पाल्पा,जिल्लाको बगनासकाली गाउँपालिका–८ बराङ्दीस्थित घिउसिबासमा यही माघ १ गतेदेखि ९ गतेसम्म श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ तथा धार्मिक महोत्सव २०८१ हुने भएको छ । सिद्धबाबा मन्दिर तथा वातावरण संस्कृति संरक्षण समितिको आयोजनामा मन्दिरमा नागको विराट मूर्ति एवं सत्संग हल निर्माण तथा मन्दिरको चौतर्फी विकास सहयोगार्थ महायज्ञ तथा धार्मिक महोत्सव हुन लागेको हो ।
मन्दिर परिसरमा शनिबार पत्रकार सम्मेलन गरी महोत्सवको बारेमा जानकारी गराईएका छ । बगनासकाली गाउँपालिकाको उत्तरी क्षेत्रलाई धार्मिक पर्यटकीय तीर्थस्थल बनाउने उद्देश्य सहित सिद्धबाबा मन्दिर परिसरमा सत्संग हल निर्माण र मन्दिरको चौतर्फी विकास गर्नुुको साथै मन्दिर परिसरमै भव्य नागको विराट मूर्ति निर्माण गर्ने उद्देश्यका साथ धार्मिक महोत्सव गर्न लागिएको मूल आयोजक समितिका संयोजक गणेश प्रसाद बस्यालले जानकारी दिए ।मन्दिरमा तीन सय वर्ष अगाडिदेखि नै पूजाआजा हुँदै आएको र यस क्षेत्रमा निरन्तर नागदेवता, विष्णुु, भगवती लगायतका देवी देवताहरूको वासस्थान भएकाले भक्तजनको सेवा सुविधादेखी मन्दिरमा आवश्यक पूर्वाधार निर्माण गर्नको लागि महायज्ञ गर्न लागिएको मन्दिर संरक्षण समितिका अध्यक्ष मोहन अर्यालले बताए । कार्यक्रममा पत्रकार महासंघ पाल्पाका अध्यक्ष एवं महायज्ञ प्रचार–प्रसार संयोजक कमलराज तिमिल्सेनाले महायज्ञलाई सफल बनाउने जिम्मेवारी मिडियाहाउस तथा पत्रकारहरुको रहेकाले सूचना तथा सञ्चारका विषयमा आवश्यक सहयोग र सहकार्य गरेर जानुपर्नेमा जोड दिए ।
महायज्ञमा महिला बाचिका विदुषी गरिमा उपाध्याय भक्त किंकरीले श्रीमद भागवत बाचन सहित देवलिला, जनचेतनामुलक नाटक, संगीतमय भजन कृर्तन कार्यक्रम रहेको छ । महायज्ञमा बिहान ७ बजेदेखि ९ बजेसम्म श्रीमद भागवत महापुराण, वेद, चण्डी पाठ, रुद्राभिषेक, सहस्र जलधारा, बेलपत्र अर्पण ,ग्रह शान्ति पुजा, चौरासी पूजा, अन्नदान, भूमिदान, ब्राह्मण भोजन, सहित पित्रीको फोटो राखी अर्पण लगायतका कार्यक्रम गरिनेछ । यस्तै महायज्ञमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म संगीतमय कथा प्रवचन ,भजन किर्तन देवदेवताका लीलाहरू प्रस्तुत गरिनेछ । महोत्सवमा पुग्ने भक्तजनले अर्पण गरेको रु.५ सय सम्म दानपत्रमा राखिनेछ । ५ सयदेखि माथि १ हजार ५ सय रुपैयाँको नगदी रसिद काटिनेछ । १ हजार ५ सय देखि ३ हजारसम्म दान गर्ने भक्तजनको लागि फूलमालासहित मञ्चबाट नाम घोषणा गरि सम्मान गरिने छ । यसैगरी ३ हजारदेखि ५ हजारसम्म दान गर्ने भक्तजनलाई ढाकाको खादा ओढाएर सम्मान गरिने छ । ५ हजारदेखि १० हजारसम्म दान गर्नेलाई रामनामी ओढाएर सम्मान गर्ने, १० हजार देखि २० हजारसम्म दान गर्ने भक्तजनलाई गोल्डेन फ्रेममा सम्मानपत्र सहित रुद्राक्षको माला प्रदान गरी सम्मान , २० हजारदेखि ३५ हजारसम्म दान गर्ने दानवीरलाई सम्मान सहित एकजना व्यक्तिको नाम शिलालेखमा राखिने र ३५ हजारदेखि ५० हजारसम्म दान गर्ने भक्तजनलाई भिआइपी गोल्डेन फ्रेममा सम्मानपत्र सहित दम्पतिको नाम शिलालेखमा राखिने मन्दिरका सल्लाहकार एवं जनप्रतिनिधी कृष्ण प्रसाद भुसालले बताए ।
यसैगरी ५१ हजारदेखि ७५ हजारसम्म दान गर्ने दानवीरलाई ड्रागन फ्रेममा गोल्डेन सम्मानपत्र सहित दम्पति मातापिताको नाम शिलालेखमा राखिनेछ । ७५ हजार देखि १ लाख सम्म दान गर्ने दानवीरलाई भिआइपीमा गोल्डेन सम्मान पत्र सहित तीन पुस्ताको शिलालेख राखिनेछ । १ लाखदेखि १ लाख ५० हजारसम्म दान गर्ने भक्तजनलाई स्वस्तिक वाचन बाजागाजासहित सम्पूर्ण परिवारलाई सत्तलमा दानवीरको फोटो फ्रेममा राखिनेछ । एक लाख ५० हजारदेखि दुई लाख सम्म दान गर्ने भक्तजनलाई समितिले निर्णय गरी आजीवन सदस्यता प्रदान गरी तीन पुस्ताको नाम ताम्रपत्रमा राख्ने, २ लाखभन्दामाथि सहयोग गर्ने दानवीरलाई समितिले निर्णय गरी मानार्थ आजीवन सदस्यता पन्चेबाजा सहित नगर परिक्रमा साथै एकल पुस्ताको नाम ताम्रपत्रमा राखिने कार्यक्रम रहेको मन्दिर व्यबस्थापन समितिले जनाएको छ ।
यसैगरी मन्दिर व्यवस्थापन समितिले महायज्ञमा रुद्रीको लागि ५ हजार १ सय,व्रतबन्धको लागि रु. १०, हजार, लक्ष्यबत्तीको लागि रु १० हजार चौरासी पूजा तथा तुलादानको लागि रु २५ हजार, महा आरती व्यक्तिगतको लागि २ हजा ५ सय तोकेको छ । यसैगरी महायज्ञमा महा आरती संस्थागत रुपमा ४ हजार ५ सय , दैनिक कर्ता हुन चाहेमा ५ हजार १ सय रुपैयाँ दैनिक प्रसादको व्यवस्थापन गर्न चाहेमा ५ हजार १ सय रुपैया, ब्राह्मण भोजन गराउन चाहेमा १० हजार र दैनिक भण्डारा लगाउन चाहेमा २० हजार १ सय रुपैया तोकेको छ । पत्रकार सम्मेलन महायज्ञ मुल आयोजक समितिका संयोजक गणेश बस्यालको अध्यक्षता र पत्रकार दयाराज न्यौपानेको सञ्चालनमा भएको थियो । भगवानप्रति आस्थावान भएर आत्म शुद्ध गरी बराङ्दी घिउसिबासको सिद्धबाबा मन्दिरमा आई वरदान मागेमा प्राप्त हुने जनविश्वास अझै पनि कायम रहेको छ ।