
पाल्पा, जिल्लाको रैनादेवी छहरा गाउँपालिका –३, भुवनपोखरीको छचुवाका आगलागी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरिएको छ । गाउँपालिकाले आगलागीबाट घरगोठ जलेर नष्ट भई खुला आकासमुनी बसेका यहाँका कुमाल परिवारलाई तत्कालका लागि एक/ एक बोरा चामल, नुन, तेल, दाल तरकारी तथा आवश्यक त्रिपाल लगायतका राहत सामग्रीहरु वितरण गरेको हो ।
कुमालवस्तीमा आगलागी हुदा ६ घरगोठ जलेर पूर्णरुपमा नष्ट भएका थिए । आगलागीबाट छचुवाका धन बहादुर कुमाल, पदम बहादुर कुमाल, द्धन्द्धबहादुर कुमाल, हुम बहादुर कुमाल, गोपाल कुमाल र रिता कुमालको घर जलेर नष्ट भएको थियो । आगलागीबाट घरभित्र रहेका अन्नपात, लुगाफाटा, केही नगद सहितका महत्वपूर्ण काजजातहरु जलेर नष्ट भएको वडा अध्यक्ष प्रदीप पौडेलले बताए । प्रहरी तथा पालिकाबाट क्षतिको विवरण संकलन गरेर मुचुल्का गरी सिफारिससहित थप राहतको लागि जिल्ला पठाएको वडा अध्यक्ष पौडेलले बताए ।
आगलागी भएपछी खुला आकास मुनी बस्न बाध्य भएका पिडित परिवारको लागि गाउँपालिकाले घरमै पुगेर आवश्यक राहत सामग्रीहरु वितरण गरेको हो । गाउँपालिकाका अध्यक्ष रुक्माङ्खत भट्टराई आगलागी पिडितको घरमै पुगी राहत सामग्री वितरण गरेका हुन् । आगलागी पिडित कुमाल घरपरिवारको लागि गाउँपालिकासँगै विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सक्दो सहयोगले केही राहत मिलेको छ । अहिले तत्काल आवश्यक देखिएका सरसमानहरु सहितको राहत सामाग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष भट्टराईले बताए । पछी प्रहरीको मुचुल्का अनुसार क्षतिको आधारमा पालिकाले घर निर्माणको लागि सरसमानदेखी रकम समेत उपलब्ध गराउने उनको भनाई छ ।
आगलागी पिडित घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले पालिकासँगै अन्य पक्षबाट हुने सहयोगको लागि समन्वय गरिने पालिका अध्यक्ष भट्टराईले बताए । ‘आगलागीबाट हाम्रा सबै खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, र घरका अन्य सामान सबै जलेर नष्ट भए । हामीसँग खाने अन्न थिएन, ओत लाग्ने त्रिपाल पनि थिएन, दुुई÷चार दिन निकै दुःखले दिन वितायौं , अहिले पालिकाले दिएको राहत सामाग्रीले केही सहयोग मिलेको छ’ पिडित पदम बहादुर कुमालले भने । गर्मी महिना शुरु भएको, हावा हुरीको मौसम भएकाले पालिकाले वडा कार्यालय तथा वडामा रहेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालय संघ,संस्था तथा क्लव, आमा समुह, युवा समुह, बाल क्लवमार्फत आगालागी सम्बन्धी सचेतना अभियान सञ्चालन गर्ने पालिका अध्यक्ष भट्टराईले जानकारी दिए ।