाल्यो । त्यसका कारण श्रमिकहरूले मेसिनलाई आफ्नो मुख्य दुश्मन ठानेर मेसिन तोड्ने आन्दोलन सुरु गरे, जसलाई तुडाइट आन्दोलन भनियो ।
मेसिन तोडेर समस्या समाधान हुँदैन । उत्पादनका साधनमाथि उत्पादक शक्ति अर्थात् श्रमिकहरूको स्वामित्व र नियन्त्रण हुनुपर्छ । त्यसका लागि प्रयास गर्नुपर्छ । इतिहासलाई क्रमबद्ध रूपमा अध्ययन नगरिकन वर्तमानको दिशा तय गर्न कठिन हुन्छ । आदिम युगमा वर्गको अवधारणा थिएन । त्यसबेला वर्ग संघर्षको सवाल नै उठ्दैनथ्यो । कृषि र पशुपालन व्यवसाय सुरु भएपछि उत्पादनका साधनमाथि व्यक्तिको स्वामित्व र नियन्त्रणको सुरुवात भयो । यसैका कारण समाजमा वर्ग विभाजन भयो, जहाँ एक समूह उत्पादनका साधनको मालिक भयो र अर्को समूह श्रम गर्न बाध्य भयो ।
यस असमानताको अन्त्य गर्दै समाजवादी समाजको आधार निर्माण गर्न कालमार्क्रसले आफ्नो दार्शनिक दृष्टिकोण प्रस्तुत गरे । मानिसहरूमा अभाव, गरिबी, विभेद, मान–अपमान, हुने र नहुने अवस्थाले सहानुभूतिको भावना उत्पन्न गराउँछ, र यही मनोवैज्ञानिक अवस्थाबाट समाजवादको विचार जागृत हुन्छ । समाजवादी विचारधारा सुरुमा रबर्ट ओवेन र सेन्ट साइमनजस्ता चिन्तकहरूले प्रस्तुत गरे । तर, तिनले व्यावहारिक रूप धारण गर्न सकेनन् । कार्लमाक्र्सले समाजवादी समाज निर्माणको भिन्न दृष्टिकोणबाट तर्क र व्याख्या गरे । माक्र्सले असमानतालाई कम गर्दै उत्पादनका साधनमाथि समाजको स्वामित्व स्थापनाको माध्यमबाट समाजवादी समाज निर्माण गर्न जोड दिए ।
सन्दर्भ सामाग्रीहरुः
विश्वेश्वरप्रसाद कोइरालाः राजा, राष्ट्रियता र राजनीति ,संकलन र सम्पादनः गणेशराज शर्मा, जगदम्बा प्रकाशन, २०६३ विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृतान्त, संकलनः गणेशराज शर्मा : जगदम्बा प्रकाशन, २०५५ होमनाथ दाहालसँगको संवाद र छलफलबाट प्राप्त विपीले सहकारीका विषयमा दिएको अभिव्यक्तिको प्रसंग सहकारी सिद्धान्त र प्रयोग, लेखकः केशव बडालm प्रकाशनः २०६१ नेपाली समाजको ऐतिहासिक, राजनीतिक, र सहकारी आन्दोलनको पृष्ठभूमि समावेश भएका विभिन्न लेखरचनाहरु