Shittalpati
होसियार, गहना सफा गर्ने मान्छे ठग हुन सक्छ

पाल्पा, के तपाईं झोले व्यक्तिसँग सुनको बहुमूल्य गरगहना सफा गराउँदै त हुनुहुन्न ? के कसैले सुनका गहना सफा गरिदिन्छु भन्यो भनेर मख्ख पर्नुभएको त छैन् ? यदि हुनुहुन्छ भने बेलैमा होसियारी अपनाउनु होला । किनभने, त्यो मानिस सुन चोर पनि हुन सक्छ । 

अहिले गरगहना सफा गर्ने निहुँमा झोले ठगहरुको बिगबिगी बढ्न थालेको छ । ती झोले ठगहरु  घरमा अन्य सदस्य नभएको मौका छोपी महिलालाई आफ्नो कला देखाउँदै ठग्न थालेका छन् । पछिल्लो समय पाल्पाका गाउँघरमा सुनचोरीका नयाँ–नयाँ घटनाहरु सार्वजनिक भइरहेका छन् । यहाँका गाउँघरमा सुनका गहना सफा गर्ने भन्दै नक्कली सुन दिएर सक्कली गहना लिएर फरार भएका र केही व्यक्ति प्रहरी नियन्त्रणमा आएका घटनाहरु सार्वजनिक भएका छन् । प्रहरीले पछिल्लो समय  जिल्लाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढे·ढीमा नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना झिकेर लैजाने चार जनालाई पक्राउ गरेको छ । बल्ढे·ढीकी ७८ वर्षीया डिलकुमारी बगालेको सुन सफा गर्ने बहानामा ठगी गरेका चार जनालाई  नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुनिल मल्लले जानकारी दिए । उनका अनुसार रौतहट ईशनाथ गाउँपालिका–२ का ३० वर्षीय अनिल कुमार शाह, सोही स्थानका २१ वर्षीय आशिक शाह, अर्का २१ वर्षीय राकेश शाह र अर्का २१ वर्षीय कृष्ण शाहलाई नियन्त्रणमा लिइएको हो । उनीहरुले बगालेको सुन फोहोर भएको र सफा गर्ने बहानामा अर्को सुनको जस्तो देखिने रिङ दिएर फरार भएको अवस्थामा प्रहरीले पक्राउ गर्न सफल भएको उपरीक्षक मल्लले जानकारी दिए । उनीहरुलाई खोजतलास गर्ने क्रममा पाल्पाकै रैनादेवी छहरा गाउँपालिका–७ तल्लो काउलेमा फेला पारेको प्रहरीले जनाएको छ । चारै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । गत साउन दोस्रो साता पनि  यसै गरी सुन ठगी गर्ने  अन्य चार जनालाई प्रहरीले तानसेनबाट नियन्त्रणमा लिएको थियो ।

पाल्पाको तिनाउ गाउँपालिका –३ झुम्साका ६३  वर्षीय चुरामणी गाहा मगर, रुपन्देहीको सैनामैना नगरपालिका –८ का ४२ वर्षीय गुञ्जबहादुर मगर, रुपन्देहीकै कञ्जन गाउँपालिका– १ का ३३  वर्षीय लक्ष्मण कुमाल र रुपन्देही ओमसतिया गाउँपालिका –५ घर भई हाल बुटवल उपमहानगरपालिका लक्ष्मीनगरमा डेरा गरी बस्ने ५३ वर्षीय गिरी बहादुर थापा भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको थियो । ति व्यक्तिहरुले   अघिल्लो वर्षको भदौ २६ मा तानसेन नगरपालिका –४ होलादीस्थित मनकामना होटेल नजिकै तिनाउ गाउँपालिका –५ भोक्तछापकी ५७ वर्षीया बमिसरा रानालाई नक्कली सुनको जस्तो डल्लो देखाई प्रलोभनमा पारी सुनका गहना लगेका थिए । उनीहरुले ति महिलाले लगाएको १ तोला सुनको कुण्डल रिङ झिकेर भागेका थिए । यस्तै गत चैत १८ मा तानसेन– ६ लहरेपिपलमा बगनासकाली गाउँपालिका– ९ चापपानीकी ६३  वर्षीया डोल कुमारी थापाले लगाएको १ तोला १२ लालको सुनको रिङ कुण्डल झिकेर उनीहरु भागेका थिए । यस्तै उक्त समूहले गत  जेठ २७ मा तानसेन –३ प्रगतीनगर टोलमा रिब्दीकोट  गाउँपालिका–७ की ५७ वर्षीया भुमी कुमारी गाहाले लगाएको १ तोलाको सुनको रिङ कुण्डल झिकेर भागेको थियो । यसरी गहना ठगी हुन थालेपछि प्रहरीले समेत सक्रियता बढाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update