Shittalpati
आज दसैँको पाँचौं दिन, स्कन्दमाताको पूजा गरिँदै

सीमा भट्टराई
पाल्पा,
आज बडादसैँको पाँचौं दिन देवी स्कन्दमाताको पूजा–आराधना गरेर मनाउँदै छ । दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरी मनाउन लागिएको हो । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ । नवदूर्गामध्येकी पाँचौं देवीलाई स्कन्दमाताको नामबाट चिन्ने गरिएको छ । भगवान् कार्तिकेयको एक नाम स्कन्द पनि हो । जो ज्ञानशक्ति र कर्मशक्तिको सूचक थिए । त्यस्तै ज्ञानशक्ति र कर्मशक्तिको देवी स्वरुपलाई स्कन्दमाता नामले चिन्ने गरिएको हो । स्कन्दमाता यस्ती दैवी शक्ति हुन् जसले व्यवहारिक ज्ञानलाई कर्ममा बदल्नको लागि प्रेरणा दिने गर्दछिन् । शिव (कल्याण) तत्व युक्त, आनन्दमय, सदैव शान्त यी देवी इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिकी समागम हुन् । जब इच्छा शक्ति, ज्ञान शक्ति र क्रिया शक्तिको मिलन शिव तत्वसँग हुन्छ भने त्यहाँ स्कन्दको जन्म हुन्छ । त्यसैले स्कन्दमातालाई ज्ञान र क्रियाकी स्रोत एवं आरम्भकी प्रतीक मान्न सकिन्छ ।

धार्मिक विश्वास अनुसार भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । स्कन्दमाताको वदन वर्ण पहेंलो चित्रण गरिएको छ । यी देवी मानस गद्दीमा बसेकी र हातमा कमलको फूल धारण गरेकी छन् । यस्ती देवीको भक्ति गर्नाले सन्तान सुख पाइनुका साथै उर्वराले धर्ती सुसम्पन्न हुने बताइएको छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिक मानिन्छ । स्कन्दको माता भएकाले पार्वतीलाई नै स्कन्दमाताका नामले कहलाभएको हो । 

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । नवरात्रको पहिलो दिन असोज २८ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आÞवान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन पूजा स्थलमा दोस्रो ब्रÞमचारिणी देवीलाई आÞवान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो । चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो । पाँचौँ दिन आज स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गर्न लागिएको हो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update