Shittalpati
प्रजातन्त्रमाथि ‘कू’ भएको स्मृतिमा कालो दिवस मनाइयो

पाल्पा, प्रजातन्त्रमाथि ‘कू’ भएको स्मृतिमा सोमबार कालो दिवस मनाइएको छ । प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा देशभर कालो दिवस मनाइएको हो ।

 दिवसको अवसरमा नेपाली काँग्रेस र नेपाल तरुण दललगायत अन्य भ्रातृ एवं शुभेच्छुक संस्थाले देशभर विभिन्न कार्यक्रम आयोजना गरे । उनीहरुले हरेक वर्ष पुस १ गते प्रजातन्त्रमाथि प्रहार भएको दिनका रुपमा कालो दिवसका रुपमा मनाउँदै आएका छन् ।
विसं २०१७ पुस १ गते प्रथम निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाइ तत्कालीन राजा महेन्द्रले पञ्चायती शासन व्यवस्थाको सुरुवात गरेका थिए ।

नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहेका तत्कालीन प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महिना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको थियो । यही जेलपछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । सोही जेलमा बसेर बिपीले ‘श्वेतभैरवी’ कथासङ्ग्रह, ‘मोदीआइन’, ‘बाबु, आमा र छोरा’, ‘सुम्निमा’, ‘तीन घुम्ती’, ‘हिटलर र यहुदी’ लगायत उपन्यास रचना गरेका थिए । पुस १ गतेको घटनापछि बिपीसँगै तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराई, मन्त्री एवं पार्टी नेताहरु गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, दिवानसिंह राई, रामनारायण मिश्र, योगेन्द्रमान शेरचन लगायतलाई सुन्दरीजल बन्दीगृहमा थुनिएको थियो । 
 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update