Shittalpati
धुर्कोट गाउँपालिकामा विपन्नलाई राहतस्वरुप रोजगारी

तम्घास । लकडाउनका कारण पीडितलाई यतिबेला सबै स्थानीय तहले विपन्न परिवारलाई राहत वितरण गरिरहेका छन् । गुल्मीमा पनि सबै स्थानीय तहमा पहिलो चरणको राहत वितरण सकिएको छ भने केही स्थानीय तहमा दोस्रो चरण शुरु गरिएको छ ।

दोस्रो चरणको राहतमा सबैजसो स्थानीय तहले दाल, चामल, तेल लगायत खाद्य सामग्री वितरण गरेका छन् । धुर्कोट गाउँपालिकाले भने विपन्न परिवारका लागि रोजगारी दिने निर्णय गरेको छ । गाउँ कार्यपालिकाको बैठकले विपन्न तथा मजदुर परिवारका लागि खाद्यपदार्थ वितरण नगरी काम दिने र काम गरेवापत राहत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले जानकारी दिए । यसका लागि मजदुर तथा विपन्न परिवारले सम्बन्धित वडा कार्यालयमा निवेदन दिन सक्ने छन् । सडक मर्मत, गोरेटो बाटो, खानेपानी तथा सिँचाई लगायत क्षेत्रमा रोजगारी प्रदान गरिने गाउँपालिकाले जनाएको छ । काम गरे वापत राष्ट्रिय मापदण्डानुसार पारिश्रमिक प्रदान गरिनेछ । पहिलो चरणमा ७ सय ७९ जनालाई राहत वितरण गरेको गाउँपालिकाले दोस्रो चरणमा काम दिने निर्णय गरेको हो । कोरोना भाइरसबाट बच्न गरिएको लकडाउनलाई ध्यानमा राखी सामाजिक दूरी कायम गरेर बढीमा पाँच जनासम्मको समूह बनाएर नजिकैको स्थानमा काममा लगाइने गाउँपालिका उपाध्यक्ष शिवबहादुर खत्रीले जानकारी दिए । –रासस

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update