पाल्पा, लुम्बिनी प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दिनेश पंन्थीले देश विकासका लागि सहकारीको विकल्प नरहेको बताएका छन् । सहकारी संघ लिमिटेड पाल्पाको १२ औं साधारणसभा तथा पाँचौ अधिवेशनलाई आइतबार तानसेनमा सम्बोधन गर्दै सहकारी मन्त्री पंन्थीले आर्थिक विकासमा सहकारी योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै अहिलेको अवस्थामा देश विकासका लागि सहकारीको विकल्प नरहेको बताएका हुन् ।
उनले सहकारीको व्यस्थित सञ्चालन, परिचालन र नियमनबाटै देशको उन्नती प्रगती हुने धारणा व्यक्त गरे । अहिले केही पक्षले सबै सहकारी गलत छन्, सहकारीमा कुनै कारोबार गर्नुहँदैन भन्ने जनतामा भ्रम छर्ने काम गरिरहेकाले जिल्लाका सबै सहकारीहरुले आ–आफ्नो क्षेत्र र सदस्यहरुमा विश्वास दिलाउनु पर्ने समय आएको मन्त्री पन्थीको भनाई छ । मन्त्रालयले १२ वटै जिल्लाका ८ सय ४८ वटा सहकारीको प्रत्यक्ष अनुगमन गरेर अति उत्तम, उत्तम, मध्यम, ठिकै, खराब र अति खराब समुहमा विभाजन गरेर जनतालाई प्रष्ट पार्ने काममा लागेको सहकारी मन्त्री पंन्थीले बताए । जिल्लाका १०९ वटै पालिकाका सहकारी शाखाका प्रमुख, कर्मचारीहरुलाई मन्त्रालयले सहकारीको पछिल्लो ऐन नियम कानुन अनुसार तालिम प्रदान गर्ने र उनीहरुमार्फत पालिकामा सहकारीहरुलाई तालिम प्रदान गरी नियमनको काममा मन्त्रालय लागिरहेको उनले बताए । मन्त्रालयमा २० करोड रकम रहेकाले सहकारीको उत्पादन, बजारीकरणको लागि खर्च गर्ने कामका लागि मन्त्रालयले आवश्यक कार्यविधी निर्माणमा लागेको सहकारी मन्त्री पन्थीले बताए । जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले स्वअनुशासनदेखी सहकारीका सिद्धान्त र नियमपालना गरेर काम गरेमा सहकारी कहिल्यै समस्याग्रस्त नहुनेमा जोड दिए । पुर्वखोला गाउँपालिकाका अध्यक्ष नुन बहादुर थापाले सहकारी ग्रामीण जीवन जिउने आधार भएकाले व्यवस्थित गर्दै लैजानुपर्नेमा जोड दिए । लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण नेपालले सहकारीले जुन–जुन क्षेत्रमा कारोबार र संलग्नता रहन्छ त्यसको अनुगमन गर्नुपर्ने आवश्यक रहेको बताए । कार्यक्रममा नेपाली काँग्रेसका नेता माधव नेपाल, नेकपा एमालेका अध्यक्ष ओमबहादुर घर्तिमगर, नेकपा माओवादी केन्द्रका संयोजक राजेन्द्र वि.क., राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलबहादुर कुवँर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष विशाल दर्लामी, नेकपा एकिकृत समाजवादीका जिल्ला उपाध्यक्ष मोहन गेरै, लुम्बिनी प्रदेश बचत तथा ऋण सहकारी संस्थाका सचिव तथा जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष जगदीश भट्टराई, सहकारी अभियन्ता टिका बहादुर भण्डारी, नेपाल पत्रकार महासंघ पाल्पाका सचिव रामचन्द्र रायमाझी, महिला उद्यमी सहकारी संस्थाकी अध्यक्ष राधा पौडेल, षटकोष बचत तथा ऋण सहकारी संस्थाका सदस्य झपेन्द्र खनाल लगायतले पाल्पा जिल्लाको सहकारीको अवस्था, उत्पादन तथा रोजगारीमा सहकारीले खेलेको भुमिका, कृषि तथा पशुपालनदेखी बजार व्यवस्थापनमा पाल्पाका सहकारीले चालेका कदमहरुको बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा सहकारीका जिल्ला अध्यक्ष भुपति पाण्डेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थामा १ सय ३४ वटा सहकारी संस्था आवद्ध भएकोमा १ सय १३ वटा सहकारीको प्रतिनिधित्व गरी ९७ प्रतिशत सदस्यहरुको सहभागीता भएको बताए । संस्थाका अध्यक्ष पाण्डेले बर्षभरी गरेका कामहरु र आगामी दिनमा गर्ने कार्ययोजना बारेमा जानकारी गराएका थिए । संघले सोही अवसरमा उत्कृष्ट कार्यसम्पादन गरेका सहकारी र स्थानीय तहलाई सम्मान समेत गरेको छ । सम्मानित हुनेहरुमा नव युग कृषि सहकारी संस्था, साना किसान कृषि सहकारी संस्था, गल्धा महिला सामाजिक उद्यमी सहकारी संस्था र पुर्वखोला गाउँपालिकालाई सम्मान गरेको छ । सभामा संघका लेखा सुपरिवेक्षण समितिका संयोजक श्रीकृष्ण आत्रेयले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेश गरेका थिए संस्थाका अध्यक्ष भुपति पाण्डेको अध्यक्षता,उपाध्यक्ष शारदा नेपालको स्वागत, सचिव कृष्ण भुसालको सञ्चालनमा उद्घाटन सत्र कार्यक्रम भएको थियो ।