 
                                                                    गुल्मी, जिल्लाको तम्घासमा रहेका दुई आयुर्वेद पसल सिल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले रेसुङ्गा नगरपालिका –८ मा रहेको आयुर्वेदिक र सफल होमियोप्याथिक आयुर्वेदिक औषधी पसल सिल गरेको हो ।
अधिकार क्षेत्रभन्दा बाहिर रहेर काम गरेको गुनासो आएपछि आयुर्वेद पसल सिल गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए । सोमबार जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत नारायण घर्तीको नेतृत्वमा गएको टोलीले आयुर्वेद पसलको अनुगमन गरेको थियो । अनुगमन गर्दा आयुर्वेदिक औषधीको खुद्रा विक्री–वितरणको अनुमति मात्र लिई मापदण्ड विपरित फिजियोथेरापी मेसिन, भिडियो एक्सरे मेसिन, नेबुलाईजर सेवा, बिरामी भर्ना गरी स्लाईन चढाउने, एलोपेथिक औषधी समेत बिक्री वितरण गरेको पाईएकोले सिल गरिएको प्रजिअ शर्माले बताए ।
अनुगमनमा आयुर्वेद पसलले आठ कोठामा औषधी, प्रयोगशाला र बिरामी कुरुवा कक्ष सञ्चालन गरेको भेटिएको थियो । रेसुङ्गा नगरपालिका –८ का वडाध्यक्ष निरञ्जन काउछाको रोहबरमा, जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रतिनिधि र प्रहरी समेतले आयुर्वेद पसल सिल गरेका हुन् । आयुर्वेद शिलपछि टोलीले थप अनुसन्धान समेत गरिरहेको छ । 
 


 
                                         
                                        -1759997616.jpeg) 
                                         
                                         
                     
                     
                    
 
                     
                     
                     
                     
                    