Shittalpati
संकटका बेला सहयोगी बन्दै पाल्पाली समाज युएई

पाल्पा । विश्वभर फैलिएको कोरोना भाइरसले विश्व नै आक्रान्त छ । यसबाट नेपाल पनि अछुतो रहन सकेन । कोरोना नियन्त्रणका लागि नेपाल सरकारले जारी राखेको लामो समयको लकडाउनका कारण देश संकटमा छ । उद्योग, कलकारखानाहरु ठप्प छन् । दैनिक ज्यालादारी गरी जिवीकोपार्जन गर्ने मजदुर र विपन्न वर्ग बढी प्रभावित भएका छन् । यो समयमा संकटमा परेकाहरुको उद्दार गर्ने बेला हो ।

जिल्लामा पनि समस्यामा परेकाहरुको उद्दारका लागि स्थानीय सरकार, विभिन्न संघसंस्थाहरुले सहयोगी हातहरु अगाडि बढाई रहेका बेला पाल्पाली समाज युएई पनि सहयोगी बनेको छ । विदेशमा बसेर काम गर्नेहरुले पनि थोरै थोरै बचत गरेर संकटका बेलामा सहयोग गर्न सक्छन् भन्ने उदाहरण पाल्पाली समाज युएईले प्रस्तुत गरेको छ । पाल्पाली समाज युएईले आफ्नो जन्मभूमि जिल्लामा रहेका दुई नगरपालिका र गाउँपालिकालाई राहत उपलब्ध गराएर सहयोगी बन्दै आएको हो ।

दुई नगरपालिकालाई मास्क र आठ गाउँपालिका साबुन उपलब्ध गराएको समाजका पूर्वअध्यक्ष वेदप्रसाद अर्यालले बताए । उक्त सामग्रीहरु केही समय अगाडि नै वितरण गर्ने योजना भए पनि लकडाउन र प्रतिकुल मौसमका कारण ढिला भएको समाज युएईका कार्यवाहक अध्यक्ष ओमकुमारी खाँडले बताइन् । कोरोना संक्रमणबाट जोगाउन सहयोग गर्ने उद्देश्यले तानसेन नगरपालिकालाई ७ सय र रामपुर नगरपालिकालाई ८ सय मास्क प्रदान गरेको उनले बताए । आठ गाउँपालिकालाई भने २ सय ६८ थानका दरले हात धुने साबुन वितरण गरेको समाज युएईका पाल्पा प्रतिनिधि राजेन्द्र अधिकारीले जानकारी दिए ।

तानसेन नगरप्रमुख अशोककुमार शाही, रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापालाई अधिकारीले मास्क प्रदान गरे । नगरप्रमुखद्वय शाही र थापाले दुःखका बेलामा विदेशमा बसेर काम गर्नेहरुले देखाएको सद्भाव विर्सन नसकिने रहेको बताए । उनीहरुले यसअघि विद्यालयमा अक्षयकोष राखेर सामाजिक काम गरेकामा पनि धन्यवाद दिए । निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु, पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापा, रम्भा गाउँपालिकाकी उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, माथागढी गाउँपालिका अध्यक्ष सन्तोषकुमार थापा, तिनाउ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ति, रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसी, रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्की, बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याललाई २ सय ६८ थानका दरले हातधुने सांवुन प्रदान गरिएको छ । सबै गाउँपालिका अध्यक्षहरुले विदेशमा बस्ने नेपालीले गाउँघर सम्झिएकोमा धन्यवाद दिए ।

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update