पाल्पा, जिल्लाको तानसेन नगरपालिका नगर सभाको १६ औँ अधिवेशन विभिन्न ऐन संशोधन तथा प्रतिवेदनहरू पारित गर्दै सकिएको छ । नेपालको संविधानमा व्यवस्था भए अनुरुप संसदीय अभ्यासका साथ विहीबार नगरसभाको अधिवेशन सकिएको हो ।हिउँदे अधिवेशनको रुपमा हेरिएको नगरसभाले विनियोजन ऐन, २०८१ (संशोधन विधेयक) र न्यायिक समितिको प्रतिवेदन सर्वसहमत रुपमा पारित गरेको छ ।
सभामा नगर उपप्रमुख प्रतिक्षा सिंजालीले छलफलका लागि प्रस्तुत गरेका संशोधन विधेयक र न्यायिक समितिको प्रतिवेदन सर्वसहमत रुपमा पारित भएको सभाका अध्यक्ष एवं नगर प्रमुख सन्तोषलाल श्रेष्ठले घोषणा गरे । पारित भएको संशोधन विधेयकमा आर्थिक वर्ष २०८१÷०८२ को लागि नगर कार्यपालिका, वडा कार्यालय, विषयगत शाखाले गर्ने सेवा र कार्यका निम्ति अनुसूची –१ म उल्लेखित चालु खर्च, पूँजीगत खर्च र वित्तिय व्यवस्थापनको रकम समेत गरी एक अरब ५३ करोड ६० लाख ७८ हजार ६ सय २४ रुपैयाँमा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिने उल्लेख गरिएको छ । त्यस्तै नगरसभामा न्यायिक समितिका संयोजक समेत रहेकी सिंजालीले ६ महिनाको अवधिमा न्यायिक समितिले गरेका काम, कर्तव्य र गतिविधिका विषय न्यायिक समितिको प्रतिवेदन समेटेकी छन् । उक्त प्रस्ताव पनि सर्वसम्मत रुपमा पारित भएको हो । सभामा नगर सभा सदस्य माधव बस्यालले संशोधन विधेयक र न्यायिक समितिको प्रतिवेदन माथि टिकाटिप्पणी गरेका थिए । उनले संशोधन विधेयक भित्र आफ्ना वडाका कुनै पनि कार्यक्रम नपरेको गुनासो गरे । बस्यालले न्यायिक समितिको प्रतिवेदनमाथि टिप्पणी गर्दै प्रतिवेदन उत्कृष्ट भएको तर सडक दुर्दशाका कारण आम जनताले पाएको अन्यायमा न्याय नपाएको बताए ।
सभामा नगर सभा सदस्य धन कुमारी विष्टले तानसेन–१० मा गणेशको मूर्ति बेवारिसे अवस्थामा राखिएकोप्रति गुनासो गरिन् । उनले मुर्तिको व्यवस्थापन गर्नुपर्नेमा चालु आर्थिक वर्षमा विनियोजन गरिएको बजेट समेत कटौती गर्नु राम्रो नभएको बताईन् । विष्टले भनिन्‘मूर्ति व्यवस्थापन नगर्ने भए किन स्थानीयबाट पैसा उठाउन लगाइयो ?, तानसेनमा राखिएको मुर्ति किन तेल्घा लगियो ?, व्यवस्थापन गर्ने हो भने किन छुट्याइएको बजेट कटौती गरियो ?, जनतालाई अब हामीले के भन्ने ?’ नगर सभा सदस्य माधव बस्यालले तानसेन पर्यटकीयस्थल भनिएको छ तर यहाँ अहिलेसम्म कुनै पनि क्षेत्रमा डिजिटल गेट बनाउन नसकिएको बताए । उनले माण्डव्य सरोवारको उचित प्रयोग गरी आर्थिक विकास गर्ने दिशामा ध्यान दिन नगर सभालाई आग्रह गरे । नगर सभा सदस्यहरुले राखेका जिज्ञासाहरुको जवाफ दिर्दै सभाका अध्यक्ष एवं नगर प्रमुख सन्तोषलाल श्रेष्ठले गणेशमूर्ति व्यवस्थापनमा कानुनी जटिलता र आर्थिक अस्पष्टता रहेकाले थप अनुसन्धान गरेर मात्र मूर्ति व्यवस्थापन गर्ने गरी बजेट कटौती गरिएको बताए । नगर प्रमुख श्रेष्ठले पहिले जनताका अत्यावश्यक आवश्यकता परिपूर्ति गरेर मात्र डिजिटल गेट बनाउने कुरामा लाग्ने उल्लेख गरे । सभा नगरप्रमुख श्रेष्ठको अध्यक्षता र अधिकृत भरत आचार्यको सञ्चालनमा भएको थियो ।