Shittalpati
प्रेस युनियन पाल्पाले माझी समुदायमा पुगेर गर्यो  अन्तरक्रिया

पाल्पा, नेपाल प्रेस युनियन पाल्पा शाखाले माझी समुदायमा पुगेर अन्तरक्र्रिया कार्यक्रम गरेको छ ।  युनियनले शनिबार तानसेन नगरपालिका– १३ छेर्लुङस्थित माझी समुदायमा पुगेर कार्यक्रम गरेको हो । 

कार्यक्रममा माझी समुदायका नागरिकहरुले वर्षौदेखि नागरिकता नपाएको, घर जग्गा भए पनि आफुुहरुको नाममा नरहेको, माछा मार्ने र बोट चलाएर जिविकोपार्जन गर्दै आएको पेशा संकटमा परेको,बालविवाह चुनौतिको विषय बनेको, बाटोघाटोको समस्या रहेको बताएका थिए । उनीहरुले माझी समुदायका समस्याहरुलाई उजागर गरिदिन पत्रकार र सम्बन्धित निकायलाई आग्रह गरे । स्थानीय मोमबहादुर माझीले आफुहरुका समस्या समाधान गर्नका लागि पटक–पटक सम्बन्धित निकायलाई आग्रह गरे पनि सुुनुुवाई नभएको बताए । माया माझीले अहिलेसम्म पनि आफुले नागरिकता नपाएको  गुुनासो गरिन । उनले पटक–पटक नागरिकताका लागि प्रशासन धाए पनि पाउन नसकेको बताईन् । कमला माझीले नागरिकता भए पनि आफुले प्रयोग गर्दै आएको जग्गाको नामसारी हुन नसकेको गुुनासो गरिन् । कार्यक्रममा दिलकुमारी माझी, भक्तबहादुर माझी लगायतले आफ्ना वर्षोदेखिका समस्या जस्ताको तस्तै भएकाले समाधनका लागि पहल गरिदिन पत्रकार, राजनीतिक दल र जनप्रतिनिधिसँग आग्रह गरे ।  

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले माझी समुुदायबाट आएका गुनासा र समस्याहरुलाई अक्षरंश कार्यान्वयन गराउन काँग्रेसले पहल गर्ने बताए । उनले कुनै पनि नागरिकले  नागरिकता पाउनुपर्ने नैसर्गिक अधिकार भएकाले त्यसबाट बञ्चित हुन नहुने भन्दै त्यसका लागि राज्यले ध्यान दिनुपर्ने उल्लेख गरे । प्रमुख अतिथि समेत रहेका श्रेष्ठले घर जग्गाको समस्या भूमिका आयोगमार्फत समधान गरिने बताए । सभापति श्रेष्ठले माझी समुदायबाट एसइईमा पास भएका एक जनालाई काँग्रेसको सिफारिसमा कक्षा १२ सम्म अध्ययनको लागि निशूल्क गर्ने व्यवस्था मिलाइदिने समेत प्रतिवद्धता व्यक्त गरे ।  नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष माधव अर्यालले माझी समुदायका समस्या समाधानका लागि  पत्रकारिताको माध्यमबाट पहल गर्ने बताए । उनले माझी समुुदायमा वर्षौ अघि आएर रिपोर्टिङ गरेको भन्दै वस्तीमा खरका छाना परिवर्तन भए तर नागरिकका गुनासा अहिले पनि उस्तै रहेको उल्लेख गरे ।

तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आफुले पहिलेदेखि नै यहाँका नागरिकहरुको नागरिकता र जग्ग व्यवस्थापनका विषयमा पहल गर्दै आएको बताए ।  उनले आगामी दिनमा पनि यहाँका समस्याहरु समाधानमा  नगर सरकार प्रतिवद्ध भएर लाग्ने बताए । नगर प्रमुख  श्रेष्ठले भने‘ हामीहरु  जनताको सेवाका लागि आएका हौं, हजुरहरुले  समस्या राख्न हिच्कीच्याउन हुँदैन , हामी समाधनका लागि तयार गछौं ।’ कार्यक्रममा नेपाल प्रेस युनियन पाल्पाका संस्थापक सभापति एवं काँग्रेसका जिल्ला उपसभापति झपेन्द्र गहिरेले माझी समुदायका समस्या समाधनमा आफुहरु लाग्ने बताए । उनले काँग्रेस र नेपाल प्रेस युनियनको  सिफारिसमा  यस समुदायबाट एसईई दिएका विद्यार्थीहरु मध्येबाट एक जनालाई कक्षा १२ सम्म अध्ययनको लागि केन्द्रबाट व्यवस्था मिलाउने उल्लेख गरे । कार्यक्रममा नेपाल ट्रेड युुनियनका जिल्ला सभापति निलकण्ठ देवकोटा, तानसेन –१३ का वडा अध्यक्ष टुुक प्रसाद भट्टराई, नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष मुक्तिप्रसाद न्यौपाने, एकिकृत समाजवादीका वडा अध्यक्ष शेषकान्त भट्टराई, सामाजिक व्यक्तित्व रेवन्त बहादुर पाण्डे, सारदा माविका अध्यक्ष देवीप्रसाद भट्टराई  लगायतले माझी समुदायका समस्याहरु समाधानमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्ने बताए ।  

कार्यक्रम संयोजक तथा नेपाली काँग्रेसका वडा सभापति किशोर भट्टराईले माझी समुदायका समस्याहरुलाई मिडियामार्फत उजागर गरी सम्बन्धित निकायलाई घच्घच्याउने उद्देश्यले कार्यक्रम गरिएको बताए । सोही अवसरमा  युनियनले पत्रकार महासंघका निर्वाचित सम्पूर्ण पत्रकारहरुलाई सम्मान समेत गरेको थियो । युनियनकी अध्यक्ष मन गहिरेको अध्यक्षता, माझी समुदायका अगुवा मोम बहादुर माझीको स्वागत, युनियनका उपाध्यक्ष रामचन्द्र रायमाझीको धन्यवाद ज्ञापन र सहसचिव सन्तोष गहतराजको सञ्चालनमा कार्यक्रम भएको थियो । 
 

प्रकाशित मिति: शनिबार, माघ १९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update