Shittalpati
‘विकास निर्माणमा सबै एक जुट भए देशमा समृद्धि’

रमेश विश्वकर्मा
गुल्मी, प्रदेश पाँचका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले विकास निर्माणमा सबै एक जुट भए देशमा समृद्धि हासिल गर्न सकिने बताएका छन् । बिहीबार जिल्लाको इस्मा गाउँपालिका ५ रजस्थलमा इस्मा जडिबुटी उद्यान केन्द्रको उद्घाटन गर्दै मन्त्री गिरिले विकासमा एक जुट बने समृद्धि हासिल गर्न सकिने बताएका हुन् । उनले विकास निर्माणका हरेक क्षेत्रमा राजनीतिक दल र जनताहरु एकजुट हुनुपर्नेमा जोड दिए ।

मन्त्री गिरिले युवाहरुलाई स्वदेश मै रोजगारी सिर्जना गर्नका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु अगाडि सारेको बताए । उनले भने ‘सबै मिलेर विकास निर्माणको काममा लागे देश आर्थिक उपार्जनको बाटोमा लाग्ने र देशमा समृद्धि ल्याउन सकिन्छ ।’ जडिबुटी उद्यानलाई अनुसन्धान केन्द्रको रुपमा विकास गर्न योजनावद्ध ढले अगाडि बढ्न उनले आग्रह गरे । सल्यानको कपुरकोटमा रहेको वनस्पति अनुसन्धान केन्द्रको अध्ययन गरी जडबुटी उद्यान केन्द्र सञ्चालनममा ल्याईएको डिभिजन वन कार्यालयका प्रमुख प्रभात सापकोटाले जानकारी दिए ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता समितिका सचिव ईश्वरी अर्यालले हाल सम्म भएको खर्च विवरण प्रस्तुत गर्दै ढल निकासका लागि पक्की नाली निर्माण, एक किलो मिटर क्षेत्रमा तारवार गरिएको जानकारी दिए । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त बस्नेतले प्रदेश सरकारको १ करोड लागतमा सुरु गरिएको उद्यानमा सुचना केन्द्रको भवन, एउटा देशान्तरी माईको मन्दिर समेत निर्माण गरिएको बताए । प्रमुख प्रशासकीय अधिकृत बस्नेतका अनुसार मध्ये पहाडी क्षेत्रमा पाईने र बढी व्यवसायिक महत्व भएका जडिबुटी तथा गैरकाष्ठ वन पैदावारको प्रदर्शन एवं सूचना प्रवाह गरी जडिबुटी एवं गैरकाष्ठ वन पैदवारको नीजी क्षेत्र सँगको सहकार्यमा व्यवसायिकरण गर्नु र जडिबुटी पर्यटनमा समेत सहयोग पु¥याउन उद्यानको मुख्य उद्देश्य हो । २.५४ हेक्टर क्षेत्रफलमा उद्यान केन्द्र सञ्चालनमा ल्याएको छ । उक्त क्षेत्रफलमा २८ प्रजातिका करिव ११ सय जडिबुटीका विरुवाहरु रोपिएको बताईएको छ ।

कार्यक्रममा प्रदेश सांसद खड्ग केसी, जिल्ला समन्वय समितिका प्रमुख लक्ष्मण पराजुली, मुसिकोट नगरपालिका प्रमुख सोमनाथ सापकोटा, मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी, ईस्मा गाउँपालिका अध्यक्ष लक्ष्मण विष्ट, उपप्रमुख विमला खत्री, जिल्ला समन्वय समिति सदस्य राम मल्ल ठकुरी, नेकपाका जिल्ला पार्टी सचिव वीरबहादुर कार्की, नेपाली काँग्रेस ईस्मा गाउँपालिका सभापति रामप्रसाद पन्त लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ३, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update