पाल्पा, देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार डोटी, कैलाली, झापा र मोरङमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको ज्यान गएको हो ।
डोटीको शिखर नगरपालिका–८ खुनस्थित सडकमा जिपले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । ग.१ ज ६१७० नम्बरको बोलेरो जिपले सु.प.प्र.०३–००१ प ०६६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दिपायल सिलगढी नगरपालिका–१ सिर्खोली बस्ने ३२ वर्षीय लोकेन्द्र साउँदको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सुजङ अस्पताल राजपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको निसर्ग अस्पताल धनगढी कैलालीमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै कैलालीको लम्कीचुहा नगरपालिका–१ पूर्व लम्कीस्थित सडकमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । सु.प.प्र ०१–००१ ख ९९६ नम्बरको बसको ठक्करबाट पैदलयात्री घोडाघोडी नगरपालिका–३ बस्ने ३८ वर्षीय दिपक कडेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पताल लम्की हुँदै टिकापुर अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित सडकमा ट्रकले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । ना.३ ख ४३६४ नम्बरको ट्रकले मे.१० प ६०१७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक शिवसताक्षी नगरपालिका–७ बस्ने २२ वर्षीया रोजी कटुवालको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिर्तासिटी अस्पताल हुँदै बिएण्डसी अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार १ जनाको बिएण्डसी अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यस्तै मोरङको पथरीशनिश्चरे नगरपालिका–२ स्थित सडकमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ ।
बागमती प्र.०३–००१ ख २९२८ नम्बरको टिपरले को.२० प ६०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पथरीशनिश्चरे नगरपालिका–७ बस्ने १८ वर्षीय निश्चल आङदेम्बे र मोटरसाइकलमा सवार सोही नगरपालिका–२ बस्ने ४८ वर्षीय प्रितम गौतमको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मदन भण्डारी ट्रमा सेन्टर मंगलबारे उर्लाबारीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।