Shittalpati
पाल्पामा ११ महिनामा ७४ जनाले गरे आत्महत्या

पाल्पा, जिल्लाको रामपुर नगरपालिका–८ रातमाटाकी २२ वर्षीया मनिषा श्रेष्ठले गत जेठ ३० मा आफ्नै घरको कोठामा पंखमा पासो लगाई आत्महत्या गरिन् । त्यसअघि माथागढीका एक पुरुषले पनि डोरीको पासो लगाई आत्महत्या गरे । पाल्पामा आत्महत्या घटनाका यी केही उदाहरण हुन् । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आर्थिक वर्षको हालसम्म ७४ जनाले आत्महत्या गरिसकेका छन् ।

तीमध्ये ५८ जनाले झुण्डीएर आत्महत्या गरेका छन् । १५ जनाले विष सेवन र १ जनाले नदीमा हाम फालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा छ । २०८०/११/७ देखि २०८१/०९/२९ गते सम्ममा १८ वर्षदेखि ६० वर्षमाथि उमेर समूहका उक्त व्यक्तिहरुले आत्म हत्या गरेका हुन् । आत्महत्या गर्ने मध्ये सबै भन्दा धेरै ६० वर्ष भन्दा माथि उमेर समूहसम्मका रहेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताए । उनका अनुसार ६० वर्ष भन्दा माथिका १७ जनाले आत्महत्या गरेका हुन् । जसमा १० जनाले झुण्डीएर र ७ जनाले विषादी सेवन गरेर आत्महत्या गरे । यस्तै ३६–४५ वर्ष उमेर समूहका १६ जना, ४६–६० वर्षका १६, १९–२५ वर्षका १२ जना, २६–३५ वर्षका ७  र १८ वर्ष सम्मका ६ जनाले आत्महत्या गरेका छन् । आत्म हत्या गर्नुको पछाडि पारिवारिक बेमेल, सम्बन्धको अन्त्य, गरिबी, मानसिक रूपमा निकै कमजोर, मनोरोग, अत्यधिक मादक पदार्थ तथा लागू औषधको सेवन र वैदेशिक रोजगारीले निम्त्याएको अविश्वासका कारण आत्महत्या हुने गरेको  पाइन्छ ।

आत्महत्या सम्बन्धी समस्या यहाँको प्रमुख समस्याका रूपमा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक चन्दले बताए । यस्ता घटनालाई न्यूनीकरण गर्न स्थानीय जनप्रतिनिधि, स्थानीय सरकार, अभिभावकलगायत सरोकारवाला पक्ष सचेत हुनुपर्नेमा उनले जोड दिए । एसपी चन्दले भने ‘हामीले प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विद्यालयस्तरमा आत्महत्या सम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गर्ने गरेका छौं,तर यतिले मात्र हुँदैन गाउँ–गाउँमा सचेतनाका कार्यक्रमहरु पुर्‍याउन जरुरी छ ।’ यस्ता घटना  हुन नदिन सम्बन्धित व्यक्ति नै बढी संवेदनशील हुनुपर्ने उनको भनाई छ ।  चन्दले आत्महत्यालाई सामाजिक विकृति र समस्याका रुपमा लिएर जनचेतनामूलक कार्यक्रमलाई गाउँ/टोलसम्म पुर्‍याउनुपर्ने र  पारिवारिक सम्बन्ध बिग्रन र मनमुटाव कम गराउने कार्यक्रम ल्याउन आवश्यक रहेको उल्लेख गरे ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update