पाल्पा, १८ बैंकहरुले ब्याजदर स्थिर राखेका छन् । माघ महिनाका लागि २० मध्ये १८ बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा दिँदै आएको अधिकतम ब्याजदर यथावत् राखेका हुन् ।
नेपाल एसबीआई र कृषि विकास बैंकले भने ब्याजदर घटाएका छन् । नेपाल एसबीआईले पुसमा ६ प्रतिशत रहेको ब्याजदर माघका लागि अधिकतम ५ दशमलव ५ प्रतिशत कायम गरेको छ । यस्तै कृषि विकास बैंकले पुसमा ५ दशमलव ५७ प्रतिशत रहेको ब्याजदर माघका लागि ५ दशमलव ५१ प्रतिशत कायम गरेको छ । माघमा व्यक्तिगत मुद्दति निक्षेपमा सबैभन्दा धेरै ब्याजदर दिने बैंकमा एनएमबि र एनआईसी एसिया छन् । दुवै बैंकले ६ दशमलव ६ प्रतिशत ब्याजदर दिने भएका हुन् । आर्थिक वर्ष तेस्रो त्रैमासदेखि ब्याजदर केही परिवर्तन हुने अपेक्षा भए पनि बैंकहरू तत्काल ब्याजदर बढाउने पक्षमा नरहेको देखिन्छ । अहिले पनि बैंकिङ प्रणालीमा ३ खर्बभन्दा धेरै अधिक तरलता भएर राष्ट्र बैंकले प्रशोचन गर्नुपर्ने अवस्था छ । कर्जा मागमा ठूलो परिवर्तन भएको र दुई महिनापछि सरकारले पूँजीगत खर्च बढाउँदै जाँदा निक्षेपमा थप बढ्ने भएकाले चालु आव ब्याजदर बढी हाल्ने अवस्था नरहेको बैंकर बताउँछन् ।