Shittalpati
सामाजिक सञ्जाल : कति यथार्थ कति भ्रम

आज भोली चौपारी, पाटी पौवामा बसेर दुःख सुःख का विषयमा गफगाफ हुन छाडि सक्यो । साथीहरुबिच जमघट र छलफल, परिवारका सदस्यहरुबिच एकै ठाउँ बसेर पारिवारीक छलफल हुन छाडिसक्यो । ब्यक्ति ब्यक्तिबिचको आत्मियता पनि क्रमशः हराउँदै गएको देखिन्छ । एउटै परिवारका सदस्य पनि टाढा–टाढा हुँदै गएको देखिन्छ । हो आजभोली हाम्रो परिवार र समाज यस्तै प्रवृत्तिलाई प्रोत्साहन गरि रहेको देखिन्छ । पछिल्लो समय विकास भऐका नयाँ प्रविधिले गाउँ शहर जताततै इन्टरनेट, अनि जनताको हात हातमा मोबाईल पुर्‍यायो । मोबाइलले विभिन्न किसिमका विकृतिहरुलाई प्रोत्साहन गर्दै लगेको देखिन्छ भने यसको अनुगमन, नियन्त्रण र व्यवस्थापनमा सरकारहरु बेखवर जस्तै ।

समयको परिवर्तनसँगै प्रविधिको विकासमा ठूलो परिवर्तन भएको छ । प्रविधिको विकासको एउटा रुप हो इमेल र इन्टरनेटको विकास । इन्टरनेटको विकाससँगै विभिन्न किसिमका सामाजिक सञ्जालहरुको विकास भए जसले विश्व एउटा औलामा जस्तै बनाएको छ । सूचना आदन–प्रदानमा सहज र तिव्रता प्राप्त गरेको छ । अब घर वा बाहिर, देश वा विदेश जहाँ बसे पनि परिवारबाट टाढा हुनु पर्ने पिडाको अन्त्य भएको छ । यसैको विकासको कारण आर्थिक, व्यवसायिक र मानविय जीवनमा सकरात्मक परिवर्तन देखिन थालेको छ । राजनीतिक, आर्थिक र व्यक्तिगत जीवनको सफलता असफलता निर्धारणको आधार बनेको छ । यति हुँदा हुँदै पनि यसको आजभोली दुरुपयोग र भ्रम सिर्जना गर्ने माध्मको रुपमा प्रयोग बढ्दै गएको देखिन्छ । व्यक्तिगत आरोप प्रत्यारोपको प्लेट फर्म बनेको छ सामाजिक सञ्जाल, यर्थाथ भन्दा भ्रम सिर्जना गर्ने माध्यम बनेको छ सामाजिक सञ्जाल । यसैसँग सम्बन्धित विविध पक्षलाई लिएर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

कम्प्युटर वा मोबाइल वा यस्तै अन्य कुनै साधनको इन्टरनेटको माध्मको प्रयोग गरी आफ्ना विचार, सुचना, फोटो तथा भिडियो आदन–प्रदान गर्ने अत्याधुनिक डिजिटल साधनलाई सामाजिक सञ्जाल भनिन्छ । विशेष गरेर यसले समुदायमा आधारित सुचना आदन–प्रदान गर्ने साधनको रुपमा विकास गरिएकाले यसलाई सामाजिक सञ्जाल भनिन्छ । फेसबुक, टुविट्र, भाईवर, म्यासेञ्जर, युटुयुव, इन्स्टाग्राम, टिकटक आदि नेपालमा प्रचलीत सामाजिक सञ्जालहरु हुन् भने फेसबुक सबै भन्दा बढी पहँुचमा रहेको सामाजिक सञ्जाल हो । हरेक व्यक्तिले सहज र सरल तरीकाले प्रयोग गर्न सक्ने भएकाले यसको प्रयोगको दायरा दिनप्रती दिन बढ्दै गएको देखिन्छ । विश्वका जुनसुकै कुनादेखि विषयगत जानकारी, सुचना आदन–प्रदान गर्न सकिने विभिन्न मोवाइलस एप्सहरुले मानव जीवनलाई सव्य र सहज बनाएको देखिन्छ । आज भोली सामाजिक सञ्जाल मानिसका लागि जीवन साथी जस्तै बन्न पुगेको छ भन्दा दुईमत नरहला ।

