Shittalpati
आनन्द सहकारीको अध्ययन अवलोकन भ्रमण  : सदस्यहरुका लागि दुग्धजन्य वस्तु र केवलकारमा छुट

पाल्पा, तानसेनमा सञ्चालित आनन्द बचत तथा ऋण सहकारी संस्थाले विभिन्न क्षेत्रहरुको  अध्ययन अवलोकन भ्रमण गरेको छ । सहकारीले विभिन्न ठाउँमा पुगेर एक दिने अध्ययन अवलोकन भ्रमण गरेको हो ।

उसले रुपन्देहीको तिलोत्तमा नगरपालिका –३ मा रहेको डि·रनगर दूरगामी बहुउद्देशीय सहकारी संस्था लि.,कामाख्या मन्दिर दर्शनसँगै लुम्बिनी केवलकार र जितगढीको अध्ययन अवलोकन गर्नुको साथै शेयर सदस्यहरुका लागि विभिन्न सेवामा छुट सम्बन्धी सहमति समेत गरेको छ ।  विभिन्न ठाउँमा रहेका सहकारीहरुले गरेका गतिविधि, कार्यक्रम र क्षेत्रका विषयमा जानकारी लिई आवश्यकता अनुसार आफ्नो सहकारीमा प्रयोग गर्ने उद्देश्यले अध्ययन अवलोकन गरिएको सहकारीका अध्यक्ष सर्जुलाल बज्राचार्यले बताए । भ्रमण टोलीले डि·रनगर दूरगामी बहुउद्देशीय सहकारीले गरेका गतिविधि र  कार्यक्रमका बारेमा जानकारी लिएको छ भने आफ्नो संस्थाका बारेमा समेत जानकारी गराएको छ । त्यहाँ बचत तथा ऋण सहकारी संस्था र दुग्ध सहकारीबिच २०७८ मा मर्च भई संयुक्त कारोबार गर्दै आएको डि·रनगर दूरगामी सहकारीले अहिलेको अवस्थामा बचत तथा ऋण कारोबारले मात्र नहुने भएकाले उत्पादनतर्फ लाग्नुपर्ने सुझाव भ्रमण टोलीलाई दिएको छ । सोही क्रममा आनन्द  सहकारीका शेयर सदस्यहरुका लागि डि·रनगर सहकारीमा गई दुग्धजन्य वस्तु खरिद गर्दा सहुलियत रुपमा उपलब्ध गराउने दुई सहकारीबिच सहमति भएको सहकारीका उपाध्यक्ष सरोजलाल शाक्यले बताए । उनले भने ‘हाम्रा सहकारीका शेयर सदस्यहरु जो कोही उक्त सहकारीमा गई दुग्धजन्य वस्तु खरिद गरेमा सहुलियत रुपमा सहकारीले उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।’ यस्तै भ्रमण टोलीले कामाख्या मन्दिर दर्शनसँगै लुम्बिनी केवलकारको अध्ययन अवलोकन गरेको छ । यहाँ पनि सहकारीका शेयर सदस्यहरुका लागि केवलकार चढ्दा विशेष छुट उपलब्ध गराई सहमति भएको छ । आनन्द सहकारी र लुम्बिनी केवलकारबिच सहकारीका सदस्यहरुलाई प्रति सदस्य ५ सयमा केवलकार चढाइने सहमति भएको हो । यहाँ अन्य सर्वसाधारणका लागि ७ सय ५० शुल्क लिने गरिन्छ । यस्तै टोलीले अंग्रेजी सेनालाई पराजित गरेको इतिहास बोकेको क्षेत्र बुटवलको जितगढीको भ्रमण गरेको छ । कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजमाथि विजय हासिल गरेको त्यही विरताको चिनोको रुपमा रहेको जितगढी किल्लाका बारेमा भ्रमण टोलीले जानकारी समेत लिएको छ । भ्रमणले सहकारीलाई थप रचनात्मक ढंगले अगाडि बढाउन सकिने विश्वास सिर्जना भएको भ्रमणका संयोजक तथा सहकारीका सह–सचिव दिनेबहादुर बज्रचार्यले बताए । उनले उत्साजनक रुपमा भएको भ्रमणले धेरै नयाँ कुराहरु सिक्ने अवसर प्राप्त भएको उल्लेख गरे ।

सञ्चालक समिति, लेखासमिति, अन्य उपसमिति, सल्लाहकार, असल शेयर सदस्य र कर्मचारी गरी ४३ जनाको टोलीले अध्ययन अवलोकन गरेर फर्किएको सहकारीका प्रवन्धक प्रकाश शर्माले बताए । वित्तिय क्षेत्रमा जिल्लामै अग्रहणी भूमिका खेल्दै आएको सहकारीले विगतमा पनि विभिन्न जिल्लाका नमूना सहकारीहरुको अध्ययन अवलोकन गरिसकेको छ । उसले आफ्नो शेयर सदस्य, जेष्ठ नागरिकहरुलाई समेत यस अघि भ्रमण गराइसकेको छ । २०६७ साल कार्तिकमा स्थापना भएको संस्थाले छोटो समयमै समृद्धिको यात्रामा फड्को मारेको छ । सहकारीले आफ्ना शेयर सदस्यहरुको आर्थिक समृद्धिसँगै गरिब, महिला, दलित, जनजाति, उत्पीडित तथा विपन्न समुदायहरूको उत्थानमा समेत आफुलाई निरन्तर अगाडि बढाएकोे छ । आर्थिक समृद्धिको मेरुदण्ड सहकारी भएकाले पनि आनन्दले शेयर सदस्यहरुमा सामूहिक भावनाको विकास गरी उपलब्ध श्रम, सीप, श्रोत साधन, पुँजी र प्रविधिको माध्यमबाट समृद्धिको यात्रालाई पहिल्याएको हो ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update