Shittalpati
पाल्पा र गुल्मीमा भूकम्पबाट क्षति पुगेका ४ हजार बढी घर निर्माण

रामचन्द्र रायमाझी

पाल्पा, देशभर विभिन्न कार्यक्रमको आयोजना गरी २२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको छ । बिहीबार ‘भूकम्पबाट सुरक्षित पूर्वाधार, दिगो सुख र समृद्धिको आधार’ नाराका साथ दिवस मनाइएको हो । भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालेको थियो ।

२०७२ वैशाख १२ गते शनिबार ११ः५६ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पले करीब नौ हजार मानिसको ज्यान लियो । आठ लाखभन्दा बढी निजी घर ध्वस्त भए भने नौ सयभन्दा बढी पुरातात्विक सम्पदा भत्किए । भूकम्प पुर्ननिर्माणको चार वर्ष वितिसक्दा समेत अझै पनि पूर्ण रुपमा निजी आवासहरु निर्माण हुन सकिरहेका छैनन् । चार वर्षको समयमा पाल्पा र गुल्मीमा भूकम्पबाट क्षति पुगेका चार हजार बढी घर निर्माण भएका छन् । २०७२ सालमा गएको महाविनासकारी भूकम्पका कारण भत्किएका चार हजार १९ घरहरुको पुनर्निर्माण भएको हो ।

पाल्पामा ४ हजार ६ सय ९४ घरहरुमा भुकम्पले क्षति पु¥याएको थियो । क्षति पुगेका घरहरु मध्ये ४ हजार १ सय ३७ लाभग्राहीहरुले पुनर्निर्माणका लागि सम्झौता गरेका थिए । जस मध्ये ४ हजार १ सय २५ लाभग्राहीले पहिलो किस्ता, २ हजार २ सय ४ लाभग्राहीले दोस्रो र १ हजार ७ सय ३२ लाभग्राहीहरुले तेस्रो किस्ता बापतको रकम पाईसकेको पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई पाल्पाका प्रमुख अनन्त सुनारले जानकारी दिए । अनुदानको तेस्रो किस्ता प्राप्त गर्ने लाभग्राहीहरुको घरहरु पुनर्निर्माण भइसकेका हुन् । पाल्पामा तेस्रो किस्ता बापतको रकम पाएका १ हजार ७ सय ३२ लाभग्राहीहरुको घर निर्माण भइसकेको कार्यान्वयन इकाई प्रमुख सुनारले बताए ।

जिल्ला आयोजना कार्यान्वयन इकाईले जिल्लाका ८१ वडा मध्ये तिनाउ गाउँपालिकाको कोल्डाँडालाई पुनर्निर्माण कार्य सम्पन्न वडा भएको घोषणा गरिसकेको छ । त्यस्तै उता गुल्मीमा पनि ४ हजार १ सय ४४ घरहरुमा भुूकम्पले क्षति पु¥याएको थियो । क्षति पुगेका घरहरु मध्ये ३ हजार ९ सय ५५ जनाले पहिलो किस्ता, ३ हजार १ सय १८ जनाले दोस्रो किस्ता र २ हजार २ सय ८७ जना लाभग्राहीले तेस्रो किस्ता बापतको रकम प्राप्त गरेका छन् ।

कुल लाभग्राहीमध्ये १ सय ८९ जना सुचिमा रहेता पनि उनीहरुले सम्झौता गरेका छैनन् । जिल्लामा तेस्रो किस्ता वापतको रकम पाउने २ हजार २ सय ८७ जनाको घर पुर्ननिर्माण भइसकेका छन् । जिल्ला आयोजना कार्यान्वयन इकाईले मालिका गाउँपालिकाको वडा नम्वर ३ र ४ लाई पुर्निर्माण कार्य सम्पन्न वडा घोषणा गरिसकेको जिल्ला आयोजना कार्यन्वयन इकाई अनुदान ब्यवस्थापन तथा स्थानीय पुर्वाधार कार्यलय गुल्मीका निमित्ति प्रमुख दधिराम मरासिनीले बताए । सरकारले भूकम्पबाट पूर्ण रुपमा क्षति पुगेका परिवारलाई नीजि आवास निर्माण गर्न तीन किस्तामा ३ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । उक्त अनुदान प्राविधिकको सिफारिसका आधारमा अनुदान दिने व्यवस्था रहेको छ ।

प्रकाशित मिति: बिहीबार, माघ २, २०७६
प्रतिक्रिया दिनुहोस्
Weather Update