के भइरहेको छ आजभोली : पिडा के हो ? खुसी के हो ? यसको अर्थ नै बुझ्न छाडिसकेका छौ ।  आज भोली हामी आकस्मिक दुर्घटनामा परेका घाईते वा पिडितको उद्वार र सहयोगमा, प्रहरीलाई जानकारी दिन, एम्बुलेन्स बोलाउन तत्परता देखाउदैनौ देखाउछौ त भिडियो, सेल्फी र फोटा खिच्न र त्यसलाई कसले भन्दा पहिला सामाजिक सञ्जालमा राख्ने अनि कसरी भाईरल हुने त्यही कुरामा आतुर भईरहन्छौ । यसबाट हिजो अन्यलाई सहयोग, सद्भाव, दया माया राख्न आतुर हाम्रो परम्परा, हाम्रो कमलो मन कठोर हुँदै जान थालेको  छ । आफ्नो गाउँ घरका विकास निमार्णका कुराहरु, राम्रा योजनाहरु गाउँ घरमा देखिदैन देखिन्छ त सामाजिक सञ्जालमा । त्यति मात्रै कहाँ हो र ? नेतृत्वको मिठा–मिठा आसवासन र भाषण हुँदै नभएका विकासका कुरा पनि सामाजिक सञ्जालमा नै हेर्न सुन्न पाईन्छ । नेतृत्वको आरोप प्रत्यारोपका चर्का भाषणहरु सुन्न घर बाहिर  पुग्नु पर्दैन आज भोली मात्रै खोले पुग्छ मोवाईल अनि सामाजिक सञ्जाल । जे पनि लेख्न, जे पनि बोल्न छुट छ सञ्जालमा, दिनभरको रिस पोख्न पाईन्छ सामाजिक सञ्जालमा ।

सामाजिक सञ्जालको सहि प्रयोगको बारेमा आजभोली बहसको विषय बन्दै गएको छ । सरकारका निकायहरु यसको व्यवस्थापन र सहि निगमनको छलफल चलाउँदछ तर यस क्षेत्रमा समय अनुकुलको आवश्यक साइवर ऐन बनाउन् सकेको देखिदैन् । यहि कारण सामाजिक सञ्जाललहरुले नेपाली समाजमा विकृतरुप लिदै गएको देखिन्छ । यसले परिवार, समाजमा नराम्रो प्रभाव पार्दै लगेको देखिन्छ । यसले समाजमा द्वन्द्वको बीउ रोपेको देखिन्छ । सत्य होस् वा असत्य, स्रोत होस् वा नहोस् जे पनि लेखेर भ्रम सिर्जना गरेको देखिन्छ । समाजमा अपाच्य, धर्म संस्कृति माथि प्रहार गर्ने जातिय द्वन्द्व उत्पन्न गराउने अभिव्यक्ति दिने, समाजलाई भड्काउने आदि सामाजिक सञ्जालका भ्रम सिर्जना गर्ने पक्षहरु हुन् । सामाजिक सञ्जाल भ्रम सिर्जना गर्ने मात्रै नभएर यथार्थमा पनि अगाडि देखिन्छ । यसले व्यक्तिको जीवनलाई कायापलट नै बनाईदिएको पनि छ । ग्रामीण दुरदराजमा रहेका विशेष क्षमता भएका व्यक्तिलाई सफल बनाउन र चिनाउन सहयोग पुर्‍याएको छ । सामाजिक सञ्जालकै कारण राजनीतिक रुपमा सफल र असफल भएका उदाहरण पनि छन् । सामाजिक सञ्जाल सूचना र विचार आदन–प्रदानको सरल र सुलभ सञ्चार माध्यम पनि हो भन्दा दुईमत नरहला । सूचना र अभिव्यक्ति स्वतन्त्रताको हक नागरिकको मौलिक हककै रुपमा संविधानमा उल्लेख भएको र लोकतन्त्र र वाक स्वतन्त्रताको पक्षमा वकालत गरिरहेको नेपालका लागि यो एक उदाहरण पनि हो । यसको सहि प्रयोगले मानव जीवनलाई चामत्कारिक परिवर्तन ल्याउन सक्दछ भने दुरुपयोग भए विनास ।

