पाल्पा, जिल्लाको तिनाउ गाउँपालिकाले ४ महिनामा १ करोड ८२ लाख राजश्व संकलन गरेको छ । पालिकाले प्रथम चौमासिकमा १ करोड ८२ लाख २ हजार अर्थात् १७ दशमलव ३२ प्रतिशत आन्तरिक आम्दानी गरेको हो ।
पालिकाले सार्वजनिक सुुनुवाई गर्दै चौमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक बर्षमा १० करोड ५० लाख ४३ हजार आम्दानी हुने लक्ष्य लिएको गाउँपालिकाले ४ महिनामा उक्त राजश्व संकलन गरिएको जनाएको छ ।
पालिकाले प्रथम चौमासिक सम्म १३ दशमलव ८६ प्रतिशत मात्र प्रगती हासिल गरेको छ । चालु आर्थिक बर्षमा पालिकाले ५४ करोड २० लाख ८४ हजार विनियोजन गरेकोमा हालसम्म ७ करोड ५१ लाख ४१ हजार मात्र खर्च गरेको छ । जसमा चालुतर्फ ७ करोड २७ लाख ८९ हजार खर्च गरी १९ दशमलव ५५ र पुँजीगततर्फ २३ लाख ५२ हजार खर्च गरी १ दशमलव ३९ प्रतिशत मात्र प्रगति हासिल गरेको छ ।
गाउँपालिकामा २०८१ श्रावणदेखी मंसिरसम्म १ सय ५२ जनाको जन्म भएकोमा ७१ जनाको मृत्यु भएको, १२ जनाको सम्बन्ध विच्छेद, ७८ जनाको विवाह भएको, २६ घरपरिवार बसाइसराई गरेको र ६ परिवार बसाईसराई आएको देखिएको छ । पालिकाको १ सय २० वटा योजना रहेकोमा हालसम्म ५० वटा योजना सम्झौता भएकोमा बाँकी सम्झौताको चरणमा रहेको र केही योजनाको काम सम्पन्न भए पनि फरफारक नभएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको सार्वजनिक सुनुवाईमा आएका सुझाव, गुनासाहरु देखिएका कमिकमजोरीहरुलाई आत्मसात गर्दै पालिकाको दैनिक सेवाप्रवाहमा सुधार भएमात्र सार्वजनिक सुनुवाई गरेको औचित्य हुने अन्यथा कर्मकाण्डी प्रक्रिया मात्र हुनेमा नागरिकहरुले जोड दिए ।
कार्यक्रममा नागरिकहरुले बर्षायामदेखी बन्द भएका गाउँ–ठाउँका बाटोहरु हालसम्म पनि मर्मत सम्भार नभएको, विरामी बोक्ने एम्वुलेन्स आफै विरामी भएर पालिका अगाडि नै थन्किएको, कृषि एम्वुलेन्स ५ महिना देखी विग्रिएर बन्द भएको, प्रमुख प्रशासकीय अधिकृत र कार्यालयका कर्मचारीहरुबिच तालमेल नहुँदा जनताको काममा समस्या भएको गुनासा गरेका छन् । यसैगरी वडा–वडामा सचिव नहँुदा जनताको काम समयमा नभएको, बञ्चरेडाँडाको पहिरोको कारण बस्ती नै जोखिममा परेको, निर्माण भएका पर्यटकीय पुर्वाधार, पार्क क्षेत्रहरु बेवारिसे अवस्थामा पु¥याएको, तिनाउ नदी क्षेत्रमा सुरुङ्खमार्गको माटो ढुङ्खा डम्पिङ गरेको गुनासो गरेका छन् ।
सेवाग्रहीले सार्वजनिक सुुनुुवाई कार्यक्रममा पुर्वाधार निर्माणका काममा गुणस्तरीयतालाई ख्याल नगरेको, पालिकाभित्र गुणस्तरीय शिक्षामा ध्यान नदिएको, किसानहरुसँग सहकार्य गरेर काम नगरेको, खानीबाट आउने राजश्वहरु समयमा नउठाएको, प्रमुख प्रशासकीय अधिकृत बढी समयमा फिल्डमा जाँदा कार्यालयमा आउने सेवाग्रहीले दुःख पाएका लगाएका गुनासा गरेका थिए ।
