 
                                                                    पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका–४ छहरामा ‘साहित्य संगम’ कार्यक्रम हुने भएको छ । भैरब नवदीय उच्च माविका पूर्व विद्यार्थी संस्थाको आयोजनामा २०८२ जेठ २३ गते ‘साहित्य संगम’ हुने भएको हो ।
संस्थाको शनिबार बसेको बैंठकले भैरब नवदीप मावि छरामा जिल्लाभरका माविमा अध्ययनरत विद्यार्थीहरुको सहभागितामा ‘साहित्य संगम’ कार्यक्रम आयोजना गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष एवं पूर्व डिआईजी रामबहादुर कार्की जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुको उत्सवका रुपमा कार्यक्रम गरिने छ । विद्यार्थीहरुलाई साहित्यप्रति रुची जगाउन, साहित्यको संरक्षण, संवद्र्धन र विस्तार गर्न कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष कार्कीले बताए । जहाँ विद्यार्थीहरुबिच कविता प्रतियोगिता हुने छ । प्रतियोगितामा विद्यार्थीहरुलाई कविता लेखन र वाचनमा प्रतिस्पर्धा गराइने छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने प्रतिस्पर्धीलाई क्रमशः १० हजार, ८ हजार र ६ हजार नगद र प्रमाणपत्र प्रदान गरिने छ ।
यस्तै कार्यक्रममा साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका गाउँपालिका भित्रका साहित्यकारहरुलाई सम्मान समेत गरिने संस्थाका अध्यक्ष कार्कीले एनजेडीलाई जानकारी दिए । उनले भने ‘यहाँका थुप्रै साहित्यकारहरु हुनुहुन्छ, नेपाली साहित्य क्षेत्रमा उहाँँको योगदान महत्वपूर्ण छ, त्यसैले योगदानको कदर गर्दै उहाँहरुलाई सम्मान गर्न लागेका हौं ।’ सोही दिन कानुन, व्यवस्थापन, विज्ञान, आइटी र वन विद्यामा करियर काउन्सिलिङ, पुस्तक प्रदर्शनी, सांस्कृतिक कार्यक्रम, साहित्यकारहरुबाट रचनावाचन समेत गरिने छ ।
बैठकमा संस्थाका सल्लाहकारहरु गोविन्द रायमाझी, झलक रायमाझी, रैनादेवी छहरा गाउँपालिकाका निवर्तमान प्रवक्ता विष्णु प्रसाद पोखरेल, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रीय उपाध्यक्ष नलबहादुर राना, समाजसेवी देवीप्रसाद पौडेल, संस्थाका उपाध्यक्षहरु टोपलाल शर्मा, नित्यानन्द पोखरेल, महेश बराल, महासचिव टिकाराम पोखरेल, पदाधिकारी, सदस्यहरुबिच व्यापक छलफल भएको थियो ।


 
                                         
                                         
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    