Shittalpati
रामपुरका युवा उद्यमीहरुलाई अभिमुखीकरण

पाल्पा, जिल्लाको रामपुरमा युवा उद्यमीहरुको लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ । रामपुर नगरपालिकाले नगर भित्रका युवा उद्यमीहरुका लागि युवा स्वरोजगार कार्यक्रम बारे अभिमुखिकरण  कार्यक्रम गरेको हो ।

नगरपालिकाले युवा स्वरोजगार कार्यक्रम अन्तर्गत सञ्चालन गर्दै आएको व्याज अनुदान कार्यक्रमको विषयमा जानकारी गराएको छ । कार्यक्रममा चालु आर्थिक वर्षमा व्याज अनुदानका लागि निवेदन दिएका उद्यमीहरुलाई कार्यक्रमको उद्देश्य, मापदण्ड र प्रक्रियाको विषयमा जानकारी दिइएको थियो । कार्यक्रममा नगर प्रमुख रमणबहादुर थापाले युवा उद्यमीहरुलाई प्रोत्साहन गर्न व्याज अनुदान कार्यक्रम नगरपालिकाले देश मै पहिलो पटक सुरुवात गरेको बताए । पालिकाले सुरु गरेको व्याज अनुदान कार्यक्रम अहिले प्रभावकारी बनेको उनको भनाई छ । कतिपय कृषकले अनुदान लिने, अनुदान पाएपछिबिचमै छाड्ने प्रवृत्ति रहेकाले राज्यको लगानी सहि ठाउँमा सदुपयोग होस् भन्ने अवधारणाका रूपमा व्याज अनुदान कार्यक्रम ल्याइएको नगर प्रमुख थापाले बताए । आफुले कारोबार गरेको रामपुर नगरभित्रका जुनसुकै वित्तीय संघ संस्थाको खातामा ३/३ महिनामा नगरपालिकाले व्याज अनुदानका रूपमा रकम भुक्तानी गरिदिने उनले बताए । रामपुर नगरपालिकाले युवालाई प्रोत्साहन गर्न २ वर्षसम्मका लागि व्याज अनुदान दिदै आएको थापाले जानकारी दिए । नगरपालिकाले यस आर्थिक वर्षमा छनौट भएका युवा उद्योगीलाई लक्षित गरेर अभिमुखिकरण कार्यक्रम गरेको हो । केही काम गर्न खोज्ने, चाहना भएका युवा उद्यमीलाई व्यवसायबाट स्वरोजगार र आत्मनिर्भर बनाउन  नगर सरकारले व्याज अनुदान उपलब्ध गराउँदै आएको छ ।

कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले कार्यक्रममा सहभागी हुनका लागि नगरपालिकाले अवलम्बन गरेको मापदण्ड र प्रक्रियाको विषयमा जानकारी गराएका थिए । २१ वर्षदेखि ५९ वर्ष सम्मका युवालाई यस कार्यक्रममा समावेश गरिने उनले जानकारी दिए । सहभागीले कृषि तथा पशुपंक्षिको बिमा गर्न बिमा कम्पनीले नमानेको गुनासो गरेका थिए । पशु शाखा प्रमुख तुलसीराम काफ्लेले बीमाको विषयमा नियामक निकाय बिमा प्राधिकरणलाई झक्झक्याउनु आवश्यक रहेको उल्लेख गरे । युवा उद्यमी विनोद श्रेष्ठले केहि गर्छु भन्ने युवाका लागि यो कार्यक्रम अति राम्रो रहेको बताए । कृषि शाखाका प्राविधिक युवराज नेपालीको सञ्चालनमा कार्यक्रम भएको थियो  ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update