पाल्पा, माघ १ अर्थात् माघे संक्रान्ति । माघे संक्रान्ति मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । थारू, मगर, किराँत समुदायले माघ १ गतेलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर मनाउँछन् ।
नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको छ । माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले यसलाई ‘मकर संक्रान्ति’ पनि भन्ने गरिन्छ । धार्मिक मान्यताअनुसार पनि माघ महिना विशेष हुन्छ । सामान्यतया पौष महिनामा विवाह व्रतबन्ध जस्ता कार्यक्रम नहुने हुँदा माघ सुरु भएलगत्तै विवाहलगायत शुभकार्य गर्ने चलन पनि रही आएको छ । विविध जाति, समुदाय र सम्प्रदायको बाहुल्यता रहेको हाम्रो देशमा यो पर्व धेरैले मनाउने गरेको पाइन्छ । पाल्पामा बसोबास गर्दै आएका मगर समुदायले पनि आफ्नो महान चाड माघे संक्रान्ति धुमधामका साथ मनाउँदै छन् । माघे संक्रान्तिको अवसरमा सरकारले आज सार्वजनिक विदा समेत दिएको छ । यस पर्वमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गंगा सागर लगायतका नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भिड लाग्ने गर्दछ । नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईका बसोबास गर्ने छेत्री, बाहुन, राई,मगर, लिम्बु, नेवार, गुरुङ, मगर आदि सबै जनजातीले माघे संक्रान्तिलाई आ–आफ्ना परम्परा, भिन्नभिन्न विशेषता र प्रकृतिले मनाउने गरेको पाइन्छ ।
माघ संक्रान्तिमध्ये जाडोको रमाइलो पर्व पनि हो । यसदिन तेल लगाउने प्रचलन पनि छ । यो पर्व धार्मिक र आध्यात्मिक रुपमा निकै नै महत्वपूर्ण रहेको छ । यसले देशको भौगोलिकता, जातीयता एवं साँस्कृतिक विविधताको प्रतिनिधित्व गर्दै आएको छ । मगरहरूको राष्ट्रिय पर्व घोषणा भइसकेको माघे संक्रान्ति पूर्व र पश्चिम अर्थात् मगरहरू बीचमै पनि भिन्न विशेषता र प्रकृतिमा मनाइने गरेको छ । माघे संक्रान्तिलाई मगर समुदायले तीन दिनसम्म धुमधामका साथ चेलीबेटी पुज्ने र पितृ पुजा गर्ने पर्वका रूपमा मनाउने गरेको पाइन्छ । बालकहरू धनु बाँण खेल्दै माघे संक्रान्तिको रौनकता शुरू गर्छन् । माघे संक्रान्ति मेलाको अवसरमा रूरू क्षेत्र रिडीमा मेला लाग्ने गर्दछ । कालीगण्डकी नदीमा स्नान गरी ऋषिकेशको दर्शन गर्दा चार धाम गए बराबरको पूण्य प्राप्त हुन्छ भन्ने विश्वासले पनि पश्चिम नेपालका विभिन्न जिल्लाका साथै भारतका विभिन्न स्थानबाट समेत भक्तजन उक्त रिडी नदीमा पुग्ने गर्दछन् ।
माघे संक्रान्तिको पूर्वसन्ध्यामा तानसेनका विभिन्न ठाउँहरुमा सखरखण्ड, तरुल किन्ने उपभोक्ताहरुको निकै भीड समेत लागेको थियो । विशेष गरी मंक्रर संक्रान्तिमा घिउ, चाकु, तिलको लडडु, तरुल, सखरखण्ड, पिंडालु लगायतका परिकार खाने गरिन्छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो । तरुल चिसो मौसममा नै फल्ने गर्छ र यो स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । तरुल गर्मी प्रदान गर्ने तरकारी भएकाले यसलाई चिसो मौसमका लागि निकै उत्कृष्ट खानेकुरा मानिन्छ ।