पाल्पा, आज उधौली पर्व र योमरी पुन्ही विभिन्न समुदायले फरक–फरक ढंगले मनाउँदै छन् । विशेष गरी किरात समुदायको बाहुल्यता रहेका जिल्लाहरूमा उल्लासमय तरिकाले उधौली पर्व मनाइँदैछ । किरात समुदायअन्तर्गतका लिम्बू जातिले यो पर्वलाई चासोक तङ्नाम अर्थात न्वागी पर्वका रूपमा मनाउने चलन छ ।
विशेषतः पूर्वी पहाडमा बाहुल्यता रहेका राई, लिम्बू, सुनुवार र याक्खा जातिले मंसिर पूर्णिमाको दिनलाई चासोक तङ्नाम अर्थात् उधौली पर्वका नामले पुकार्दै मनाउने चलन छ । यो पर्वमा किराँत समुदायले प्रकृतिको पूजा तथा नाचगान गरेर मनाउने गर्दछन् । सिमेभूमे पूजा गर्ने दिन पनि आजै हो । अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने चलन किरात समुदायमा रहेको छ । भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएर च्याब्रुङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । यस दिन खेतीपाती राम्रो भयो, काम सकियो, अब अन्नको सह बसोस् खाद्यान्नको अभाव नहोस् भनी भूमेस्थान र साकेलास्थानमा पूजा गरी उधौली पर्व मनाउनेपरम्परा रहेको छ । वैशाख शुक्ल पूर्णिमाका दिन गर्मी छल्न उँभो गई उभौली पर्व मनाएको किरात समुदायले आजैदेखि जाडो छल्न उँधो झर्ने भएकाले यो पर्वलाई उधौली भन्ने गरिएको सामाजिक मान्यता छ । यस्तै आजकै दिन देशभरका नेवार समुदायहरुले घर–घरमा योमरी (एक प्रकारको रोटी) पकाएर योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् । नेपाल भाषामा यो को अर्थ मनपर्ने र मरी को अर्थ रोटी हो । यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो । विशेष प्रकारले बनाइने यो रोटीभित्र चाकु र तिलको मिश्रणसहित खुवा, मुगींको लिटो राखिन्छ । यो पूर्णिमाको विशेषता नै योमरी पकाएर खानु हो । त्यसकारण यस दिन अन्य पूर्णिमा जस्तो भोज खाइँदैन । बरु योमरी खाइन्छ । यो दिन नियमित जस्तो खाना खान नहुने विश्वास छ । योमरी विशेष स्वादिलो हुन्छ । योमरी विशेष आकार प्रकारमा बनाइन्छ । ामलको पिठोलाई मनतातो पानी हालेर मुछी विशेष आकारमा योमरी तयार गरिन्छ । पानीको बाफबाट यसलाई उसिनेर पकाइन्छ । धेरैजसोले त्रिकोण आकारमा योमरी बनाउँछन् ।
वर्षको पहिलो धानको चामलबाट पिठो तयार गरी योमरी बनाइन्छ । यो पर्वका दिन नेवार समुदायमा विशेष उल्लास हुन्छ । यस क्रममा घरका महिला सबेरै उठेर नुहाउँछन् । बालबालिका यो दिन मिठोमसिनो खाएर रमाउँछन् । यो पूर्णिमा एक दिनमै सकिँदैन । पर्वको चार दिनपछि विवाहि छोरीहरूलाई बोलाएर लक्ष्मीको प्रसादको रुपमा योमरी बाँडिन्छ, भोज खुवाइन्छ । योमरीका साथ भोज खुवाउने चलन अहिले पनि नेवार समुदायमा छ । पर्वका दिन योमरी खाने, बाँड्ने र पूजा गर्ने चलन छ । यस पूर्णिमालाई धान्य पूर्णिमा पनि भनिन्छ ।चत्यस्तै अन्य समुदायले पनि आजको दिनलाई विभिन्न रुपमा मनाउने गरेका छन् । थारू समुदायमा आजको दिन कुलपूजा गर्ने नयाँ ध्वजा राख्ने प्रचलन छ । थारू समूदायका बालकहरूको पहिलोपल्ट केश मुण्डन गरिदिने गरिन्छ । मगर समुदायमा आजको दिनलाई बाजा फुकाउने दिनका रूपमा मनाइन्छ ।
बाहुन क्षेत्रीको कुलपूजा
त्यस्तै बाहुन तथा क्षेत्री समुदायले आज कुल पूजा, गोठ पूजा, देवाली तथा न्वागी पूर्णिमाका रुपमा आज धान्यपूर्णिमा पर्व मनाउँदै छन् । मंसिरमा धान भित्र्याएपछि आजको दिन धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारु·, महालक्ष्मीलगायत देवताको पूजा गर्ने गरिन्छ । नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा बनाएर चढाउने परम्परा छ । यसअघि अन्नप्राशन नगरेकाले आजै अन्नप्राशन गर्नुपर्ने धार्मिक मान्यता छ । योमरी पुन्हीः र उधौली पर्वका अवसरमा सरकारले सम्बन्धित समुदायका लागि सार्वजनिक विदा समेत दिएको छ ।