Shittalpati
रामपुर नगर सभाको १६ औँ अधिवेशन : संशोधित स्थानीय युवा परिषद् ऐन पारित

पाल्पा, जिल्लाको रामपुर नगरपालिकाको नगर सभाको १६ औँ अधिवेशन सकिएको छ ।  स्थानीय युवा परिषद् ऐन संशोधन सहित विभिन्न योजनाको बजेट रकमान्तर तथा शीर्षकान्तर सर्वसम्मत पारित गरी  अधिवेशन सकिएको हो ।

सभामा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले प्रस्तुत गरेको योजनाहरुको रकमान्तर र शिर्षकान्तर प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ । नगर सभाका सदस्य तथा विद्येयक समितिका संयोजक मिनबहादुर सिंजालीले प्रस्तुत गरेको स्थानीय युवा परिषद् ऐन संशोधन प्रस्ताव समेत सर्वसम्मत रुपमा पारित गरेको छ ।

हिउँदे सभाले वडा तथा नगर स्तरीय ४० वटा योजना तथा कार्यक्रमको बजेट ८६ वटा योजनामा रकमान्तर तथा शिर्षकान्तर गरेको छ । नगर उपप्रमुख बालकुमारी थापाले वडा स्तरीय र नगर स्तरी ४० वटा योजनाको दुई करोड एक लाख ६५ हजार बजेट ८६ वटा योजना तथा कार्यक्रममा शीर्षकान्तर गरिएको जानकारी दिइन ।

नगर सभा सदस्यहरुले उठाएको प्रश्न र प्रस्ताव बारे प्रष्ट पार्दै सभाध्यक्ष एवं नगर प्रमुख रमण बहादुर थापाले  जनताको चाहाना अनुसार स्रोत साधनले भ्याए सम्म विकास र सेवालाई प्राथमिकता दिदै आएको बताए । जनप्रतिनिधि र कर्मचारीहरु जनतालाई सहज रुपमा सहज रुपमा सेवा प्रवाह गर्न कसरी सकिन्छ भन्ने ध्येयका साथ लागि रहेको उनको भनाई छ । नगरपालिकाले संघ र प्रदेशसँग समन्वय गर्दै आएको समेत नगर प्रमुख थापाको भनाई छ । १ का वडा अध्यक्ष एवं प्रवक्ता कपिल बहादुर खाँणले अब जनप्रतिनिधिहरुले गम्भीर रुपमा सोच्ने समय आएको बताए । नगरवासीले के अनुभूति गरे भन्ने विषयमा समिक्षा गरी अघि बढ्नु  अहिलेको आवश्यक रहेको उनको भनाई छ । सबै शिर्षकान्तर भएका योजनाको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको अध्यक्ष खाँणले बताए  । रामपुर नगरपालिकाका कार्यपालिका सदस्य दुर्गा देवी भण्डारी गौतमले योजना कार्यान्वयनमा सबैको साथ सहयोग आवश्यक रहेको बताईन् । रामपुर नगरपालिका–३ का वडा अध्यक्ष दामोदर पाठकले विकृति र विसंगति विरुद्ध एकजुट भएर लाग्नु पर्ने बताए । रकमान्तर र शीर्षकान्तर प्रस्तावमा आफ्नो धारणा राख्दै १० का वडा अध्यक्ष तोयानाथ सारु थापाले विनियोजित बजेट कार्यान्वयनमा विभिन्न बाधा र अड्चन आउँदा समस्या भएको बताए । नगरपालिकाले विकास निर्माणका योजनालाई प्रभावित हुन नदिन कडाई गर्न आवश्यक रहेको उनको भनाई छ । शुन्य समयमा रामपुर ८ का वडा सदस्य दिनेश आचार्यले विद्युत पोल व्यवस्थित गर्न तथा खानेपानी व्यवस्थापनका लागि ध्यान दिनु पर्नेमा सुझाव राखे । रामपुर–६ का वडा सदस्य हरिनाथ ढुङ्गानाले कृषिमा लगानी बढाउनु आवश्यक रहेको बताए ।

सभामा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले नगर सभाको आह्वान पत्र बारे जानकारी गराएका थिए । यस्तै नगर सभाको अवसरमा राष्ट्रिय यू–१३ पुरुष फुटबलमा छनोट भएका विप्लप गुरुङ र पूर्व कर्माचारीलाई सम्मान समेत गरिएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले  छनोट गरेको खेलाडी मध्यमा पर्न सफल गुरुङलाई नगरपालिकाले ५० हजार  रकम सहित सम्मान गरेको हो । नगरपालिकाले करारमा कार्यरत रही यस वर्ष उमेर हदका कारण विदा भएका कर्मचारी ईन्द्र बहादुर अर्याललाई पनि सम्मान गरेको थियो । नगरपालिकाले स्थापना गरेको कर्मचारी कल्याणकारी कोष मार्फत दुई लाख ९९ हजार १ सय ६० सहित उनलाई सम्मान गरेको हो ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update