यसको सकरात्मक र नकरात्मक पक्ष : सामाजिक सञ्जाल २१ औं शताव्दीको एक महत्वपूर्ण आविष्कार हो । यस मोबाईल एप्सले मानव जीवनलाई सहजता ल्याईदिएको छ । यसका केहि सकरात्मक पक्षमा : सूचना आदन प्रदानमा भौगोलिक दुरीको अन्त्य गरेको छ । सूचना आदन–प्रदान छिटोछरितो गर्न सकिने । विश्व नै एक मोबाईलमा सिमित हुन् पुगेको छ । महत्वपूर्ण कागजात तुरुन्तै विश्वभर आदन–प्रदान गर्न सकिने । घरमै बसेर व्यापारिक कारोवार र स्वरोजगारी सिर्जना हुने । आफ्ना विचार र भावना पोख्ने थलोको रुपमा प्रयोग गर्न पाईने । अध्ययन् र खोजका लागि सहयोगी हुने । सञ्जालको निर्माण गरि सुचना र छलफल गर्न सकिने । यसका नकरात्मक पक्षमा : यसको बढी प्रयोगले व्यक्तिगत, पारिवारिक, दम्पत्तीको जीवनमा नै समस्या उत्पन्न गराएको । सबै कुरा छोडेर यसैमा लामो समय बेथित गर्ने । शारीरिक र मानसिक समस्या सिर्जना हुने । नकरात्मक सोच बढ्दै जाने, अरुको व्यक्तिगत जीवनीमा हानी हुने टिकाटिप्णी सहज तरीकाले गर्न पाउने, अश्लील भिडियो तथा फोटाहरु पोष्ट गर्ने,  मनोरञ्जनात्मक साधनको रुपमा बढी प्रयोग गर्ने, गलत समाचार प्रसारण गर्ने,  समाजमा विभिन्न किसिमका भ्रम सिर्जना गर्ने । यथार्थ भन्दा भ्रम बढी सिर्जना गर्नेमा केन्द्रीत हुने ।

निष्कर्ष :  सामाजिक सञ्जाल एक अदृश्य माध्यमहरु मात्रै हुन् यिनीहरु आफैमा खराब भने पक्कै होइनन् । खराव वा राम्रो के बनाउने हामी प्रयोगकर्ताको हातमै रहेको देखिन्छ भने यसको निगमन, नियन्त्रण र व्यवस्थापन त्यस देशको सरकारमा । तर आफ्नो व्यवहार र कार्यशैलीमा सुधार नगर्ने तर दोष सामाजिक सञ्जाललाई दिने हामीलाई बानी परिसकेको छ । यसको एक उदाहरण हो यस अगाडिको सरकारले टिकटक बन्द गराउनु । सामाजिक सञ्जालको प्रयोग समाजलाई जोड्न र एकता कायम गर्नका लागि हुनु पर्दछ द्वन्द्व र भड्काउनका लागि हुनुहँुदैन् । यसका राम्रा पक्षलाई ग्रहण गर्दै जाउँ, नराम्रा पक्षलाई त्याग्दै जाउ । यसको दुरुपयोग हैन् सदुपयोग गरौं । यसलाई भ्रम सिर्जना गर्ने माध्यमका रुपमा नभई यथार्थमा परिणत गर्ने माध्मका रुपमा रुपान्तरण गरौं । (लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)   

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१
प्रतिक्रिया दिनुहोस्
Weather Update