कार्यक्रममा समग्र गुनासाहरुको जवाफ दिदै गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठले बजेट अवस्था सिमित भएको र जनताका अपेक्षा आँकाक्षा बढी भएकोले सबैले खोजेजस्तो गर्न नसकिएको बताए । तर पालिका भित्र आर्थिक शुसासन, पारदर्शीता कायम राख्न आफु कटिवद्ध भएर लागेको अध्यक्ष श्रेष्ठले बताए । अबको ढाई बर्ष पदमा रहँदासम्म जनताको करको दुरुपयोग हुन नदिने गरी काम गर्ने पालिका अध्यक्ष श्रेष्ठले जोड दिए । आफुलाई कसैले आर्थिक विषयमा कसैले पनि एक पैसाको तलमाथी भएको प्रमाण पेश गरे गाउँपालिकाको अध्यक्ष पदबाटै राजीनामा दिने पालिका अध्यक्ष श्रेष्ठले दावी गरे । पालिकाको कृषि उत्पादन बढाउन, राजश्व बृद्धि गर्न, पर्यटकीय क्षेत्रमा पुर्वाधार निर्माणदेखी होमस्टे सञ्चालनमा जोड दिदै आएको अध्यक्ष श्रेष्ठले बताए ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले चौमासिक प्रतिवेदनको समग्र प्रगती तथा आम्दानी खर्च सार्वजनिक गरे । प्रदेश लोकसेवा आयोगले कर्मचारी प्रयाप्त नदिदा पालिकाभरी नै वडा सचिवको अभाव भएको, पालिकामै कर्मचारी प्रयाप्त नहुँदा सेवा प्रवाहमा कठिनाई भएको, पालिकाभित्र आर्थिक शुसासन कायम गर्न कटिवद्ध भएर लागेको, खर्चमा कानुन अनुसार मितव्ययिता अपनाएको, अधिकाश योजनालाई टेण्डर प्रक्रियामा सञ्चालन गरेको, आगामी दिनमा सेवाग्रहीलाई सहजताको लागि समय सीमा तोकेर योजना अनुगमन गरिने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए ।
कार्यक्रममा नेपाली काँग्रेस तिनाउ गाउँसमितिका सभापति प्रेम श्रेष्ठ, नेकपा एमाले तिनाउ गाउँपालिका कमिटी अध्यक्ष रोमबहादुर लम्तरी, नेकपा माओवादी केन्द्र तिनाउकी संयोजक रितु कुमारी श्रेष्ठ लगायतले जनताप्रति उत्तरदायी ,सुशासनमा कटिवद्ध, चुनावी घोषणपत्रलाई सम्झेर, तिनाउलाई कृषि पर्यटन केन्द्रित बनाएर काम गर्न सुझाव दिए ।
कार्यक्रममा कृष्ण पाण्डे, खगेन्द्र कसी, नारायण गिरी, लालबहादुर दर्लामी, दानबहादुर गाहा, विष्णु प्रसाद पाण्डे, कमल श्रेष्ठ, टोपबहादुर विश्वकर्मा, निर्मल बस्याल, केशवराज बस्याल, शिव पाण्डे, आशिष रायमाझी लगायतले गुनासा, सुझाव तथा आगामी दिनमा कर्मचारी तथा जनप्रतिनिधीहरुले गर्नुपर्ने काम कर्तव्य जिम्मेवारीका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रमा उठेका प्रश्नहरुको शिक्षा शाखा प्रमुख लक्ष्मी कुवँर, राजश्वशाखा प्रमुख निरञ्जन लामिछाने, प्राविधिक शाखा प्रमुख किशन कुवँर, कृषि शाखा प्रमुख हेमन्त कुमार शर्मा, पशु शाखा प्रमुख अनिस पौडेल र प्रवक्ता यादव अर्यालले लगायतले जवाफ दिएका थिए । सार्वजनिक सुनुवाइको पाल्पा विकास केन्द्रका संयोजक किरण कौशलले सहजीकरण गरेका थिए ।