Shittalpati
काँग्रेसको सय दिने अभियान : पाल्पामा अभिमुखीकरण

पाल्पा, नेपाली काँग्रेस पाल्पाले ‘१०० दिने विशेष अभियान’ अन्तर्गत भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु, प्रदेश सभाका महासमिति सदस्य तथा  महाधिवेशन प्रतिनिधिहरु, प्रदेश समिति तथा पालिका समितिका पदाधिकारीहरुको लागि अभिमुखीकरण कार्यक्रम गरेको छ । काँग्रेसले सोमबार पार्टी कार्यालयमा एक दिने अभिमुखीकरण कार्यक्रम गरेको हो ।  कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधी भरत कुमार शाहले लोकतन्त्रलाई बलियो बनाउन सबै सक्रिय हुन जरुरी रहेको बताए । उनले अभियानका क्रममा जनस्तरबाट उठेका सवालहरूलाई पार्टीले आफ्नो मुद्दा बनाएर अघि बढ्ने प्रतिवद्धता पनि व्यक्त गरे । उनले काँग्रेसको संगठनका गतिविधि चलायमान गराउनु नै अभियानको मुख्य उद्देश्य भएको पनि बताए । 

नेता शाहले पार्टी भित्र देखिएका असन्तुष्टिहरूलाई पनि अभियानले सम्बोधन गर्ने धारणा व्यक्त गरे । केन्द्रीय सदस्य डा. डिला संग्रौलाले लोकतन्त्रको अनुभुति गाउँ गाउँमा गराउन काँग्रेस सक्रिय भएर लागेको बताइन् । उनले काँग्रेस सक्किएर हैन सच्चिएर अगाडि बढेको भन्दै अब तल्लो तहबाटै संगठन बलियो बनाएर लैजान भातृ तथा शुभेचछुक संस्थाका प्रतिनिधिहरुलाई आग्रह गरिन् । नेतृ संग्रौलाले काँग्रेसका कार्यकर्ताहरुलाई उत्पादनसँग जोड्ने गरी काँग्रेसले काम थालेको पनि बताईन् । अर्का केन्द्रीय  सदस्य गोविन्द शाहले पार्टीलाई चलायमान बनाउ भातृ र शुभेच्छुक संस्थाहरु समेत क्रियाशिल बन्नुपर्नेमा जोड दिए । काँग्रेस केन्द्र्रीय सदस्य चम्पा देवी पौड्यालले काँग्रेस कमजोर हुँदा लोकतन्त्र समेत कमजोर बन्ने भएकाले पार्टीलाई बलियो बनाएर लैजाने दिशामा सबै एक  भएर जानुपर्ने बताइन् ।

काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा लुम्बिनी प्रदेशका सांसद वीरबहादुर रानाले संगठनलाई बलियो र मजबूद बनाएर लैजान सबै तहका नेता कार्यकर्ताहरु सक्रिय भएर लाग्नुपर्ने बताए । उनले १०० दिने अभियानले पार्टी संगठनलाई थप बलियो बनाएर लैजान महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले निरन्तर जनताको माझमा गएर संगठनसँगै विकासका लागि मेहेनत गरेमा सफलता प्राप्त गर्न सकिने धारणा व्यक्त गरे । काँग्रेस जिल्ला सभापति हिमालदत्त श्रेष्ठले संगठनलाई मजबुत बनाउन वडा टोलसम्मै अभियानलाई तिव्रता दिइएको बताए । उनले जनतामाझ पुगेर पार्टीले गरेका काम र योजनाका बारेमा बुझाउन आवश्यक रहेको औल्याउदै त्यसका लागि आफुहरु १०० दिने अभियान लिएर हिडेको उल्लेख गरे । नेपाल विद्यार्थी संघका कन्द्रीय सदस्य तथा प्रतिनिधि सुनिल बाबु चापागाईले पार्टीका कार्यकर्ताहरूलाई ढुक्क भएर पार्टीले गरेका विकास निर्माण र योगदानको प्रचार–प्रसार गर्दै जनतामाझ जान आग्रह गरे । कार्यक्रममा जिल्ला समितिका आमन्त्रित सदस्यहरु, भातृ संगठनका पदाधिकारी तथा सदस्यहरु, प्रदेश सभाका सम्पुर्ण महासमिति सदस्य तथा  महाधिवेशन प्रतिनिधिहरु, प्रदेश समिति तथा पालिका समितिका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । जिल्ला सभापति हिमालदत्त श्रेष्ठको  अध्यक्षता, पार्टी प्रवक्ता शोभाकर न्यौपानेको स्वागत, सचिव सुनिता अधिकारीको सञ्चालनमा कार्यक्रम भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, पुस ९, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update