![आज विश्व रेडियो दिवस, नेपालमा पनि मनाइँदै](https://mail.shittalpati.com/uploads/posts/1644721942-6xsng-1739421329.jpg)
पाल्पा, विश्व रेडियो दिवस आज नेपालमा पनि मनाइँदै छ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो ।
रेडियोलाई विश्वभर अहिले पनि गतिशिल सञ्चार माध्यमको रुपमा लिने गरिन्छ । रेडियोलाई महत्वपूर्ण सञ्चार माध्यमको रुपमा सम्मान गर्न, प्रसारकबीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र सामुदायिक रेडियो मार्फत सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो । नेपालमा बिक्रम सम्बत २००३ सालमा काठमाडौंमा रेडियोको प्रशारण सुरु भएपनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । नेपालमा २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । नेपालजस्तो साक्षरता तथा शिक्षाको पहुँच कम भएको देशमा रेडियो प्रभावकारी माध्यमका रुपमा रहने गरेका छन् । २०५४ सालदेखि निजी क्षेत्रले समेत एफएम रेडियो सञ्चालन गर्न पाउने कानुन बनेपछि २०५४ साल जेठ ९ गते दक्षिण एसियामै पहिलो निजी क्षेत्रको स्वतन्त्र रेडियोका रुपमा रेडियो सगरमाथा प्रसारण सुरु भयो । अहिले भने देशका विभिन्न ठाउँमा खोलिएका रेडियोको संख्या हजारौँ पुगिसकेका छन् । पहिलो पटक सन् १९१९ को अक्टोबरमा अमेरिकामा रेडियो खुले पनि विश्वमा औपचारिक रुपमा रेडियो प्रसारण अमेरिकाको पेन्सिलभेनिया सहरबाट सन् १९२० मा भएको मानिन्छ । सजिलो र कम खर्चिलो सञ्चारमाध्यम भए पनि प्रविधिको विकासका कारण पछिल्लो समयमा सहरी क्षेत्रमा रेडियोको व्यापकता खुम्चिँदै गएको छ । अहिले पनि गाउँघर र दूरदराजमा रेडियो निर्विकल्प सञ्चारको माध्यम बनेको छ । नयाँ प्रविधि र माध्यम बिस्तार भएपनि नेपालमा समेत रेडियोको सान्दर्भिकता कायमै रहेको कतिपयले अध्ययन अनुसन्धानले देखाएका छन् ।
इन्टरनेट नेपालीका लागि अझै सहज भइनसकेको र पत्रिका, टेलिभिजनको पहुँच पनि आम नेपालीमाझ विस्तार भइनसकेको र भए पनि महँगो पर्न जाने भएकाले नेपालको भूबनोट र गरिबीको हेक्का राख्दा रेडियो नै वैकल्पिक र सहज माध्यम हो । नेपालको हकमा इन्टरनेट र मोबाइल फोनको बढ्दो प्रयोगले परम्परागत सञ्चार माध्यमको उपयोगमा कमी आउन थालेको विभिन्न सर्वेक्षणले देखाएका छन् । पत्रिका र रेडियो त इन्टरनेटको व्यापक विस्तारपछि खुम्चिनुपर्ने अवस्थामा पुगेको आभास भइसकेको छ ।