पाल्पा, संविधान सभा सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेयले मुलुकको शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका छन् । माडी उपत्यकाको सबैभन्दा पुरानो र जेठो निजी विद्यालयको रुपमा सञ्चालित रिभर भ्याली बोडिड्ढ स्कूलको ३१ औं वार्षिक उत्सवको तानसेनको दमकडामा उद्घाटन गर्दै शैक्षिक विकासमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताएका हुन् ।
उनले शैक्षिक क्षेत्रमा निजी क्षेत्रको ठूलो लगानी रहेको उल्लेख गरे । नेता पाण्डेयले निजी र सरकारी शिक्षण संस्थाबिच सरकारबाटै विभेद रहेको भएकाले त्यसको अन्त्य हुनुपर्ने धारणा व्यक्त गरे । उनले भने ‘यी दुई वटै क्षेत्रलाई सँगसँगै अगाडि बढाए मात्र शिक्षाको विकास हुने छ ,शिक्षाको विकास बिना अन्य विकासको परिकल्पना गर्न समेत सकिदैन ।’ गुणात्मक शिक्षाको विकासका लागि हालसम्म सरकारी क्षेत्रबाट पहल नै हुन नसेको भन्दै पूर्वमन्त्री पाण्डेले शिक्षाको गुणस्तर कायम राख्न नसक्दा मुलुकबाट शैक्षिक ब्यक्तिहरु समेत पलायनको अवस्था आएको उल्लेख गरे । कार्यक्रम जिल्ला समन्वय समितिका उपप्रमुख काशिका गैरेले शैक्षिक गुणस्तरका लागि निजी क्षेत्रको योगदानलाई राज्यले सम्मान गर्न नसकेको बताइन् । पूर्व सांसद यादवबहादुर रायमाझीले शैक्षिक क्षेत्रको गुणात्मक विकासका लागि राज्यको ठोस नीति बन्न नसकेको बताए । कार्यक्रममा वडा अध्यक्ष राजेश कुमार अर्याल, माण्डब्य बहुमुखी क्याम्पसका निमित्त क्याम्पस प्रमुख रुद्र बस्याल, नेपाली काँग्रेसका पार्टी प्रतिनिधी पुरुषोत्तम अर्याल, नेकपा एमालेका पार्टी प्रतिनिधी गणेश अर्याल, प्याब्सनका केन्द्रीय सदस्य भरत प्रसाद न्यौपाने, दमकडा माविका प्रअ मोहन सापकोटा लगायतका वक्ताहरुले शैक्षिक विकासमा शिक्षण संस्थाले खेलेको भूमिकाका विषयमा चर्चा गरेका थिए ।
कार्यक्रममा विद्यालयले आफ्नो विषयमा गत बर्षको एसईई परीक्षामा शतप्रतिशत विद्यार्थी उत्र्तिण गराउन सफल भएका नेपाली विषयका थानेश्वर ज्ञवाली, ऐच्छिक गणितका पंकज पोखरेल, जनसंख्या विषयका अमृत देवकोटा, ब्यवस्थापनतर्फ जीवन रायमाझी लगायतलाई सम्मान गरिएको थियो । त्यस्तै गरि विद्यालयले उत्कृष्ट बर्ष शिक्षकका रुपमा लक्ष्मी अर्याल, सचिन केसी र अमृत देवकोटा र उत्कृष्ट अभिभावकलाई समेत सम्मान तथा पुरस्कृत गरेको थियो । स्कुलका निर्देशक राधाकृष्ण शर्माको अध्यक्षता, शिक्षक नन्दा बंजाडेको स्वागत, अर्का शिक्षक जीवन रायमाझीको सञ्चालनमा कार्यक्रम भएको थियो ।